• ९ मंसिर २०८१, आइतबार

समाज विकासमा लैङ्गिक असमानता

blog

परिवर्तन गतिशील क्रिया हो । परिवर्तन आफैँबाहेक अरू सम्पूर्ण कुरा परिवर्तनशील छन् । समाज परिवर्तन र विकास प्राकृतिक एवं निरन्तर भइरहने प्रक्रिया हुन् । समाज परिवर्तन बहुआयामिक प्रकृतिको हुन्छ । योजनाबद्ध वा आकस्मिक रूपमा पनि समाजको परिवर्तन गर्ने गरिन्छ । 

समाज विकासको पूर्वकाल खण्डमा मातृसत्तात्मक समाज थियो । समाज विकासको दौरानमा महिलाको भूमिका पारिवारिक रूपमै कमजोर हुँदै गएपछि सम्भवतः पितृसत्तात्मक समाजको विकास भएको अनुमान गरिन्छ । विकसित मुलुकमा लैङ्गिक असमानताको खाडल केही हदसम्म पुरिँदै गए पनि पूर्ण रूपमा समान भने हुन सकेको पाइँदैन । समाज विश्लेषकको भनाइमा प्राकृतिक रूपमा लैङ्गिक विभेद नभएर सामाजिक रूपमा मात्र लैङ्गिक  विभेदको जन्म हुने गर्छ । अर्थात् समाजले नै  लैङ्गिक  विभेद सिर्जना गरेको हुन्छ ।

महिलाको अवस्था कमजोर हुनुमा समाजको भूमिका मात्रले होइन यहाँको उत्पादन प्रणाली पनि जिम्मेवारी हुन्छ । सामन्ती उत्पादन प्रणालीमा महिलालाई केवल मनोरन्जनका रूपमा लिएको पाइन्छ । यस्तो उत्पादन प्रणालीमा महिलाको हरेक स्थानमा भूमिका गौण हुन्छ । महिला केवल पुरुषका सहयोगी मात्र ठानिन्छ । यो प्रणालीमा पतिको अनुपस्थितिमा महिलाले कुनै पनि निर्णय गर्न सक्दैन । 

 वैदिककालीन समयमा हाम्रो देशका महिलाको अवस्था, भूमिका, स्थान उच्च रहेको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूबाट थाहा पाउन सकिन्छ । प्राचीन कालमा महिलालाई शक्तिकी धनी, जन्मदाता, जननी, मातृत्व, करुणाकी धनी, ज्ञानको प्रतीक तथा पुरुषको अर्धाङ्गिनीको प्रतीकका रूपमा लिने गरिन्थ्यो । त्यसबेला शिक्षा, सम्पत्ति, एवं सामाजिक रूपमा महिलाप्रति सम्मान गरेको पाइन्छ । पौराणिक धर्मग्रन्थ अनुसार पत्नीको अनुपस्थितिमा पतिले गरेको कुनै पनि कार्य पूरा हुन वा सफल हुन सक्दैन भनी महिलाप्रति सम्मानको भाव व्यक्त गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

पछिल्लो कालखण्डमा तत्कालीन समाजमा छोराप्रतिको मोहका कारण महिला उपेक्षित हुँदै गएको हुन सक्छ । समाजमा पुरुषको बाहुल्यता बढ्दै हुँदै जाँदा  लैङ्गिक  विभेद र असमानता पनि विकास हुँदै गए । जसबाट महिला र पुरुषबिच असमानताका खाडल फराकिलो बन्दै गए । यसबाट के प्रस्ट हुन्छ भने हिन्दु धर्म दर्शनमा धर्म, कर्म, मोक्षका नाममा महिला विभेदको समाज र पुरुष प्रभुत्वका प्रक्रिया एकै समयमा पुरातन समाजको अन्तिम कालबाट नै सुरु भयो । अर्कातिर उत्पादन प्रणालीको रूपान्तरणसँगै समाजमा पितृसत्ता हाबी हुँदै गयो । परिमाणतः स्रोतमाथि पनि पुरुषको पहुँच विस्तारित हुँदै गयो ।

