• ९ मंसिर २०८१, आइतबार

सुनसरीमा फैलियो पीपीआर : १५ दिनमा ३९ बाख्रा मरे, ४५ सय जोखिममा

blog

वराहक्षेत्र १ मा बाख्रा लाई भ्याक्सिन लगाउँदै पशु सेवा प्राविधिक । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, कात्तिक २० गते ।
 बाख्रामा लाग्ने महामारी पिपिआर रोग सुनसरी जिल्लामा फेला परेको छ । वराहक्षेत्र १ चतरामा बाख्रामा केही दिनअघि मात्रै देखिएको पीपीआर रोगका कारण भटाभट बाख्रा मर्न थालेका छन् । बाख्रामा पीपीआर रोग फैलँदा ३९ भन्दा बढी बाख्राहरू मरी सकेका छन् भने अन्यमा पनि सङ्क्रमण बढेको छ ।

पन्ध्र दिनदेखि फैलिएको पीपीआर रोगबाट वराहक्षेत्र १ र २ नम्बर चतरा क्षेत्रका किसानहरूले पालेको खसी बाख्राहरू मरेका हुन् । रोग लागेका बाख्राहरूमा सुरुमा सिँगान आउने, टाउको सुन्निे, कालो छेर्ने जस्ता लक्षणहरू देखिन थालेपछि बाख्रा मर्न थालेका हुन् ।

पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा परीक्षणका लागि लगिएको सेम्पलको र्यापिट टेष्ट गर्दा पोजेटिभ देखिएको प्रयोगशालाका प्रमुख डा.कमल गिरीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “थप नमुना सङ्कलन गरेर कन्फरमेशनको लागि सेन्टर ल्याब काठमाडौँ पठाएका छौँ । बाख्राहरूमा पीपीआरकै लक्षण देखिएको छ ।”

दसैँमा चतरा बजारमा लाग्ने खसी बजारबाट रोगको सङ्क्रमण फैलिएको हुनसक्ने वडा कार्यालयका पशु सेवा प्राविधिक रोशन काफ्लेले जानकारी दिनु भयो । प्राविधिक काफ्लेका अनुसार वडा नम्बर १ को आइभी कोल्नी, खहरे र वडा १ कै चुरे क्षेत्रको बान्द्रे गाउँका बाख्राहरू मरेका छन् ।

भेटनेरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका निमित्त कार्यालय प्रमुख कुमार सिंह खत्रीले पीपीआर फैलिएको क्षेत्रमा रोग नियन्त्रणका लागि पीपीआरविरुद्धको चार हजार भ्याक्सिन र उपचारार्थ पर्ने आवश्यक औषधि लगिएको जानकारी दिनु भयो ।

विज्ञ केन्द्र निमित्त प्रमुख खत्रीका अनुसार वराहक्षेत्र १ को रोग प्रभावित आइभी कोल्नी र खहरे क्षेत्रमा सिल गरेर १७ सय भ्याक्सिन लगाइएको जानकारी दिनुभयो । तीन जना पशु सेवा प्राविधिकहरूले गएको दुई दिनदेखि भ्याक्सिन लगाइ रहेका छौँ  । बाख्राहरूमा यो रोग छिटै फैलने हुँदा भ्याक्सिनको कामलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको खत्रीले बताउनु भयो ।

वराहक्षेत्र नगरले नगरमा रहेको पशु शाखाको प्राविधिकहरूलाई परिचालन गरेर खोप लगाउने कामलाई तीव्र पारिएको नगरप्रमुख रमेश कार्कीले जानकारी दिनु भयो । भेटनेरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सुनसरीसँग आवश्यक भ्याक्सिन र औषधिका लागि बन्दोबस्त गरिएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, “वडा क्षेत्रको  रोग प्रभावित स्थानहरूमा बाख्रा हुलाई सिल गरेर प्राविधिकहरूले उपचारलाई तीव्रता पारिएको छ ।”

पीपीआर रोगबाट वराहक्षेत्र वडा नम्बर १ का विमल मगरले पालेका दुई वटा, सृजना तामाङका नौ वटा, मीन कुमार मगरका छ वटा बाख्राहरू मरेका छन् । त्यस्तै, वराहक्षेत्र दुईका परशुराम थापाको नौ वटा, झपड कटुवालको एक र उहाँका दुई छिमेकीका सात वटा बाख्रा मरेको पशु सेवा प्राविधिक रोशन काफ्लेले बताउनु भयो ।

पीपीआर रोग वडाको सबै बाख्राहरूमा देखिन थालेको वडाध्यक्ष किसान थापा मगरले बताउनु भयो । “मेरै घरमा पनि तीन वटा बाख्रा पीपीआरबाट मरिसकेका छन् । यो रोग एक ठाउँमा देखिएपछि सबै तिर फैलने रहेछ ।,” वडाध्यक्ष थापाले भन्नु भयो । सबैतिर एकै चोटि फैलँदा उपचारमा समेत समस्या भएको उहाँले बताउनु भयो । वडाको आधाभन्दा बढी क्षेत्र चुरे पहाडमा पर्छ ।

नगरको दुई नम्बर वडामा पीपीआर देखा परेको पशु सेवा प्राविधिक सुमन सिटौलाले जानकारी दिनु भयो । सुमन सिटौलाका अनुसार ४० भन्दा बढी दुई नम्बरमा पनि बाख्राहरू मरिसकेका छन् । वडाको सीमा क्षेत्रमा एक सयभन्दा बढी बाख्रालाई भ्याक्सिन लगाइएको छ । रोग फैलिएको टोललाई सिल गरेर अन्य टोलमा भ्याक्सिन लगाउने काम भइरहेको प्राविधिक सुमन सिटौलाले बताउनु भयो ।

पीपीआर रोगको लक्ष्ण र रोगथाम

यो रोग लागेका बाख्राहरूमा १०४ देखि १०६ फरेनहाइटसम्म ज्वरो आउने गरेको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला विराटनगरका प्रमुख डा.कमल गिरीले जानकारी दिनुभयो । डा. गिरीका अनुसार रोग देखा परेका बाख्राहरू जिग्रिङ्ग पर्ने, थुतुनो सुख्खा हुने गरेको छ । रोगी बाख्राहरूमा आँखा रातो हुने घाँस, पानी नखाने जस्ता लक्षणहरू पनि देखिने गरेको छ । रोगी बाख्राहरूमा नाकबाट पानी आउने, पीप बगाउने गर्छन् ।

रोगी बाख्राहरूमा नाकभित्र घाउ हुने, मुखभित्र रातो भई ओठ, जिब्रो र मुखभित्र जताततै खटिरा आउने डा. गिरी बताउनु हुन्छ । अन्त्यमा कालो छेर्ने र जलवियोजन भएर मर्ने गर्छन् । रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा.कमल गिरी भन्नु हुन्छ, “रोगको लक्षण देखा परिसकेपछि उपचार गर्न सकिँदैन । पीपीआर रोगलाई रोकथाम गर्न दुई दुई वर्षको अवधिमा खोप लगाउनु पर्छ ।” 

वराहक्षेत्रको वडा नम्बर १ र २ मा गरी ३९ भन्दा बढी बाख्रा मरिसकेका छन् । सङ्क्रमितको सङ्ख्या ३०७ रहेको र जोखिममा ४५ सय बाख्रा रहेको रोग अन्वेषण प्रयोगशाला विराटनगरले जनाएको छ ।