• ९ मंसिर २०८१, आइतबार

जैविक प्रविधिमा आधारित अर्थतन्त्र

blog

राष्ट्रको सर्वाङ्गीण विकास र दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो भने विज्ञान तथा प्रविधिको उचित एवं अधिकतम उपयोग नै यसको आधार हो । हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने र नेपाली मुद्रा विदेशीबाट रोक्न हरसम्भव प्रयास गर्ने हो भने नै अर्थतन्त्रलाई बलियो बनाउन सकिन्छ ।

नेपालको अर्थतन्त्र कृषिमा आधारित भएकोले निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायीकरण र आधुनिकीकरण गरेर कृषि उत्पादनमा आत्मनिर्भर हुने र आफ्ना विशेष मौलिक पहिचानमूलक उत्पादनलाई विश्व बजारमा पु¥याउन कोसिस गर्नु पर्छ । हामीले हाम्रो भौगोलिक विविधताको उपयोग गर्दै अन्नबालीमा जुम्ली मार्सी धान, कोदो, फापर, जुम्ली सिमी≤ फलफूलमा मनाङ–मुस्ताङको स्याउ, गोर्खाको सुन्तला, फर्पिङको नासपाती, पहाडी अनि हिमाली भेगमा पाइने साना रङ्गीन रङ्का फलफूल जस्तैः ऐँसेलु, काफल, जामुन, जैतुन, चुत्रो आदिको उत्पादनमा जोड दिनु पर्छ । त्यस्तै गरेर हिमाली भेगमा पाइने जडीबुटीहरू यार्सागुम्बा, जटामसी तथा मसलामा जिम्बु, टिमुर र पशुजन्य उत्पादनमा याक, नाक र च्याङ्ग्रा तथा दुग्ध पदार्थमा भक्तपुरको जुजु धौ दही, दोलखाको चिज आदिको उन्नतोस्तर व्यावसायिक उत्पादन, भण्डारण एवं मौलिकतासहितको आधुनिकीकरण गरी निर्यात गर्न सकियो भने यसले विश्व बजारमा नेपाली पहिचान दिँदै हाम्रो अर्थ व्यवस्थामा पनि थप टेवा दिने छ ।

जैविक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरीय (उन्नत जातका) वस्तु उत्पादन, लामो समयसम्म सञ्चय (भण्डारण), त्यस्ता बहुमूल्यवान् खाद्यवस्तुमा उत्पादनका बेला वा उत्पादनपछि हुन सक्ने जैविक सङ्क्रमण रोकी स्वस्थकर रूपमा विश्व बजारमा पु¥याइँ आर्थिक लाभ लिन सकिन्छ । यसै वर्षको सुरुमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको बेला उपहार प्राप्त उन्नत नश्लका भैँसी र आम्दानीमूलक अन्नबाली जस्तैः उखु र कफीको बीज (जर्मप्जाज्म) प्राप्त गर्न गरिएका अनुरोधलाई ध्यान दिँदै भविष्यमा जैविक प्रविधिको प्रयोग गरी हामी आफैँले त्यस्ता बीजहरूको भण्डारण केन्द्रको क्षमता अभिवृद्धि गर्ने र उन्नत जातका पशुपन्छी एवं अन्नवालीको व्यावसायिक उत्पादन गरेर आत्मनिर्भर भई निर्यातसमेत गर्न सकेमा नै देशको अर्थतन्त्र सुधार्न सकिन्छ । यसै गरी भारत सरकारको सहयोगमा रासायनिक मल उत्पादन केन्द्रको स्थापना गर्ने सम्झौता पनि गरिएको छ । जसले हाम्रो कृषि उत्पादनलाई निकट भविष्यमा निर्यातमुखी बनाउने छ । आजको अर्थतन्त्रमुखी विश्व बजारमा प्रतिस्पर्धा गर्न विज्ञान र प्रविधि विषेशतः जैविक प्रविधिको मुख्य भूमिका रहेकोले यस क्षेत्रमा विकसित मुलुकसँग त्यससम्बन्धी सूचना आदानप्रदान गरी सहकार्य गर्दै अगाडि बढ्नुपर्ने देखिन्छ । 

भर्खरै मात्र नेपालका प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले गरेको भ्रमणबाट चीनमा निर्यात गर्न सकिने वस्तुमा केही थप भए पनि हामीले आफ्ना उत्पादनलाई अझ गुणस्तरीय र स्वस्थकर बनाउनुपर्ने प्रावधान थपिएको छ । हुन त चीन सरकारबाट यस्ता स्वस्थ गुणस्तरका प्रावधान राखिनुपूर्व नै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सिट्रिक फ्रुट्सलाई जीवाणुरहित (भाइरस फ्रि) बनाउने आदि अनुसन्धान गरिरहेकै हो । आगामी दिनमा पनि हामी हाम्रा उत्पादनलाई स्वस्थकर रूपमा निर्यात गर्ने छौँ भन्ने कुरामा पूर्ण रूपमा आशावादी हुनु पर्छ । विदेश निर्यात गर्ने आफ्नो उत्पादनको गुणस्तर वृद्धि गर्न होस् वा स्वस्थकर बनाउन आजको युगमा जैविक प्रविधिको उपयोग यी सबै क्षेत्रमा अपरिहार्य छ । उदाहरण स्वरूप हामीले भर्खर चीनमा प्रशोधित राँगाको मासु निर्यात गर्ने सम्झौता गरिएको हुनु पर्छ तर यसको संरक्षण (प्रिजरभेसन) का लागि चाहिने सिट्रिक एसिड हामी ठुलो परिमाणमा आयात गर्छौं जुन जैविक प्रविधिको विकासले देशमै उत्पादन गर्न सकिन्छ । यसै सन्दर्भमा हामीकहाँ विभिन्न प्रकारका दही उत्पादन भए पनि प्रविधि र विश्वसनीयताको कमीले दही बनाउन प्रयोग हुने स्टार्टर कल्चर हामी प्रत्येक व्याच दही उत्पादनका लागि महँगो मूल्यमा युरोपबाट खरिद गर्छौं भन्ने सुन्दा अचम्म लाग्छ ।

