• ७ जेठ २०८१, सोमबार

भूकम्प पीडितलाई जाडोबाट बचाउनु पहिलो प्राथमिकता : डा. बद्री रिजाल

blog

काठमाडौँ, कात्तिक २२ गते । पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठुलो जनधनको क्षति भएको छ । सयौँ मानिस घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन् । 
सरकारले अहिले भूकम्पमा परी निधन हुनेहरूको शव व्यवस्थापन र राहत उद्धार कार्य जारी राखेको छ । साथै भूकम्पपछि सोही स्थानलाई केन्द्रबिन्दु बनाइ गएका पराकम्पबाट जोगिन विभिन्न उपायसहित सरकारले उद्धार र राहतका कार्यहरू अघि बढाइरहेको छ । तर भूकम्पपछि आउने जोखिमका लागि आवश्यक रणनीति बनाउनुपर्ने र स्वास्थ्यमा जोड दिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले भूकम्पपछि देखिने असरहरूबारे ध्यान राखेर आवश्यक रणनीति तयार पार्नुपर्ने बताउनुभयो । उहाँले बालबालिका, वृद्ध र शारीरिक रूपमा अशक्त भएकाहरूलाई अहिले जाडोबाट बचाउनुपर्ने पहिलो प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो । खानपिन, चिसोबाट बचाउने उपाय र स्वास्थ्यमा विशेष ख्याल गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘यस्तो विपदमा, अहिलेको भूकम्प छ, यसबाट देखिने इम्प्याक्टहरु तत्काल र केही समयपछि देखिँदै जान्छ । तुरुन्तै मानिसको जुन क्षति भएको छ भने जुन बाच्नु भएका बच्चा, वृद्ध र शारीरिक अशक्त जो हुनुहुन्छ, उहाँहरूको लागि अहिले चिसोको बेला आइरहेको छ । साथै अरू किसिमका स्वास्थ्य समस्याहरू आउन सक्छन् । खानपिनका कुराहरू, खानपिन राम्रो नभएर झाडा पखाला फैलिएको ठाउँ हो । यी सबै कुरामा ख्याल गरेनौँ भने न्यानो बनाएर बस्नुपर्छ । दुर्घटनाबाट सुरक्षित रहनु भएकालाई स्वास्थ्यको हिसाबले सुरक्षित राखिएन भने उपचार मात्रै भनेर हिँड्नु भएन ।
उपचार पछि तातो र खानपिनलाई ख्याल गर्नुपर्छ । त्यो नगरे पछि अर्को समस्या निम्त्याउन सक्छ । अर्को कुरा हामीले सावधानीका कुरा अपनाउनु पर्छ । कसरी सुरक्षित हुने भन्ने छ भने अर्को समस्यामा परेकोलाई कसरी रेस्क्यु गर्ने भन्ने अर्को कुरा हो । विपद्का बेलामा सबैलाई एजुकेट गरेर टिमवर्कमा नै अघि बढ्नुपर्छ । यस्तो विपदमा आफू सुरक्षित रहेर अरूलाई पनि सुरक्षित राख्नुपर्छ ।’
प्राकृतिक विपद्पछि झाडापखाला, हैजा जस्ता ठुलो महामारी देखिनसक्ने अवस्थालाई ध्यान दिन आवश्यक रहेको बताउनु भयो । सुरक्षित वासस्थानको अभाव र स्वस्थ खानपिनको अभावका कारण देखिनसक्ने समस्याको सम्बोधनका लागि बेलैमा आवश्यक कदम चाल्नुपर्ने उहाँको सुझाव छ । स्वच्छ खानेपानी नहुनु, उचित वासस्थानको अभाव हुनुले विपद्पछिका दिनमा ठुलो समस्या निम्तिएको नेपालको इतिहासबाट पाठ सिकेर सरकार र सबै निकायले एकजुट भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।