• १ जेठ २०८३, शुक्रबार

पाडाजुँगी-गौरीगञ्ज सडक निर्माण सुरु

blog

सडकमा धुलो उडेर हैरान भएपछि केही दिनअघि स्थानीय सडक अवरोध गर्दै ।

विष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर १ गते । वैकल्पिक सहायक राजमार्गको रुपमा रहेको झापाको पाडाजुँगी-गौरीगञ्ज सडक खण्डको अलपत्र परेको निर्माणको काम सुरु भएको छ । सडक भत्काएर बेवारिसे रुपमा छाडिएको भन्दै स्थानीयहरुले ठाउँठाउँमा सडक अवरोध गरेर विरोध जनाएका छन् ।

पाडाजुँगीदेखि गेउरिया नजिकसम्म साढे ३ किलोमिटर सडक ठेक्का सम्झौता भएर काम अघि बढे पनि चालु आर्थिक वर्षमा बजेट नपरेपछि काम रोकिएको थियो । नेपाल भारत सीमा गौरीगन्जसँग जोड्ने गरी दुई वर्ष अघिदेखि पूर्वपश्चिम राजमार्गसँग जोडिएको पाडाजुँगीबाट सडक स्तराेन्नति र विस्तारको काम सुरु भएको थियो । 

सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौड्यालका अनुसार सडक निर्माणका लागि बजेट नभएका कारण र बजेट सुनिश्चित नभएकाले रोकिएको काम वजेट सुनिश्चिततासँगै शुक्रबारदेखि सुरु भएको छ । खरिढुङ्गा÷माङ्वा÷पूर्वाञ्चल जेभीले सडक स्तराेन्नतिको काम सुरु गरेको छ । उसले यही महिनाभित्र काम सक्ने दाबी पनि गरेको छ।

सडक डिभिजन कार्यालय दमकका प्रमुख पौड्यालका अनुसार ११ करोड लागतमा सडक स्तराेन्नतिसहित चौडा बनाउने काम सुरु भएको थियो । ४५ प्रतिशत काम पुरा हुँदा ४० प्रतिशतको भुक्तानी निर्माण व्यवसायीले पाएका थिए । सडक बोर्डबाट पाँच करोड रकम उपलब्ध हुने भएको पौड्यालले बताउनुभयो ।

निर्माणाधीन सडकले सङ्घीय सरकारले प्रदेश सरकारलाई दिएको बताइए पनि फेरी सङ्घीय सरकारतर्फ नै फिर्ता भएको बताइएको छ । यो सडकको विषयमा सङ्घीय सरकार तथा सम्बन्धित विभागमा यस क्षेत्रबाट २० वटाभन्दा बढी विभिन्न समूह दबाबका लागि पुगेका थिए ।