ललिता साह
वोदेवसाइन (सप्तरी), मङ्सिर १ गते । चाडवाड नजिकिएसँगै सीमापारिको भारतीय बजार नेपाली सेवाग्राहीको किनमेलको गन्तव्य बनेको छ । दैनिक उपभोग्य खाद्यान्न सामग्री, लत्ताकपडा भाडावर्तन लगायतका सामग्रीहरु भारतीय बजारको मूल्यमा दोब्बर वा डेढ गुणाको फरक पर्ने हुनाले दैनिक आवश्यक वस्तु किन्न नेपाली सेवाग्राही भारतीय बजार पुग्ने गर्छन् ।
सीमा नजिकै बस्ने नागरिकले थोरै समय मिलाएर भारतीय बजारमा आएर किनमेल गर्ने गरेको बानी परिसकेको राजविराज ८ की पुनम यादव बताउनुहुन्छ । आर्थिक समृद्धिको कुरा गरिरहँदा सरकारले व्यवस्थित गर्न नसकेको भन्सार कार्यालय लगायतले सीमा नजिकको भारतीय बजारहरू हाम्रो दैनिक किनमेलको थलो मात्रै नभई सप्तरी जिल्लाकै विकासको बाधकको रूपमा रहेको सप्तरीका व्यवसायीहरूको तर्क छ ।
राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने भारतीय सीमापारि कुनौली बजार छ । आफ्ना दैनिक आवश्यकताको वस्तु किनमेलका लागि सप्तरीका अधिकांश नागरिक कुनौली बजार जाने चलन बढ्दो छ । यसले ठूलो मात्रामा नेपाली रुपियाँ भारतीय बजार बाहिरिने स्वाभाविक हुँदै गएको तिलाठी कोइलाडी-१ का युवा शम्भुनाथ मिश्रले बताउनुभयो ।
दिनहुँ उपभोग गर्ने खाद्यान, लत्ताकपडा, भाँडावर्तन, विवाह, श्राद्धलगायत सामाजिक कार्य तथा भोजभतेर, चाडपर्वमा चाहिने लाखौँको किनमेलले दैनिक रूपमा करोडौँ नेपाली रुपियाँ भारत बाहिरिने क्रम र परिमाण अप्रत्याशित रुपमा बढेको छ तर हाम्रो सरकार तथा स्थानीय प्रशासनले यो क्रमलाई नियन्त्रण गर्न कुनै प्रकारको रणनीति पहल नगरेको उद्योग वाणिज्य सङ्घ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवाल बताउनुहुन्छ ।
यसै साता भारतीय सीमावर्ती कुनौली बजार पुग्दा मलाई अर्को कुनै देशमा गएको छु भन्ने महसुस नै भएन । त्यहाँको बजार पनि नेपाली ग्राहकहरुबाटै भरिएको थियो । नेपाली रुपियाँमै कारोबार भै रहेको थियो । त्यहाँसम्म पुग्न सडक राम्रो छ । सबै राम्रो देखिए पनि त्यो बजारमा देखिएको नेपालीहरुको भीड राजविराजमै भैदिएको भए स्वदेशी व्यापार सहजै प्रवर्द्धन हुने राजविराजका स्थानीय बबिता यादवले भनुभयो । दिनानुदिनका अत्यावश्यक सामानका लागी पनि नेपाली मुद्रा त्यसरी विदेसिएको देख्दा हाम्रो समृद्धिमा बाधा भएको अध्यक्ष अग्रवाल बताउनुहुन्छ ।
"राज्यको समान व्यापार नीति अनुरूप प्रतिस्पर्धाको चाहना, हाम्रो व्यवहारमा परिवर्तन वस्तुको मूल्यमा र सीमापारकाे व्यापारमा समयानुकूलको परिवर्तित सोच बनाउन जरुरी छ। त्यही अनुपातमा हाम्रा स्थानीय र राष्ट्रिय उत्पादनहरुले भारतीयहरुलाई पनि आकर्षित गर्न सके दुई देशबीचको व्यापार सन्तुलन हुन्थ्यो" , युवा नेता खगेन्द्र कर्णले भन्नुभयो ।