• १३ साउन २०८१, आइतबार

पैँतालिस स्वास्थ्य संस्था र दुई सय आठ विद्यालयमा क्षति

blog

ललित बसेल

सुर्खेत, मङ्सिर १ गते । जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने  भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार गाउँका धेरैजसो आधारभूत स्वास्थ्य संस्था र स्वास्थ्य चौकी भूकम्पले क्षति पुर्‍य ाएको छ । स्वास्थ्य संस्थाको क्षति अवस्था अनुगमन गर्ने काम भइरहेकोले यो सङ्ख्या केही बढ्ने जनाइएको छ ।

ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या भएको छ । भवन क्षति भएकोमा अस्थायी रूपमा बाहिर त्रिपाल राखेर स्वास्थ्य सेवा दिन सुरु गरिएको निर्देशक खड्काले बताउनुभयो । भूकम्पपछि चिसो मौसम बढ्दै गएकोले बालबालिका, गर्भवती र ज्येष्ठ नागरिक बढी प्रभावित हुने, पानीबाट लाग्न सक्ने रोगको प्रकोप, मानसिक समस्या बढ्न सक्ने सम्भावना रहेको उहाँको भनाइ छ । 

दुई सय आठ विद्यालयमा क्षति

भूकम्पबाट २०८ वटा विद्यालयमा पूर्ण क्षति पुगेको छ । करिब ३० प्रतिशत विद्यार्थी भूकम्पबाट प्रभावित भएको जनाइएको छ । जाजरकोटमा १७३ र रुकुमपश्चिममा ३५ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटमा पूर्ण र आंशिक गरी ५८१ वटा र रुकुमपश्चिममा पनि पूर्ण र आंशिक गरी ४५ वटा विद्यालय भूकम्पका कारण क्षतिग्रस्त भएको छ । मन्त्रालयका अधिकृत बलवीर सुनारले जाजरकोटमा २०८ वटा पूर्ण र ४१८ वटा आंशिक तथा रुकुमपश्चिममा ३५ वटा पूर्ण र १० वटा आंशिक रूपमा विद्यालयमा क्षति पुगेको बताउनुभयो । भूकम्पका कारण जाजरकोटमा २२ हजार ७५९ जना र रुकुमपश्चिममा १७ हजार ३५१ गरी कुल ४० हजार ११० जना विद्यार्थी प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अधिकृत सुनारका अनुसार २६९ वटा शौचालय पूर्ण र १९० वटा शौचालय आंशिक रूपमा क्षतिग्रस्त भएको छ । विद्यालयका सोलार सिस्टम, पुस्तकालयमा पनि क्षति भएको छ । भूकम्पबाट क्षति पुगेपछि ती जिल्लाका ४० हजार बढी विद्यार्थीलाई विद्यार्थी किट वितरण गर्ने, ४५० वटा अस्थायी शौचालय तयार गर्ने, १० हजार सेट पाठ्यपुस्तक उपलब्ध गराउने, छ सय बालविकास किट उपलव्ध गराउने, ३५० विद्यालयलाई विद्यालय किट उपलव्ध गराउने, क्षतिग्रस्त ठाउँमा छ सय वटा अस्थायी सिकाइ केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले जनाउनुभयो । 

मनोविमर्शकर्ता परिचालन

भूकम्पका कारण बढ्दो मनोसामाजिक समस्यालाई समाधान गर्न सामाजिक विकास मन्त्रालयले जाजरकोट र रुकुमपश्चिममा गरी ३३ जना मनोविमर्शकर्ता परिचालन गरिएको छ । मन्त्रालयको सामाजिक विकास शाखाका अनुसार जाजरकोटमा २१ जना र रुकुमपश्चिममा १३ जना मनोविमर्शकर्ता परिचालन गरिएको हो । शाखाका यशोधा शर्माले ५० वटा बाल सुलभ केन्द्र स्थापना लक्ष्यमा अहिलेसम्म १३ वटा बाल सुलभ केन्द्र निर्माण गरिएको बताउनुभयो ।