• ७ मंसिर २०८१, शुक्रबार

रुप्से झरनामा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)

blog

रुप्से झरनामा रमाउँदै पर्यटक । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर १ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ । मुस्ताङ भ्रमणमा हिँडेका पर्यटकहरु कालीगण्डकी कोरिडोरको छेवैमा पर्ने झरनामा रोकिएर तस्विर र भिडियो खिच्दै रमाउँछन् ।

केही वर्ष पहिले रुप्सेमा आएको भिषण बाढी र पहिरोका कारण झरनाको स्वरुप बिग्रिएको देख्दा पहिलो पटक झरना हेर्न आएका पर्यटक भने खिन्न हुन्छन् । बिस्तारै पहिरो रोकथाम भएपछि झरनाको स्वरुपमा पनि परिवर्तन देखिन थालेको छ । पछिल्लो समय झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ ।

झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भिड बढ्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेको दानाका स्थानीय धनबहादुर पुर्जाले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने-जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ।

यस्तै, तीन वर्षअघि आएको भीषण बाढी र पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । झरनामा पर्यटनमैत्री पूर्वाधार निर्माण गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्नुपर्ने झरनामा भेटिनुभएका प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो ।