• २८ पुस २०८१, आइतबार

नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा मनाउन सङ्कीर्णता गर्नु हुँदैन : प्रधानमन्त्री

blog

काठमाडौंको वसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : मनोज रत्न शाही

काठमाडौं, कात्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतलाई राष्ट्रिय संवतको रूपमा मनाउन सङ्कीर्णता गर्नु नहुने बताउनुभएको छ ।

मङ्गलबार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल संवत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधामन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताउनुभयो । उहाँले नेपाल संवत् राष्ट्रिय संवत् भएकाले सबै मिलेर मनाउनुपर्ने धारणा औँल्याउनुभयो ।


प्रधानमन्त्री प्रचण्डले नेपाल संवतलाई राष्ट्रिय संवत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरूमा उल्लेख गर्न अनिवार्य गरिएको जानकारी दिनुभयो ।

‘‘नेपाल  संवतलाई राष्ट्रिय  संवतकाे रूपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको कामलाई उच्च सम्मान गर्दछु । आम नेपाली जनतालाई जुनसुकै समुदायको भए पनि नेपाल संवत् हामी सबैको साझा संवत् हो । राष्ट्रिय संवत् हो ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ त्यसकारण यसलाई मनाउने कुरामा कुनै खालको सङ्कीर्णता हामी कसैले देखाउनु हुँदैन । तपाईँहरूले निरन्तर उठाएको आवाजका आधारमा नेपाल संवत् राष्ट्रिय  संवतकाे रूपमा घोषणा गरेँ । नेपाल  संवतलाई राष्ट्रिय संवत् भनेर मात्रै पुग्दैन, कार्यान्वयन गर्नुपर्छ भनेर निर्णय गरेको छु । नेपाल  संवतलाई सबै सरकारी दस्ताबेजहरूमा उल्लेख गर्न अनिवार्य गर्न गरिएको निर्णय हो ।’’ प्रधानमन्त्री प्रचण्डले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।