• २० जेठ २०८२, मङ्गलबार

जनताको घरदैलोमा रास्वपाको तीन प्रश्न

blog

फाइल तस्बिर ।

काठमाडौं, मंसिर १ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मङ्सिर २, ३ र ४ गते तीन दिन घरदैलो अभियान सञ्चालन गर्ने भएको छ। रास्वपाले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ११ लाखभन्दा बढी जनमत दिई निर्वाचित गराएको भन्दै मतदाताको सम्मानमा सो अभियान सञ्चालन गर्ने निर्णय कात्तिक २३ गते गरेको थियो।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालका अनुसार सबै निर्वाचन क्षेत्रमा मुख्य तीन प्रश्नसहित सो घरदैलो अभियान सञ्चालन हुनेछ। रास्वपाले पार्टीको सबल वा दुर्लभ पक्षसँगै सुझाव सङ्कलन गर्नेछ।

उहाँले नेता चुनावको बेला मात्रै होइन, अरू बेला पनि जनताको घरदैलो पुग्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “जुन मान्यता हाम्रो पार्टीले राख्छ, त्यो अनुसार चुनाव सकिएको एक वर्षमै जनताको घरदैलो पुगेर जनतासँग सुझाव, सल्लाह र जनताको खबरदारी लिन यो कार्यक्रम राखेका हौँ।”

रास्वपाले वितरण गर्ने मुख्य तीन प्रश्न :

१) तपाईँको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरू के–के हुन् ? कृपया स्पष्ट खुलाइदिनुहोस्।

२) हाम्रो लागि तपाईँका सुझाव के–के हुन् ? कृपया बुँदागतरुपमा उल्लेख गर्नुहोस्।

३) आफ्नो क्षेत्रमा तपाईँले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकताका आधारमा उल्लेख गर्नुहोस्।

घरदैलो अभियानमा लिखित मात्र नभई मौखिक रूपमा पनि सुझाव दिन सकिने छ। उहाँले भन्नुभयो, “जनताका लागि घर–घरमा फाराम छोड्दिने र पछि सङ्कलन गर्ने गरी हामीले तयारी गरेका छौँ।”

गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए। तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने महत्त्वाकाङ्क्षा समेत दिनप्रतिदिन बढ्दो छ। चुनावका बेला जनता सामु गरेका प्रतिबद्धता पूरा गर्न सुझाव लिन लागेको ढकाल बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, “चुनावमा हामीले गरेका प्रतिबद्धता र तपाईँहरूले भने अनुरूप नै काम गछौं भनेर जनतालाई भनेका थियौँ बारम्बार जनतासँगै हुन्छौँ भनेर। त्यस क्रममा असोज ३ गते गाउँ जाने कार्यक्रम ‘जनआवाज’ भन्ने कार्यक्रम सञ्चालन गरेका थियौँ। जनताले दिने सुझाव, खबरदारी त्यसका लागि फाराम बनाएका छौँ।”

राजनीतिमा प्रवेश अघि विभिन्न अभियानमा लागेका रास्वपाका उम्मेदवारले लोकप्रिय मत पाउनुको यो पनि एउटा नारा थियो कि चुनावपछि पनि राजनीतिक दल आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्छ। 

उहाँले भन्नुभयो, “राजनीतिक सुरु गरिसकेपछि पनि हामी त्यो मान्यतामा अडिग छौँ। जनताले हामीलाई दिने सुझावको आधारमा त्यसलाई थप सशक्त बनाउन सकिन्छ”, पुराना राजनीतिक दलले यस्तै कार्यक्रम गरेको भए गल्ती स्वीकार गर्ने कुराहरू सुन्न सक्ने अवस्था पहिले नै आउने थियो भन्ने उहाँको भनाइ पनि छ। 

चुनाव अगावैको घरदैलो अभियानले के सन्देश दिन सक्छ भन्ने जिज्ञासामा उहाँले राजनीतिक दल सुधार्नका लागि मद्दत पुग्ने विचार राख्नुभयो।

 उहाँले भन्नुभयो, “पुरानाले गरेनन् भन्ने कुरा पनि होइन अब हामी आफैँ राजनीतिमा लागेकाले गर्नुपर्छ। अरूलाई दोष देखाउने, आरोप लगाउनेभन्दा पनि आफूले गर्नुपर्छ। जनताले के सुझाव दिनुहुन्छ, त्यसको आधारमा थप कुरा तय हुन्छ।”

रास्वपाले देशभरका निर्वाचन क्षेत्र समितिको समन्वयमा स्थानीय स्तरमा घरदैलो अभियान सञ्चालन हुने जनाएको छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।