• ७ जेठ २०८१, सोमबार

भूकम्पपीडितलाई राहत र पुनःस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत

blog

फाइल तस्बिर

जाजरकोट, कात्तिक २४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउनुभएको छ । 

भूकम्पबाट भएको क्षतिको स्थलगत जानकारी लिँदै मन्त्री बस्नेतले पीडितका लागि तत्काल त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको उपलब्ध गराउने क्रम जारी रहेको बताउनुभयो । भेरी र नलगाड नगरपालिकाभित्रका भूकम्पपीडितसँग भेटघाट गर्दै मन्त्री बस्नेतले राहत र पुनः स्थापनामा ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

भूकम्पबाट भेरीको तुलनामा नलगाड नगरपालिकामा बढी मानवीय क्षति हुनाका साथै भौतिक संरचनामा समेत हानि पुगेको छ । भेरी-३ थाप्ले, भेरी-१ रिम्ना, नलगाड-१ को पाली कल्पत र नलगाडका वडा नम्बर ४, ५ र ६ मा उहाँले बिहीबार स्थलगत जानकारी लिनुभएको थियो ।

मन्त्री बस्नेतसँग पीडितले अब चिसोबाट जोगिनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए । नलगाड-५ भारगाउँका परिमल सुनारले त्रिपाल मात्रै पर्याप्त नभएकाले अस्थायी टहरा निर्माण गरेर पुनः स्थापनाको कामलाई ध्यान दिन मन्त्री बस्नेतसमक्ष आग्रह गर्नुभएको थियो । 

सुत्केरीलाई समस्या 

नलगाड-७ दल्लीका मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट डिस्चार्ज हुनुभयो । उहाँलाई त्रिपालमुनि खाना र न्यानो कपडा नहुँदा समस्या भएको छ । भूकम्पले घरमा क्षति बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घर बाहिर बस्नुपर्दा समस्या उत्पन्न भएको छ ।

उहाँसँग छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी साथमा छिन् । मीनाकी सासू सुनीताका अनुसार अब मीनाको काँधमा तीन बच्चाको व्यवस्थापनको कामसमेत थपिएको छ । उहाँको श्रीमानको केही दिनअघि शल्यक्रिया गरेकाले राम्रोसँग हिँड्न सक्ने अवस्थामा छैनन् । सुनीताले भन्नुभयो, “बस्नका लागि घर भत्किएको छ भने खानका लागि अन्नको एक गेडा पनि छैन । ”  

उहाँ जस्तै बारेकोट गाउँपालिका-२ रोकायगाउँकी सरिता गिरीलाई पनि समस्या छ । तीन दिनकी सुत्केरी उहाँ अहिले त्रिपालको सहारामा चिसोले हैरानी खेप्दै बस्नुभएको छ । उहाँका श्रीमान भारतको कोलकतामा काम गर्न गएको पनि पाँच महिना भइसक्यो । अहिले उहाँ नौ वर्षको छोराका साथमा हुनुहुन्छ । भूकम्पको केन्द्रबिन्दु रहेको नजिकै आफ्नो गाउँ भएकाले परकम्प गइरहने समस्या छ । 

सुत्केरीले स्याहारसुसार पाउने समयमा आफैँ काममा लाग्नुपर्दा जोखिम बढेको उहाँको भनाइ छ । भूकम्पबाट कति स्वास्थ्य संस्थामा क्षति पुगेको छ भन्ने यकिन तथ्याङ्क छैन । भूकम्प प्रभावित अधिकांश ठाउँमा स्वास्थ्य संस्थाका भवनहरु चर्किएकाले सेवा प्रभावमा समस्या भएको छ । लिम्सास्थित स्वास्थ्य तथा सरसफाइ शाखाको भवन भत्किएपछि खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिनुभयो । 

त्यस्तै अन्य ठाउँको अवस्था चिन्ताजनक रहेको उहाँको भनाइ छ । खासगरी बारेकोट, नलगाड र भेरीमा भौतिक संरचनामा क्षति भएको छ । रासस