• ९ मंसिर २०८१, आइतबार

दानवीर सुवर्णशमशेर

blog

नेपाली कांग्रेसका संस्थापक सुवर्णशमशेर एक असल उदार राजनीतिज्ञ मात्र होइन प्रजातन्त्र र मानव अधिकारप्रति पूर्ण रूपमा समर्पित एक योद्धा हुनुहुन्थ्यो । राणा कुलमा जन्मिएर पनि जनअधिकारप्रति सजग प्रजातन्त्र र समाजवादप्रति प्रतिबद्ध एक इमानदार व्यक्तित्व हुनुहुन्थ्यो । त्यसैले उहाँ आफ्नै पारिवारिक राणा शासकको कोपभाजनमा परी कलकत्ता (भारत) प्रवासमा जानु परेको थियो । कलकत्तामै नेपालमा प्रजातन्त्र स्थापनार्थ २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना गर्नुभयो । उता बनारसमा २००३ सालमै बिपी कोइरालाको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना गरी सक्नुभएको थियो ।

२००६ साल चैत २७ गते कलकत्तामा दुइटै नेपाली कांग्रेस एकीकरण भई नेपाली कांग्रेसको विधिवत् स्थापना भएको थियो । त्यसपछि निरङ्कुश राणातन्त्रविरुद्ध जनक्रान्तिको आगो बलेको थियो । क्रान्तिका लागि आवश्यक आर्थिक स्रोत चाहियो । आर्थिक स्रोतका लागि स्वयम् सुवर्णशमशेर पूरै खर्च बेहोर्न तयार हुनुभयो । उहाँले स्पष्ट रूपमा बिपी कोइरालालाई जनक्रान्तिका लागि चाहिने खर्च जुटाउन आफू तयार भएको सन्देश दिनुभयो । साथै हातहतियार वर्माबाट ल्याउन बिपीलाई सुझाव दिनुभयो । 

सुवर्णशमशेरको भाइ महावीरशमशेरको डकोटा जहाज सञ्चालनमा थियो । यही जहाज प्रयोग गरेर वर्माबाट हातहतियार झिकाइयो । हातहतियारलाई पटना नजिकै एउटा मैदानमा ल्याएर भण्डारण गरियो । त्यसपछि क्रान्तिका लागि थप आर्थिक स्रोतका लागि सुवर्णशमशेरले बिपी कोइरालासित सल्लाह गर्नुभयो । सल्लाह अनुसार सुवर्णशमशेरले एक करोड रुपियाँसम्म दिने कुरो गर्दै भन्नुभयो, मेरो एउटा सर्त छ, त्यो पैसा विभिन्न बैङ्कको खातामा राख्न पाइँदैन । सबै पैसा मकहाँ नै राख्नु पर्छ । तपाईलाई आवश्यक परेको बेला दिउँला । सुवर्णजीले फेरि भन्नुभयो, यस राजनीतिक क्रान्तिका लागि म जति लगानी गर्छु, त्यसको आधा मेरो भाइ महावीरशमशेरले पनि बेहोर्ने छन् । भाइ र मबिच यस्तो समझदारी भएको छ । सुवर्ण र बिपीबिचको यो संवाद कलकत्तामै भएको थियो । 

यसरी सुवर्णशमशेरको धन र मनले सात सालको जनक्रान्ति सफल भएको थियो । जनक्रान्ति सफल भएपछि २००७ सालको अन्तरिम सरकारमा सुवर्णशमशेर पहिलो अर्थ मन्त्री बन्नुभयो र २००८ साल माघ १९ गते राति रेडियो नेपालबाट तीन करोड पाँच लाख सोह्र हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभयो । 

सुवर्णशमशेर अर्थमन्त्री भएको बेला २००९ सालमा जनकपुरमा नेपाली कांग्रेसको महाधिवेशन भएको थियो । महाधिवेशन खर्चका लागि कसैकसैले जलेश्वर मालपोत कार्यालयबाट केही रकम सापटी लिने कुरा पनि गरे तर सुवर्णशमशेरले यस्तो काम गर्नु हुन्न किनभने पार्टीको महाधिवेशन हो, सरकारको होइन । मेरो आफ्नै प्रशस्त सम्पत्ति छ म आफैँ बेहोर्छु भन्नुभयो । त्यति मात्र होइन नेता–कार्यकर्तालाई खाँचो परेको बेला आर्थिक सहयोग गर्नुहुन्थ्यो । कतिपय नेताहरूलाई महिनावारी पैसा दिनुहुन्थ्यो । राजा महेन्द्रको विवाहमा पनि उहाँले ४० हजार दिनुभएको थियो ।

२०१२ सालमा वीरगन्जमा नेपाली कांग्रेसको महाधिवेशन भयो, जसमा गणेशमान सिंहलाई पराजित गरी उहाँ सभापतिमा निर्वाचित हुनुभयो तर पनि गणेशमानप्रति उहाँले कुनै तितो पोख्नु भएन । त्यही महाधिवेशनमा सुवर्णशमशेरले समाजवादको अवधारणा ल्याई विधिवत् रूपमा पार्टीलाई समाजवादी विचारमा रूपान्तरित गर्नुभयो । नेपाली जनताको जीवन स्तर उच्च बनाउन तथा गरिब, किसान, मजदुरको समानता र समृद्धिका लागि उहाँले समाजवादी नीति ल्याउनुभएको थियो । त्यही महाधिवेशनबाट नेपाली कांग्रेस एक समाजवादी पार्टीको नामबाट परिचित भयो ।