नेपालमा महिला स्थानको अवस्थाका बारेमा अध्ययन गर्दा मध्यकालीन नेपाल दयनीय तथा पीडादायक भएको पाइन्छ । त्यो अवस्थामा धर्मका नाममा महिलाका अधिकार कटौती, महिलालाई केन्द्रित गरी कुप्रथाको विकास र समर्थन भएको पाइन्छ । मध्यकालीन समयमा महिलालाई शिक्षा, वैवाहिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता जस्ता सबै विषयमा बन्देज गरियो । यस परिवेशमा पुरुष नै महिलाको भाग्य निर्माता हो भन्ने कुराको विकास भएको पाइन्छ । मध्यकालीन समाजमा कृषि तथा सामन्ती उत्पादन प्रणाली कायम थियो । त्यसबेला मध्यकालीन समयमा “सती” प्रथाले समाज तहसनहस बनेको थियो । राजा महाराजादेखि रैति–रजौटासम्मका महिलालाई आफ्नो पतिको मृत्युमा सती जान विवश गराइन्थ्यो, जुन पीडादायक हुन्थ्यो । त्यसको केही समयपछि अनमेल विवाह अर्थात् कम उमेरकी केटी र बढी उमेरको केटाबिच विवाह हुने प्रचलन भित्रियो । यसै गरी दास प्रथाको विकासले महिलाको अवस्था दयनीय मात्र नभएर उनीहरूमाथि श्रम तथा यौन शोषण हुन्थ्यो । जसले गर्दा महिला निकै प्रताडित हुन्थे । 

आधुनिक कालसँगै महिलामाथि शोषणका पराकाष्ठा केही हदसम्म न्यून हुँदै गएको पाइन्छ । यो समयमा नेपाली महिलाको हैसियत र अवस्थामा त्यति ठुलो परिवर्तन नभए पनि खास गरी राणाकालीन समयमा दासप्रथा र सतीप्रथा उन्मूलनले महिलाप्रति थोरै सम्मान पुगेको पाइन्छ । अझ हिन्दु समाजमा भन्दा मुस्लिम समाजमा  लैङ्गिक  विभेदको खाडल झन् फराकिलो भएको पाइन्छ ।  लैङ्गिक  सम्बन्ध जातीय व्यवस्थामा कठोर र पुरुष भक्तिभावको स्थिति रहन्छ भने जनजाति समाजमा तुलनात्मक रूपमा लचकता र केही समानता रहेको देखिन्छ । एउटा बाहुन–क्षत्री परिवारमा श्रीमतीले जे जति आडम्बरी आदर उसको पुरुषलाई गर्नु पर्छ त्यो अवस्था गुरुङ, राई, लिम्बू आदि जनजातिमा छैन । यिनीहरू लोग्ने–स्वास्नीबिच साथीको जस्तो व्यवहार गर्छन् । यी जनजातिमा बाहुन क्षत्रीको तुलनामा निर्णय प्रक्रियामा पनि महिलाको अधिकार बढी भएको पाइन्छ । वर्तमान समयमा महिलालाई हेर्ने दृष्टिकोणमा खासै फरक नपाइनुको प्रमुख कारक पुरातन सोचाइ र पितृप्रधान समाज नै हो । प्रत्येक समाजमा महिला र पुरुषलाई हेर्ने दृष्टिकोण फरक फरक छ । समाजले पुरुषलाई उच्च मूल्याङ्कन गरेको छ भने महिलालाई सामान्य । यसरी महिला र पुरुषलाई समाजले नै भिन्न भिन्न भूमिका दिएको यथार्थभित्र कहिले होला  लैङ्गिक  समानता ? यसैलाई  लैङ्गिक  विभेद भनिन्छ । 

आज विश्वका प्रायः सबै समुदायमा पितृप्रधान समाज छ । यस्तो समुदायले महिलाको अधिकार र महिला स्वतन्त्रतामाथि खासै चासो देखाएको पाइँदैन । बरु महिलाका विरुद्धमा अनर्गल प्रचार गरिएको पाइन्छ । विश्वका प्रत्येक समाजमा रहेका सामाजिक सांस्कृतिक प्रचलन, रीतिरिवाज, मूल्य–मान्यता एवं परम्परा नै महिला विकासका बाधक भएका छन् । शिक्षा स्वास्थ्य, रोजगार, राजनीति, पैत्रिक सम्पत्तिलगायत क्षेत्रमा महिलाको पहुँच कम हुनु, महिलालाई घरभित्रको घरायसी तथा कम उत्पादनमूलक क्षेत्रमा सीमित गरिनु पनि महिला पुरुषबिच असमानता बढाउने कडी हुन् । महिला हिंसा, यौन शोषणदेखि लिएर प्रजनन् अधिकारमा पनि महिलालाई पछि पारिएको छ । महिला मुक्तिका आन्दोलनमा पनि पिछडिएका महिलाभन्दा सुकिला मुकिला महिलाको नेतृत्व भएकाले महिला मुक्ति आन्दोलनले खासै लक्ष्य प्राप्त गर्न सकिरहेको छैन । एउटी महिला महिलाबाटै शोषित र पीडित भएकी छे । उदाहरणका रूपमा कतिपय सासू र बुहारीबिचको सम्बन्धबाट बुझ्न सकिन्छ । कथित बोक्सीको आरोपमा सामाजिक हिंसाले प्रताडित महिला महिलाबाटै बढी पीडित छन् । समाजमा यौन व्यवसाय प्रायः महिलाबाट हुने गरेको पाइन्छ । जसले समाज विकासमा बाधा उत्पन्न मात्र नगरी सामाजिक हिंसालाई पनि जन्माएको छ । कतिपय सामाजिक तथा घरेलु हिंसा विविध कारणले बाहिर आउन सकिरहेका हँुदैनन् । 

