• ९ मंसिर २०८१, आइतबार

संज्ञानात्मक विज्ञानबाट नेपालको परिचय

blog

भारतको गोवास्थित बिरला इन्स्टिच्युट अफ टक्नोलोजी एन्ड साइन्सको कग्निटिभ न्युरोसाइन्स ल्याब (संज्ञानात्मक स्नायु विज्ञान प्रयोगशाला) ले आयोजना गरेको सोसाइटी फर कग्निटिभ साइन्स अफ कल्चरको तेस्रो अन्तर्राष्ट्रिय कार्यशालामा मलाई मूल वक्ताका रूपमा बोलाइएको थियो । यो सोसाइटी संज्ञानात्मक विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने विश्वका विभिन्न देशका वैज्ञानिकले हाम्रो मस्तिष्कमा मानव संस्कृतिका विभिन्न अवयव जस्तै भाषा, धर्म, साक्षरताले पार्ने प्रभावको अध्ययन गर्न र आफूले गरेका अध्ययन–अनुसन्धान साटासाट गर्नका लागि जुन २०१८ मा पोर्चुगलको लिस्बनमा स्थापना भएको थियो । यसको स्थापनामा पहल गरेका वैज्ञानिकहरू जसलाई मैले गरेको पिएचडी कग्निटिभ साइन्स (संज्ञानात्मक विज्ञान) भएको र मैले यस विषयमा दिएका प्रस्तुतिहरू तथा नेपालमा म कार्यरत त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागमार्फत यस क्षेत्रमा कार्य गरेको आधारमा मलाई यस सोसाइटीको संस्थापक सदस्यका रूपमा सामेल हुन आग्रह गरेपछि म यसको संस्थापक सदस्य बन्न पुगेको छु । मैले हाल आफ्नो विभागमा संज्ञानात्मक विज्ञान तथा मनोभाषाविज्ञान प्रयोगशाला सञ्चालन गरी यस क्षेत्रमा अनुसन्धान कार्य गरिरहेको छु । हालसम्म यो नै नेपालको यस्तो खाले अध्ययन–अनुसन्धान गर्ने पहिलो र एक्लो ठाउँ हो । यो अध्ययन क्षेत्र पश्चिमा मुलुक, हाम्रै छिमेकी भारत र चीनमा निकै द्रुत गतिमा फैलँदो छ तर नेपालमा भने यसको औपचारिक अध्ययन अध्यापन प्रारम्भ नै भएको छैन । यसको आफ्नै छुट्टै वैज्ञानिक विधि छ । 

हामीले धेरै काम गर्न सक्ने र नेपालको विज्ञान, स्वास्थ्य तथा शिक्षामा धेरै नवीनतम अनुसन्धानहरू गर्ने सम्भावना छ । म यही क्षेत्रलाई नेपालमा सुरुवात गराउने प्रयासमा छु । हाल मैले मेरा विद्यार्थीलाई यो विधि प्रयोग गरेर अनुसन्धान गर्न सिकाउने क्रममा केही अध्ययन सञ्चालनमा छन् । मैले आफ्नो प्रयोगशालामा, दोस्रो भाषामा शिक्षित तर मातृभाषामा असीक्षित समूहमा लेख्य र कथ्य भाषाको प्रशोधन फरक तरिकाले हुन्छ र आफ्नो मातृभाषामा मात्रै भन्दा मातृभाषा तथा दोस्रो भाषामा समानान्तर रूपमा शिक्षा प्राप्त गर्दा यसले समग्र संज्ञानात्मक प्रणालीमा वृद्धि गर्छ भनेर प्रमाणित गरिएको अनुसन्धान अन्तर्राष्ट्रिय जर्नल अफ कल्चरल कग्निनिभ साइन्समा सन् २०२१ मा प्रकाशित भइसकेको छ । यो अध्ययनको प्रारम्भिक नतिजा म गोवाको कार्यक्रममा प्रस्तुत गर्दै थिएँ ।

