• ९ मंसिर २०८१, आइतबार

विश्व लोकतन्त्रको अवस्था

blog

जनतन्त्र, लोकतन्त्र, प्रजातन्त्र जेभन्दा पनि अङ्ग्रेजीमा यसको एउटै शब्द डेमोक्रेसी हो । विचारको आधारमा शासन चलाएका देशमा डेमोक्रेसीको सम्बन्धमा कहीँ पनि विवाद छैनन् । एकल पार्टी शासन चलाएका कम्युनिस्ट देशहरू पहिलेको पूर्वजर्मनी, अहिलेको उत्तर कोरियासमेतले जर्मन डेमोक्रेटिक रिपब्लिक, डेमोक्रेटिक रिपब्लिक अफ कोरिया भनी प्रजातन्त्र शब्दलाई उपयोग गरेका छन् । केही समयअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र हालसालै जर्मन विदेश मन्त्री एनालिना वेयरवकले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई तानाशाह भनेकोमा चीनले तीव्र रोष प्रकट गरेको थियो । 

वास्तविक प्रजातन्त्र वा लोकतन्त्र हुन त्यो प्रणालीमा केही निश्चित विशेषता अनिवार्य हुनु पर्छ । वालिग मताधिकारको आधारमा आवधिक स्वतन्त्र निर्वाचन, व्यक्तिको स्वतन्त्रता र त्यसको रक्षाको सुनिश्चितता, धार्मिक, जातीय तथा समुदायगत विभेदको अन्त्य, राजनीतिक, आर्थिक स्वतन्त्रता, मानव अधिकारको रक्षा र कार्यान्वयनका लागि स्वतन्त्र न्यायपालिकालगायतका संस्थाहरूको उपस्थितिलगायतका विशेषता भएको प्रणाली मात्र लोकतान्त्रिक मानिन्छ । अन्यथा लोकतन्त्र ढकोसला मात्र हुन जान्छ ।

बिसौँ शताब्दी लोकतन्त्रको शताब्दी थियो । यस शताब्दीमा पहिलो र दोस्रो विश्वयुद्ध तथा सोभियत मोडलको कम्युनिस्ट प्रणालीको उदय भए पनि सन् १९८९ पछि जताततै लोकतन्त्रको लहर चल्यो । सोभियतकालमा पूर्वी युरोप तथा चीनको गरिबी, अन्धकार तथा पश्चिमी युरोपको सम्पन्नताले एक दलीयता माथि लोकतन्त्रको श्रेष्ठता स्थापित भएको थियो । एक्काइसौँ शताब्दीमा परिस्थिति बदलिएको छ । एकदलीय अधिनायकवादको अभ्यास कायम राख्दै सन् १९७८ देखि पुँजीवादी बजार अर्थतन्त्रमा प्रवेश गरेको चीन अहिले विश्वको दोस्रो अर्थतन्त्र बनेको छ । पश्चिम एसियाका अनुदार राजतन्त्रको अभ्यास गरेका संयुक्त अरब इमिरेटस, कतार, साउदी अरेबिया पनि आफ्नो अर्थतन्त्र विस्तार गर्दै प्रति व्यक्ति आम्दानीमा उदार प्रजातान्त्रिक देशलाई पछाडि पार्दैछन् । उदारवादी प्रजातन्त्रको अभ्यास गरी आएका कतिपय देशमा लोकरिझ्याइँको आधारमा अनुदारवादीले सत्तामा पकड बलियो बनाएका छन् भने कतिपय देशमा अनुदारवादीको जनसमर्थन बढ्दो छ । लोकतन्त्रको मूलभूत चरित्र स्वतन्त्रता, समानता, भ्रातृत्व र विश्व बन्धुत्व हो । यसप्रति मानिसमा विकर्षण हुनु विश्व शान्ति र मानवहितका लागि चिन्ताजनक छ । 

केही समयअघि अमेरिकाको ओपन सोसाइटी फाउन्डेसनले विश्वका ३० देशका ३६ हजार मानिससँग मानव अधिकार र लोकतन्त्रको सम्बन्धमा प्रश्न समावेश गरी सर्वेक्षण गरेको थियो । सेप्टेम्बरमा प्रकाशित सर्वेक्षणको नतिजा समग्रमा सन्तोषजनक नै छ । ८६ प्रतिशत मानिस लोकतान्त्रिक शासन व्यवस्थाले नै मानव अधिकारको रक्षा गर्दै भौतिक सुखसुविधा सुरक्षालगायत समस्या समाधान गर्दछ भन्ने विश्वास गर्दछन् तर चिन्ताजनक यो छ कि सर्वेक्षणमा समावेश भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवामध्ये ३५ प्रतिशत युवा लोकतन्त्रको बदला बलियो एकल नेतृत्व भएको शासन वा अनुदारवादी वा एकाधिकारवादी शासनले राम्रो नतिजा दिन्छ भन्नेमा विश्वास गर्दछन् । यो लोकतन्त्रका लागि अशुभ सङ्केत हो ।