नीति र कानुनमा जे कुरा लेखिएको भए पनि समाजभित्र लुप्त असमानताका पराकाष्ठा अझ पनि कायमै छन् । तराईका मुस्लिम तथा आदिवासी मधेशी समुदायमा महिला हिंसाका कारकमा दाइजो तथा तिलक प्रथा र बोक्सीको आरोप–प्रत्यारोपले जरा गाडेर हिंसा जन्माइरहेको छ । पहाडि तथा दुर्गम बस्तीमा  लैङ्गिक  असमानताका प्रमाण प्रायः काम गर्ने क्षमता, ज्यालामा असमानता, महिलाप्रतिको पुरातन सोचाइ विभेदका उदाहरण हुन् । सहरी समाजमा पनि महिलामाथि उठ्न सकेका छैनन् । राज्य स्तरबाट आरक्षणका नाममा परनिर्भर गराउँदै पहुँच पुगेका र हुनेखाने महिलाकै हालीमुहालीले आज पनि विपन्न वर्ग तथा पिछडिएका महिलाको पहुँच सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा पुग्न सकेको छैन । 

महिलाको स्वास्थ्य स्तरमा वृद्धि गर्न, स्वस्थ्य जीवनचक्रमा आधारित सेवाको विकास र भ्रूण गर्भावस्थाको सुरक्षाका लागि गरिने कानुनी व्यवस्था ‘सुरक्षित मातृत्व’ कार्यव्रmम जस्ता विषयमा खासै प्रगति हुन सकेको छैन । आज पनि ग्रामीण तथा सहरी समाजका परिवारमा छोरा–छोरीबिचको विभेद कायमै छ । छोरा भएर गर्न हुने र छोरी भएर गर्न नहुने कार्यका बारेमा समाजले छोरीलाई बर्जित गर्ने र छोरालाई प्रोत्साहन वा छुट्कारा दिने परिपाटी कायमै रहँदा समाज विकासमा त्यसले बाधा पुगेको छ, जुन  लैङ्गिक  विभेद हो । 

नेपालमा प्रजातन्त्र पुनप्र्राप्तिपछिका केही दशकयता लैङ्गिक समानता तथा सामाजिकीकरणका मुद्दामा नीतिगत रूपमा उल्लेख्य सुधार देखिन्छ । तथापि विभिन्न सामाजिक समूहका मानिसको विकासको सूचकलाई लिने हो भने राज्यले लिएका नीति र अघि सारेका योजना अनुसारको प्रतिफल भने सोचे अनुसार आएको देखिँदैन । मानिसको विकास सूचकमा र राजनीतिक तथा प्रशासनिक शक्तिको पहुँचमा व्यापक अन्तर छ । जातीय तथा भौतिक हिसाबले महिला, दलित, जनजाति मधेशी तथा मुस्लिम समुदायको आर्थिक तथा सामाजिक अवस्थाका सूचक अझै माथि उठ्न नसकेको अवस्था छ । हुने खाने केही महिलाको राज्यको उपल्लो तहमा पहुँच पुग्यो भन्दैमा समग्र नेपाली महिलाको अवस्थामा सुधार भयो भन्नु न्यायसङ्गत होइन । 

यसर्थ सामाजिक लिङ्गका कारण महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु पहिलो आवश्यकता हो ।  लैङ्गिक असमानता कुनै पनि प्राविधिक विषय नभएर शताब्दीऔँ देखिको समस्या हो । समाजको पूर्ण विकासका निम्ति महिला विकास हुनु आवश्यक छ । महिला र पुरुषबिचको विभेदको खाडल नपुरिएसम्म समाज विकास हुन सक्दैन । 

 

Author

मुरारी ढुङ्गेल