राजा महेन्द्रले आमचुनावको घोषणा गरी सुवर्णशमशेरको अध्यक्षतामा २०१५ साल जेठ ६ गते मन्त्रीपरिषद् गठन गर्नुभयो । सुवर्णशमशेरले आमचुनाव सम्पन्न गराउनुभयो । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ सिटमा जित हासिल ग¥यो । राजा महेन्द्रको अनुमान विपरीत कांग्रेसले १०९ स्थानमध्ये ७४ स्थानमा जित हासिल ग¥यो । यसपछि राजा महेन्द्र सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्थ्यो । यसका लागि उहाँलाई दबाब पनि दिइयो तर उहाँले मान्नुभएन । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सुवर्णशमशेरले बिपी कोइरालालाई संसदीय दलको नेतामा समर्थन गरी प्रधानमन्त्रीको बाटो खोलिदिनुभयो । 

२०१६ साल जेठ १३ गते बिपी कोइरालालाई प्रधानमन्त्रीको शपथ गराइयो । जननिर्वाचित १९ सदस्यीय मन्त्री मण्डलमा सुवर्णशमशेर अर्थ मन्त्री हुनुभयो । विकासप्रेमी सुवर्णशमशेरले नेपालको बहुआयामिक विकासको रूपरेखा तयार मात्र पार्नुभएन, दूरगामी विकासको अवधारणासहित देशको समाजवादी विकासको बलियो आधार खडा गर्नुभयो । उहाँकै अगुवाइमा विर्ता उन्मूलन जस्तो क्रान्तिकारी कदम उठाइयो । नेपाललाई समाजवादी अर्थ व्यवस्थातिर डो¥याइयो । नेपाली कांग्रेसको सरकारले २०१६ साल पुस १९ गते विर्ता उन्मूलन गर्ने निर्णय ग¥यो । अर्थमन्त्री सुवर्णशमशेर स्वयम्ले नै आफूसँग रहेको १२ हजार विघा जग्गा सरकारलाई बुझाउनु भयो ।

परिवर्तनको सुरुआत आफैँबाट गर्नु पर्छ भन्ने मान्यता राख्नु हुने सुवर्णशमशेरको यो कामले सामन्ती वर्गमा हलचल ल्याइदिएको थियो । २०३० सालमा विराटनगरबाट काठमाडाैँ उडेको विमान अपहरण काण्डमा सुवर्णशमशेर निकै असन्तुष्ट हुनुहुन्थ्यो । विमान अपहरण गरेर प्राप्त हुने रकम मैले नै पार्टीलाई उपलब्ध गराई दिन्थे नि । २००७ सालदेखि अहिलेसम्म पार्टीलाई चाहिने खर्च जुटाउँदै आएको छ । २०१७ साल पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि प्रवासबाट सशस्त्र क्रान्ति सञ्चालन गर्न तथा अन्य सहयोग उहाँले गर्दै आउनु भयो । 

सुवर्णशमशेर जस्तो उदारमना व्यक्ति नभएको भए आर्थिक अभावमा कांग्रेस मृतप्रायः हुन्थ्यो । बिपी जेलमा हुँदा कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बहन गरेर भारत प्रवासमा आठ वर्षसम्म कांग्रेसलाई जीवन्त राख्नुमा उहाँको ठुलो योगदान छ । बिपी र सुवर्णशमशेरबिच निकै हार्दिकता थियो । बिपीले आफ्नो आत्मवृत्तान्तमा लेख्नुभएको छ, सुवर्णजी र मबिच धेरैले फुटाउन लागे तर हाम्रोबिच फुट भएन । मप्रति उहाँको विश्वास र उहाँको मप्रतिको विश्वासमा रतिभर फरक आएन ।

बिपी अमेरिकाबाट उपचार गरी २०३४ साल कात्तिकमा फर्किएर आएपछि सुवर्णशमशेरलाई कलकत्तामा भेट गर्न जानुभयो । उहाँलाई बिरामी अवस्थामा भेट्दा बिपी निकै भावुक हुनुभयो । त्यसैबेला बिपी आफैँ अमेरिकाबाट क्यान्सरको उपचार गरेर फर्कनु भएको थियो । भावुक हृदयका बिपी र सुवर्णबिच भएको त्यो भेट अति नै कारुणिक थियो । दुवैका आँखा रसाए थिए । सो भेटमा सुवर्णशमशेर भावुक हुँदै बिपीलाई राजनीतिमा सघाउने अभिलाषा हुँदाहुँदै पनि अस्वस्थताका कारण अब केही गर्न नसक्ने भन्दै क्षमा माग्नुभएको थियो । पक्षपातले कुँजिएर अन्तिम अवस्थामा पुग्नुभएका सुवर्णशमशेरको यो भनाइले बिपी निकै भक्कानिनु भएको थियो ।

सुवर्णशमशेरले १७ वर्षदेखि जिम्मा लिनुभएको कार्यवाहक सभापतिको पद बिपीलाई ओछ्यानबाट नै भारी बिसाउनु भएको थियो । त्यसको केही दिनपछि कात्तिक २४ गते कलकत्तामा नै उहाँको निधन भएको थियो । जीन्दगीभरि प्रजातन्त्र र समाजवादका लागि समर्पित तथा कांग्रेसलाई तन, मन र धनले जीवन्त राख्नुहुने सुवर्णशमशेरलाई पार्टीले बिर्सिएकोमा आलोच्य बनेको छ । पार्टी र सरकारले राजधानीमा सुवर्ण मार्ग तथा स्मारक निर्माण गर्न आवश्यक छ ।

  

Author

रामनारायण देव