१८ वर्षदेखि ३५ वर्ष उमेर समूहको युवा निश्चय नै शिक्षित वा अर्धशिक्षित समूह हो । यो समूह आफ्नो भविष्यप्रति अत्यन्त जागरुक र संवेदनशील छ । बेरोजगारी, भ्रष्टाचार, आर्थिक स्थितिमा असमानता, शासनतन्त्रको अव्यवस्था, महँगो स्वास्थ्य तथा शिक्षालगायतका कारण र एकाधिकारवादी शासनको कुसूचनाबाट आजको युवा समूह लोकतन्त्र प्रति सन्देहको दृष्टिकोण राख्छ ।

के एकाधिकारवादी शासनले लोकतन्त्रले भन्दा राम्रो परिणाम दिन सक्ला ? मानिसको व्यक्तिगत स्वतन्त्रता र गरिमाको विषयलाई बाहेक गरेर नागरिकको आर्थिकस्तर वृद्धिको मात्र कुरा गर्ने हो भने पनि एकाधिकारवादी शासनले लोकतान्त्रिक प्रणालीले भन्दा उत्तम नतिजा दिएको देखिँदैन । उत्तर कोरिया, भेनेजुयला, कम्बोडिया, म्यानमार जस्ता देशलाई बाहेक गरेर चीन, रुस जस्ता देशको कुरा गर्ने हो भने पनि ती देशको आर्थिक स्थिति उदार लोकतन्त्र अपनाएका देशको आर्थिक स्थितिभन्दा कमसल नै देखिन्छ । जापानको आधिपत्यबाट एकै पटक स्वतन्त्रता प्राप्त गरेका मुख्य भूमि चीन र फरक शासन प्रणाली अपनाएको चीनकै एउटा स्वतन्त्र भूभाग ताइवानको तुलना गर्दा हरेक मापदण्डमा ताइवान नै अगाडि देखिन्छ । ताइवानको प्रति व्यक्ति आम्दानी अमेरिकी डलरमा ३२ हजार ३३९ छ भने चीनको १२ हजार ५४१ रहेको छ । ग्लोबल हङ्गर इन्डेक्समा चीन १–२० को समूहमा छभने ताइवानमा यो समस्या छैन । चीनको गरिबीको मानक वार्षिक चार हजार युआन छ । अमेरिकी डलरमा परिवर्तन गर्दा दैनिक १.४९ हुन आउँछ । यो भन्दा कम आम्दानी हुने जनसङ्ख्या पाँच करोड ६० लाख छ । जुन सम्पूर्ण जनसङ्ख्याको चार प्रतिशत हो । जब कि अन्तर्राष्ट्रिय गरिबी सूचकाङ्कमा अमेरिकी डलर पाँच डलरभन्दा कम दैनिक आम्दनी हुनेलाई विपन्न मानिन्छ । यो मानक अनुसार चीनको सम्पूर्ण जनसङ्ख्याको १३ प्रतिशत गरिबीमा दिन गुजार्न बाध्य छन् । ताइवानमा दैनिक अमेरिकी डलर १९ भन्दा कम आय हुनेलाई गरिब मानिन्छ र यो सङ्ख्या तीन लाख छ । स्वास्थ्य सुविधामा पहिलो नम्बरमा अमेरिका रहँदा चीन ५२ औँ नम्बरमा पर्छ । ताइवानलाई विश्व स्वास्थ्य सङ्गठनले छुट्टै देश नमानेकोले गणना गरिएको छैन तर पनि ताइवान संसारकै राम्रो स्वास्थ्य सुविधा भएको देशमा गनिन्छ । सन् २०२२ मा ताइवानीहरूको औसत उमेर ७९.८६ छ । यो ताइवानीहरूको स्वास्थ्यमा सहज पहुँच र असल जीवनस्तरको परिणाम हो ।