चार दिने कार्यक्रममा मेरो प्रस्तुति अन्तिम दिनमा थियो । त्यसको अघिल्लो दिन हाम्रो पोस्टर प्रस्तुति थियो, शिक्षण माध्यमका रूपमा भाषिक छनोटले संज्ञानात्मक प्रणालीमा पार्ने असर बारे । विभिन्न देशको प्रस्तुति एकै पटक चल्दै थियो र सहभागीहरू सबैको पोस्टर हेर्दै छलफल गर्दै थिए । हाम्रो पोस्टरबारे चासो राख्‍ने धेरैमध्ये एक जना हुनुहुन्थ्यो जर्मनीको काइजर्सलौटर्न विश्वविद्यालयका प्राध्यापक थोमस ल्याखमन । उहाँ हाम्रो पोस्टरको अघि आएर उभिएर यसो हेर्नुभयो  नेपालमा पनि यस्तो प्रकारको अध्ययन हुन्छ र भनेर आश्चर्य व्यक्त गर्नुभयो । उहाँलाई लागेको होला यस्तो अध्ययन त हामी मात्रै गर्न सक्छौँ । अनि भन्नुभयो,  नेपाल ? मैले नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो भनेर । त्यहाँ भारतका पनि कहलिएका वैज्ञानिकहरू थिए विदेशीबाहेक । मैले संज्ञानात्मक विज्ञानकै एउटा विम्ब प्रयोग गरेर नेपालको परिचय दिने विचार गरे उनीहरूले बुझ्ने गरी । मैले ‘फ्ल्यान्कर टास्क’को विम्ब प्रयोग गर्ने निधो गरेँ ।

‘फ्ल्यान्कर टास्क’ हाम्रो मस्तिष्कले द्वन्द्वात्मक अवस्थालाई कसरी व्यवस्थापन गर्छ र कस्ता कारक तत्वले यस प्रक्रियालाई प्रभावित पार्छ भनेर अध्ययन गरिने एउटा विधि हो । यसमा पाँच वटा तीर भएको आकृति हुन्छ, जुन छ वटा अवस्थामा हुन्छ । पाँच वटै तीर दाहिनेतिर फर्केको र पाँच वटै तीर देब्रेतिर फर्केको अवस्था भए यसलाई ‘कङ्गरुएन्ट कन्डिसन’ अर्थात् समदिशाको अवस्था भनिन्छ । पाँच वटामध्ये छेउतिरका देब्रेतिर र बिचको चाहिँ दाहिनेतिर तथा छेउतिरका दाहिने र बिचको देब्रे फर्केको छ भने यसलाई ‘इनकङ्गरुएन्ट कन्डिसन’ अर्थात् असमदिशाको अवस्था भनिन्छ । छेउतिरका तीरको सट्टामा खाली धर्का मात्रै र बिचको तीर मात्रै देब्रे वा दाहिने फर्केको अवस्था भएमा यसलाई ‘न्युट्रल कन्डिसन’ अर्थात् तटस्थताको अवस्था भनिन्छ ।

संज्ञानात्मक प्रक्रिया मापन गर्नका लागि सहभागीहरूलाई कम्प्युटर स्व्रिmनमा एकपछि अर्को आउने तीरहरूलाई हेर्न लगाइन्छ । उनीहरूको काम भनेको बिचको तीरलाई हेर्ने र त्यो तीर दाहिने तिर फर्केको छ भने दाहिने तीरको सङ्केत भएको ‘की’ थिच्‍ने र देब्रेतिर फर्केको छ भने देब्रेतिरको सङ्केत भएको ‘की’ थिच्‍ने । तीरहरू ‘¥यान्डमाइज्ड’ (अनियमित) तरिकाले स्व्रिmनमा आउँछन् । सहभागीले छिटोभन्दा छिटो उत्तर दिनुपर्ने हुन्छ सही ‘की’ थिचेर । उनीहरूको नतिजा तिनले कति छिटो र कति सही उत्तर दिए भन्‍ने मापनबाट गरिन्छ । यो कार्य सरल हुन्छ तर यसले हाम्रो मस्तिष्कीय प्रव्रिmयाको गहिराइबाट अध्ययन गर्न सघाउँछ । सहभागीले धेरै जसो असमदिशामा उत्तर दिन ढिला गर्छन् र गल्ती पनि यसै अवस्थामा गर्छन् र समदिसामा छिटो उत्तर दिन्छन् र थोरै गल्ती गर्छन् । यो तथ्य सयौँ अध्ययनबाट प्रमाणित भइसकेको कुरा हो । 

