• २ माघ २०८१, बुधबार

भारत सरकारले दिएको राहत सामाग्री भूकम्प प्रभावित क्षेत्र पठाइँदै

blog

प्रभावित जिल्लामा पठाउन भारतीय राहत सामग्री लोड गरिंंदै । तस्बिर: सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक २० गते । भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार आइतबार भारतीय वायुसेनाको विमानबाट नेपालगन्ज ल्याइएको ११ टन राहत सामग्रीसहित यहाँ रहेका अन्य राहत सामग्रीलाई दुई ट्रकमा भरेर पठाइएको छ । 

उहाँले एक ट्रक सामग्री जाजरकोट र एक ट्रक सामग्री रुकुम पश्चिमका लागि पठाइएको जनाउँदै सोमवार नै थप दुई ट्रक सामग्री अरू पनि पठाइने बताउनुभयो । थप सामग्री ट्रकमा लोड गर्ने कार्य भइरहेको पनि प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । उहाँले विभिन्न सङ्घसंस्था लगायत निकायबाट प्राप्त र सरकारी राहत सामग्री पनि प्रभावित जिल्लामा पठाउन थालिएको बताउनुभयो । 

सोमवार भारतले पठाएको सामग्रीहरूमा प्लास्टिक त्रिपाल  ६२५ थान, स्लिपिङ ब्याग १००० थान, ब्ल्याङ्केट १००० थान, टेन्ट ठुलो खालको ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट र औषधि तथा अन्य सामग्री ४८ प्रकारका थिए । 

सो सामाग्रीलाई नेपालगन्ज विमानस्थलमा भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई हस्तान्तरण गर्नुभएको थियो । 

राहत सामग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान अवतरण गरेको थियो भने सोमवार पनि सो विमानले थप राहत सामग्री लिएर नेपालगन्ज आउने भारतीय राजदूतावासले जनाएको छ । 

उद्धार कार्य अन्तिम चरणमा पुगेकोले अब प्रभावित जिल्लाका विभिन्न ठाउँमा प्रभावितलाई बस्ने त्रिपाल, ओढ्ने र ओछ्याउनेलगायत कुराको बढी आवश्यकता देखिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकालले बताउनुभयो । 

उहाँले राहत सामग्री आउने क्रम सुरु भएकोले छिटै साे समस्या पनि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।