काठमाडौँ, कात्तिक २२ गते । ‘मिसेस वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौँ आउनुभएको छ । उहाँ बुधबार हुने ‘मिसेस नेपाल २०२३’ को फाइनलमा सहभागी हुन काठमाडौँ आउनुभएको हो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताउनुभयो । “सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । धार्मिक हिसाबले पनि पुण्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्ने छु,” उहाँले भन्नुभयो ।
सन् १९८४ देखि सुरु भएको मिसेस वर्ल्डको नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ । विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छन् ।