• २२ असार २०८१, शनिबार

देवकी अन्तर्राष्ट्रिय जुडो कोचिङमा सहभागी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । जुडो खेलाडी देवकीमाया श्रेष्ठ जुडोस अन्तर्राष्ट्रिय जुडो कोचिङ सेमिनारमा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । 

जापानको हरतसुगासी कानागावास्थित टोकाइ विश्वविद्यालयमा एक महिना भएको सेमिनारमा देवकीले सहभागिता जनाउनुभएको हो ।

सेमिनार एनपीओ जुडोसले आयोजना गरेको सो सेमिनारका केही कक्षा जापान कोदोकानमा पनि भएको थियो ।

जुडोको कोचिङलगायत विविध शिक्षा हासिल गर्ने क्रममा देवकीले जापानको विभिन्न डोजो, जुनियर हाइस्कुल, सिनियर हाइस्कुल, कलेज, विश्वविद्यालयमा प्रशिक्षण गर्ने अवसर पाउनुभएको थियो ।

देवकीलाई एनपीओ जुडोसका मुख्य प्रशिक्षक मिसुमोटोलगायतले प्रशिक्षण दिनुभएको थियो । गैरनाफामूलक संस्था एनपीओ जुडोसका अध्यक्ष ओलम्पिकका स्वर्ण विजेता कोसेईं इनोइ हुनुहुन्छ । 

नेपाल जुडो संघका सदस्यसमेत रहेका बन्दी सहायता नियोग (पाम) का जुडो प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठले यस्तो सेमिनारमा नेपालबाट जुडोमा सहभागी हुने देवकी पहिलो खेलाडी भएको जनाउनुभयो ।

देवकी पाममै सात वर्षको उमेरदेखि हुर्कनुभएको हो  । त्यहीँबाट देवकीले सन् २००९ देखि जुडो खेल्न थाल्नुभयो । 

देवकी हाल पाममा सहायक प्रशिक्षक हुनुहुन्छ । देवकीले हालै चीनको होङजाउमा भएको १९ औं एसियाली खेलकुदमा पनि प्रतिस्पर्धा गर्नुभएको थियो ।

देवकीका दाइ इन्द्र र निशा पनि आ आफ्नो तौलसमूहका जुडोकै राष्ट्रिय च्याम्पियन हुनुहुन्छ । देवकीले सेमिनारबाट आफूले महत्वपूर्ण ज्ञान हासिल गरेको बताउँदै आफूले सिकेको सिप अरुलाई पनि सिकाएर व्यवहारमा लागू गर्ने बताउनुभयो ।

देवकीले सेमिनारमा सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल जुडो संघलाई धन्यवाद दिँदै एनपीओ जुडोसको पनि प्रशंसा गर्दै आभार व्यक्त गर्नुभयो । 

प्रशिक्षक सूर्यनारायणले देवकीले हासिल गरेको ज्ञानबाट नेपाली जुडोलाई धेरै फाइदा पुग्ने बताउँदै यस्ता तालिममा नेपालको सहभागिता नियमित हुन सके नेपाली जुडोको विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।