• १३ असोज २०८१, आइतबार

बाँकेमा उर्दू साहित्यको विकासमा शायरको योगदान

blog

नेपालगन्जमा आयोजना गरिएको एक उर्दू साहित्यको मुशायरा। तस्बिर : सिराज खान।

सिराज खान 

नेपालगन्ज, मङ्सिर १ गते। पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम हो। सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोवास छ। 

हिन्दु, मुस्लिम, सिख र इसाईको साझा सहरको रुपमा परिचित यो सहर सामूहिक संस्कृति र साहित्यका लागि पनि परिचित छ। त्यसैले नै यहाँ हुने हरेक साहित्यिक गतिविधि र कार्यक्रममा बहुभाषिक कवि गोष्ठी अनिवार्य राखिने गरिएको छ। 

बहुभाषिक गोष्ठीमा नेपाली, उर्दू, अवधी र थारु भाषाका कविता र गजल वाचन हुने वरिष्ठ कथाकार सनतकुमार रेग्मी बताउनुहुन्छ। उहाँले बहुभाषिक कार्यक्रमले साहित्यमा बेग्लै आनन्द आउने गरेको बताउनुभयो। 

नेपालगन्ज भारतीय सिमानासँग गाँसिएको र मुस्लिम समुदायको राम्रो बसोबास भएको सहर भएकोले यहाँ उर्दू साहित्यको गतिविधि र कार्यक्रम विगत लामो समयदेखि हुँदै आएका छन्। 

समय समयमा आयोजना हुने मुशायरा र बहुभाषिक कवि गोष्ठीले गर्दा उर्दू साहित्यप्रति साहित्य प्रेमीको आकर्षण बढ्दै गएको छ। उर्दू साहित्यको विकास र निरन्तरताका लागि बाँकेका उर्दू साहित्यकारको साझा संगठन गुलजार ए अदबले निरन्तर उर्दू मुशायरा र अन्य साहित्यिक गतिविधि गर्दै आएको छ। 

उर्दू भाषासँगसँगै अन्य सबै भाषा र संस्कृतिको जगेर्ना गर्ने उदेश्यले उर्दू साहित्यकारद्वारा गठन गरिएको सो संस्थाले केही समययता निरन्तर उर्दू मुशायरा र बहुभाषिक कवि गोष्ठीको आयोजना गर्दै आएको छ। सो कार्यमा करिब पाँच दशकदेखि निरन्तर खटिंदै आउनु भएको छ, नेपालगन्जका वरिष्ठ उर्दू साहित्यकार अब्दुल लतिफ शौक। उहाँले उर्दू गजल लेख्ने गरेको पाँच दशक पूरा भएको छ। 

पाँच दशकदेखि निरन्तर उर्दू साहित्यको जगेर्नाका लागि खटिएकोले अहिले पनि उर्दू साहित्यप्रति मुस्लिम मात्र नभई अन्यको पनि रुचि बढ्दै गएको शौकले बताउनुभयो। 

उर्दू साहित्यका लागि निरन्तर लागि रहनुभएका अर्का वरिष्ठ शायर हुनुहुन्छ, सैयद असफाक रसूल हाशमी। उहाँ चार दशकदेखि उर्दू  साहित्यमा निरन्तर कलम चलाउँदै आउनु एको छ। 

उहाँले युवा पुस्तामा उर्दू  शायरीप्रति आकर्षण बढ्दै गएको पाइएकोले आफूहरुले मुशायरालाई निरन्तरता दिइएको बताउनुभयो। निरन्तर मुशायराको आयोजना गरिन थालिएपछि अहिले कार्यक्रममा आउनेको संख्या बढ्दै गएको छ। 

उर्दू हित्यका लागि अथक प्रयास गर्ने मोहम्मद फारुक, युनुस अदिब, मौलाना खयाली, मोहम्मद उमर असर, उमर फारुकी र नजिर हुसैन साहिल अब हुनुहुन्न। उहाँहरुको निरन्तर प्रयासले उर्दू साहित्यको संरक्षणमा ठुलो सहयोग पुगेको गुलजार ए अदबका सचिव मोहम्मद मुस्तफा अहशन कुरैशीले जानकारी दिनुभयो। 

उर्दू साहित्यलाई जिवन्त राख्न साहित्यकारहरु रशिद अहमद, जमिल अहमद हासमी, सरवर नेपाली, बब्बु फारुकी, मेराज अहमद हिमालय, अब्दुल हमिद सिद्दिकी लगायतले पनि निरन्तर अहम भूमिका निर्वाह गर्दै आउनुभएको छ। गुलजार ए अदबले लामो समयदेखि उर्दू  साहित्यको विकासका लागि विभिन्न काम गर्दै आएकोले त्यसलाई निरन्तरता दिन साहित्यप्रेमीहरुले आग्रह गर्दै आएका छन्।