द्वितीय विश्वयुद्धमा ध्वस्त प्रायः भएको जर्मनी र बिजेता छिमेकी रुसको अवस्था पनि ताइवान र चीनसँग मिल्दो जुल्दो छ । जर्मनीको सन् २०२० को प्रति व्यक्ति आय अमेरिकी डलरमा ५२ हजार ८२३ छ भने रुसको १३ हजार पाँच रहेको छ । रुसको गरिबीको मानक सिमा १७५ डलर प्रति महिना छ भने जर्मनीको एक हजार ३२६ डलर प्रति महिना छ । यो सूचक दुवै देशको घर भाडा वा आवासबाहेक हो । रुसमा प्रति महिना १७५ डलरभन्दा कम आय हुने जनसङ्ख्या १२.३ प्रतिशत छ भने जर्मनीमा एक हजार ३२६ डलरभन्दा कम आय हुने जनसङ्ख्या १६.२ प्रतिशत छ । रुसमा औसत जीवन निर्वाहका लागि प्रति महिना भाडाबाहेक ४४७.२ डलर आवश्यक पर्छ । जर्मनीमा भाडाबाहेक प्रति महिना ९९६.३ डलर चाहिन्छ । रुस जर्मनीको गरिबीको मानकले ती देशका गरिब नागरिकले कस्तो जीवन बाँचेका छन् भन्ने चित्र स्पष्ट गर्दछ । ग्लोब हङ्गर इन्डेक्समा रुस २६ औँ नम्बरमा पर्दछ भने जर्मनीमा यो समस्या नै छैन । रुसकै तथ्याङ्क शाखा रोस्टाटले जुलाई २३ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार दुई करोड मानिस गरिबी लाइन प्रति महिना १७५ डलरभन्दा कम आय भएका छन् । जुन जनसङ्ख्याको १४ प्रतिशत हो । स्वास्थ्य श्रेणीमा जर्मनी ८ औँ श्रेणीमा आउँछ भने रुस ४७ आँै श्रेणीमा छ । यी तथ्याङ्कले एकाधिकारवादी शासन व्यवस्थामा भन्दा लोकतान्त्रिक शासन भएका देशमा प्रगति भएको र नागरिकले राम्रो सुविधा प्राप्त गरेको देखाउँछ ।

प्रजातन्त्र राम्रो व्यवस्था हुँदाहुँदै पनि विश्वव्यापी प्रवृत्ति अहिले लोकप्रियतावाद र दक्षिणपन्थी अनुदारवादतर्फ देखिन्छ । हङ्गेरीका भिक्टर अर्वान तथा पोल्यान्डका मातेउ मोरावियच्कीले आप्रवासन समस्याको आडमा सत्तामा पुगी प्रजातान्त्रिक संस्थाहरूलाई कमजोर पारेका छन् । अमेरिका पहिलोको नारा लगाउने डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचन पद्धति र न्याय प्रणालीप्रति अविश्वास सिर्जना गराएका छन् । टर्कीका एर्दाेगान, इजरायलका नेतान्याहु, ब्राजिलका बोल्सेनारो, इटालीका मेलोनी सबै आफ्नो देशको अवस्था अनुसार भ्रामक तथा कर्णप्रिय नारामार्फत सत्तामा पुगेका हुन् । 

सत्ता प्राप्तिपछि यी सबै अनुदारवादीले न्यायालयको स्वतन्त्रता कुण्ठित गर्ने, प्रेस स्वतन्त्रता सङ्कुचित गर्ने, निर्वाचनमा अस्वस्थ तथा प्रजातान्त्रिक आचरण विपरीतका काम गरी जनतालाई प्रभावित पार्ने गरेका छन् । यी सबैमा चाखलाग्दो समानता यो छ कि यिनीहरू षड्यन्त्रवादी सिद्धान्तमा विश्वास गर्दछन् । राष्ट्रवादका चर्का कुरा गर्ने र आफ्नो नेतृत्वमा मात्र राष्ट्र सुरक्षित छ भन्ने भ्रमको प्रचार गरी राष्ट्रिय एकतालाई खण्डित गर्नु यी अनुदारवादीको विशेषता हो । रुसको केन्द्रीय जासुसी संस्था एफएसबीले प्रजातन्त्रप्रति मानिसको विश्वासलाई खण्डित गर्न प्रजातान्त्रिक देशहरूको निर्वाचनमा धाँधली हुन्छ भन्ने भ्रम योजनाबद्ध रूपमा सञ्चारित गरिरहेको छ भन्ने सूचना अमेरिकी गुप्तचर संस्था सिआइएबाट हालै चुहावट भयो । 

अभिव्यक्ति स्वतन्त्रता र खुला समाज उदार प्रजातान्त्रिक शासन प्रणालीको विशेषता हो तर यो विशेषताको दक्षिणपन्थी अनुदारवादीहरूले फाइदा उठाउँदै आएका छन् । कुसूचना सम्प्रेषण गर्दै नागरिकलाई भ्रमित पारेका छन् । लोकतन्त्रले दिने यो सुविधाको दुरुपयोगबाट लोकप्रियतावादी अनुदारवादीहरू सत्तामा पुग्ने गरेको भए तापनि यो मात्र विश्वमा दक्षिणपन्थ विस्तार हुनुको कारण होइन । उदार प्रजातन्त्रभित्र पनि केही समस्या देखिएका छन् । जसको समाधान नखोज्ने हो भने उदार प्रजातन्त्रलाई यही रूपमा संरक्षण गर्न कठिन हुने छ ।