मैले यही प्रक्रियाको विम्ब प्रस्तुत गरेर नेपालको परिचय दिएँ । मेरो प्रस्तुतिको दिन तिनै थोमस ल्याखमनले मलाई मञ्चमा बोलाउनुभयो । मञ्चमा पुगेर मैले नेपालको परिचय यो सभामा उपस्थित भएका संज्ञानात्मक वैज्ञानिकहरूले बुझ्‍ने गरी संज्ञानात्मक विज्ञानको भाषामै दिन चाहन्छु भने । नेपाल ‘फ्ल्याङ्कर टास्क’को बिचको तीर जस्तै हो र हाम्रा ‘फ्ल्याङ्कर’ उत्तरमा चीन र दक्षिणमा भारत हुन् । र ‘फ्ल्याङ्कर टास्क’मा जस्तै हाम्रो सम्बन्धमा आउने ‘कङ्गरुएन्सी’ (एकमतता) को आधारमा हामी कहिले दायाँ त कहिले बायाँ फर्किन्छौँ । अङ्ग्रेजीमा ‘लेफ्ट’ र ‘राइट’को राजनीतिक अर्थ पनि हुन्छ । हाम्रो उत्तरी छिमेकी चीन ‘लेफ्टिस्ट’ वा वामपन्थी सरकार भएको देश हो भने दक्षिणी छिमेकी ‘राइटिस्ट’ अर्थात् दक्षिणपन्थी सरकार भएको देश हो मैले यही अर्थमा पनि सो कुरा भनेको उनीहरूलाई भने । मैले यसरी सुरु गर्नासाथ सभाहल हाँसोले गुञ्जिन थाल्यो र ताली बजाउन थाले ।  उनीहरूले मेरो भनाइको तात्पर्य तुरुन्तै बुझिहाले यो विम्बले उनीहरूको मस्तिष्कमा उत्पन्न गरेको अर्थले गर्दा । म भन्दै गएँ – हाम्रा दुवै ‘फ्ल्याङ्कर’ले हामीले आफूलाई उनीहरूसँग कसरी प्रस्तुत हुने भन्‍ने कुरालाई प्रभावित पारी रहन्छन् । धेरै जसो हाम्रो सम्बन्ध उनीहरूसँग ‘कङ्गरुएन्ट’ नै हुन्छ र ‘इनकङ्गरुएन्ट’ अवस्थामा पनि हाम्रा द्वन्द्व छिटै समाधान हुन्छन् तर हामी उनीहरूसँग समदुरी राखेर तटस्थ बस्दै कुनै पनि द्वन्द्वात्मक अवस्थाबाट टाढा बस्न रुचाउँछौँ ।

संज्ञानात्मक विज्ञान वा मनोविज्ञानका प्रयोगात्मक अध्ययनहरूमा ‘कन्फाउन्डिङ भ्यारिएबल’ (अनियन्त्रित तìव) भन्‍ने हुन्छ जसलाई अध्ययन–अनुसन्धानका क्रममा नियन्त्रणमा राख्‍न सकिएन भने त्यसले हाम्रो नतिजालाई प्रभावित पार्छ र नतिजा हामीले चाहे वा सोचे जस्तो नआउन सक्छ । मैले दोस्रो स्लाइडमा हामी र हाम्रा फ्ल्याङ्कर बिच विद्यमान यस्तै ‘कन्फाउन्डिङ भ्यारिएबल’को कुरा गरे । मैले भने  हामीबिच यस्ता ‘कन्फाउन्डिङ भ्यारिएबल’ छन् जसलाई हामी कहिल्यै नियन्त्रण गर्न सक्ने छैनाैँ । हामीले सबैभन्दा धेरै गर्व गर्ने हाम्रा दुई धरोहर गौतम बुद्ध र सगरमाथा दुवैसंँग बाँडिएका छन् । गौतम बुद्ध नेपालमा जन्मेका हुन् । संसारको सबैभन्दा अग्लो पर्वत सगरमाथा नेपालमा छ तर यसको उत्तरी फेद चीनतिर फैलिएको छ । हाम्रा हिमाली नदीहरूबाट बग्‍ने सम्पूर्ण पानी भारत जान्छ । त्यसैले हामी भारतलाई पानी सित्तैमा आपूर्ति गरिदिने सबैभन्दा ठुलो जलदाता हौँ । यति भनेपछि हल तालीले गुञ्जियो । त्यसै दिन बेलुका म्याक्स प्लयाङ्क इन्स्टिच्युटको कल्चरल ब्रेन समूहका अनुसन्धाता तथा निजमिगेनको रडबुड विश्वविद्यालयको साइकोलिङ्गिवस्टिक्स एन्ड कल्चर कगनिसन (मनोभाषा विज्ञान तथा सांस्कृतिक संज्ञान) का प्राध्यापक फल्क ह्युटिगले मैले संज्ञानात्मक वैज्ञानिकहरूलाई नेपाल परिचय दिँदै गरेको स्लाइडको फोटो राखेर सो कुरा उल्लेख गर्दै ट्विट गर्नुभयो । 

हामी प्राज्ञिक क्षेत्रका व्यक्तिहरू वैदेशिक सम्मेलनमा प्रस्तुति दिन जाँदा आफ्नो मनमा कुनै हीन भावना नराखी पूर्ण आत्मविश्वासका साथ अन्य देशका प्राज्ञिक समुदायसंग आँखा जुधाएर बराबरीको भावमा प्रस्तुत हुँदा वा प्रस्तुति दिँदा हामी नेपालको शिर ठाडो हुने गरी आफ्नो शिर गर्वले ठाडो पारेर हिँड्न सक्छौँ ।

  

Author

डा. लेखनाथ शर्मा पाठक