पश्चिमा प्रजातन्त्रमा सन् १९२९ सम्म उदार अर्थतन्त्र वा बजार अर्थतन्त्रको अभ्यास थियो । सन् १९८० पछि खुलाबजार अर्थतन्त्रको अवधारणा अघि बढ्यो । जसको फाइदा चीन, मलेसिया, थाइल्यान्ड, भियतनामलगायतका मुलुकहरूले उठाए । ती देशमा तीव्र आर्थिक वृद्धि भयो । अहिले पनि अमेरिका र पश्चिमी युरोपका अधिकांश देशहरूमा उदार अर्थतन्त्रको अभ्यास छ । उदार अर्थतन्त्रले तीव्र आर्थिक वृद्धि भए तापनि आर्थिक असमानताको ठुलो खाडल सिर्जना गर्दछ । ठुलो आर्थिक असमानता उदार प्रजातन्त्रका लागि घातक मानिन्छ । लोकप्रियतावादी अनुदारवादले यसैको फाइदा लिँदै प्रजातन्त्रभित्र उग्र दक्षिणपन्थी शासनको अभ्यास गर्न सफल भएका छन् । प्रजातन्त्रलाई कमजोर बनाएका छन् । आर्थिक वृद्धिको मात्र कुरा गरेर आर्थिक सामाजिक असमानताप्रति आँखा चिम्लिनु निम्न वर्गप्रति अन्याय हुन्छ । नागरिकमा अन्याय भएको महसुस हुनु नै उग्रदक्षिणपन्थ वा उग्र वामपन्थको बीजारोपण हो ।

उग्रदक्षिणपन्थको उदय हुनुमा फरक देशका फरक कारण छन् । अमेरिकाको ग्रामीण तथा सहरका कम शिक्षित निम्न वर्गका मतदाताहरू ट्रम्पका समर्थक देखिन्छन् भने भारतमा सहरिया तथा शिक्षित मध्यमवर्ग मोदीका प्रशंसक छन् । ट्रम्प आप्रवासनलाई दानवीयकरण गरेर तथा संयुक्त राष्ट्रसङ्घलगायतका वैश्विक संस्थाहरूको जिम्मेवारीबाट अमेरिकालाई मुक्त गरेर मात्र अमेरिका महान् बन्न सक्दछ भन्ने अति सङ्कीर्ण विचार सम्प्रेषण गर्दै अमेरिकी समाजलाई विषाक्त बनाएका छन् । यी समस्यालाई तार्किक रूपमा सम्बोधन गर्नु र समयमा नै नागरिकलाई सुसूचित गराउनु उदार प्रजातन्त्रवादीहरूको कर्तव्य हो ।

हालै इजरायल, हङ्गेरी र पोल्यान्डका लोकतन्त्रवादी नागरिक समाजका अगुवाहरूले युरोपियन पार्लियामेन्टको अगाडि लोकतान्त्रिक मूल्यहरूको रक्षाका लागि सामूहिक प्रदर्शन गरे । उनीहरूले यो अभियानको नाम ‘डेमोक्राइसिस’ राखेका छन् । यो अभियानलाई अनुदारवादतर्फ अघि बढेका अन्य युरोपियन देशहरूसँग पनि जोड्ने उनीहरूले बताएका छन् ।

संसार अहिले अत्यन्त साँघुरो छ । अनुदारवादी तथा कम विकसित देशतर्फ आँखा चिम्लेर युरोप र अमेरिकाको प्रजातन्त्र सुरक्षित रहन सक्दछ भन्ने ठान्नु गलत हुन सक्छ । युरोप र अमेरिकाको आप्रवासन समस्याको मूल कारक एसिया, अफ्रिका र दक्षिणी अमेरिकामा रहेको गरिबी तथा अनुदारवादी शासन हो । यी देशको शासन प्रणाली र आर्थिक अवस्थामा सुधार नआउँदासम्म जति नियन्त्रण गर्न खोजे पनि आप्रवासन समस्या बल्झी रहने छ । यसले विकसित देशमा धार्मिक, सांस्कृतिक नारा उछाल्न अतिवादीहरूलाई प्रोत्साहन भइरहने छ । अविकसित देशहरूको आर्थिक अवस्था सुधार गर्न सहयोगी बन्दै प्रजातान्त्रिक प्रक्रियालाई प्रोत्साहन गर्दा मात्र पश्चिमी प्रजातन्त्र सुरक्षित रहन सक्दछ ।   

Author

रेवतीप्रसाद भुसाल