अन्य उदाहरणमा हामी केही मात्रामा प्रशोधित फलफूलको जुस विदेश निर्यात गर्छौं तर जुस शुद्धीकरण गर्न प्रयोग हुने क्ल्यारिफाइङ इन्जाइम (पेक्टिनेज) विदेशबाट महँगो मूल्यमा आयात गर्छौं । यस्ता सूक्ष्म जीवबाट उत्पादन गर्न सकिने एसिड (अम्ल), इन्जाइम आदि देशमै उत्पादन गर्न सके हाम्रो मुद्रा सञ्चित हुने थियो । मदिराजन्य पेयको आयातबाट हामीले राम्रै राजस्व सङ्कलन गरे पनि यसको ठुलो परिमाणमा हुने व्यापारले हाम्रो मुद्रा विदेशिएको छ । नेवारी जात्रा, भोजभतेरमा प्रयोग हुने हाम्रो मौलिक रक्सी (अ‍ैला) र सो बनाउन प्रयोग हुने मना मर्चा (स्टार्टर कल्चर) को उत्पादन र उपभोग सीमित छ । यसलाई पनि जैविक प्रविधिको प्रयोग गरी उच्चस्तरीय बनाई विश्व बजारमा पु¥याउन सके विदेशी मुद्रा आर्जन गर्न सकिने थियो । 

पृथ्वीनारायण शाहको दिव्योपदेश “आफ्ना देशको जिनीस जडीबुटी देश (विदेश) लैजानु र नगद खै“चनु” लाई मनन गर्दा हामीले वैदेशिक व्यापारका माध्यमबाट विदेशी मुद्रा आर्जन गर्न विदेशमा अधिकतम माग भएका चिया, कफी, मसला जस्तै सुकमेल, अलैँची र जडीबुटीको उत्पादन बढाउने मात्र होइन प्रविधिको उपयोग गरी कच्चा पदार्थको निर्यात गर्नुभन्दा प्रशोधित मसला र औषधीको निर्यात गर्न सकियो भने अवश्य पनि बढी आर्थिक लाभ लिन सकिन्छ । हुन त हामीले यसअघि नै पशुका लागि ओसिलो पराल (हेलेज) चीन निर्यात गर्न सुरु गरिसकेका छौँ र हालै चीनमा पन्ध्र वटा औषधीजन्य हर्व निर्यात गर्ने सम्झौता गरेका छौँ । प्रशोधित जडीबुटी जस्तै आर्टिमिसिन (तितेपातीबाट प्रशोधित), स्टिभिया (मिठीपत्ती झारबाट प्रशोधित प्राकृतिक स्विटनर) महँगो मूल्यमा आयात गर्ने गरिएको छ । 

यस्ता औषधीजन्य जडीबुटीको राम्रो प्रशोधन गर्ने प्रविधिको विकास गर्न सकेमा हाम्रो प्राचीन आयुर्वेदलाई आधुनिकीकरण गर्दै हालको चिकित्सा पद्धतीय प्रणालीबाट निको पार्न नसकिएका रोगहरूलाई निवारण गर्न सकिन्थ्यो । त्यस्तै लघु उद्योगको स्थापनामार्फत जडीबुटीको प्रयोग गरी दैनिक उपभोगका सामान जस्तै दन्तमञ्जन, साबुन, स्याम्पु, सौन्दर्यका सामग्री (तेल, व्रिmम आदि) बनाएर ठुलो आर्थिक लाभ लिन सकिन्छ । हुन त खाने तेल पेल्ने उद्योग मल्लकालीन नेपालमै फस्टाएका थिए र पनि हालसम्म यस्ता उद्योगले नेपाललाई निर्यातमुखी बनाउन सकेका छैनन् ।

चिकित्सा विज्ञानको क्षेत्रमा हालै चीनसँग भएको सम्झौताबमोजिम बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर जस्ता जटिल रोगको उपचारका लागि बोन म्यारो प्रत्यारोपण प्रविधिको स्थापना गर्ने कुरा सराहनीय छ । जैविक प्रविधिको प्रयोगद्वारा चिकित्सा विज्ञानका क्षेत्रमा गर्नुपर्ने कतिपय परीक्षण र यस्ता जटिल रोगको उपचारार्र्थ चाहिने कोष तथा तन्तुको उत्पादन तथा प्रयोगको थालनी आफ्नै देशमा गर्न सके अझै राम्रो हुने थियो । हालै मेडिसिटी अस्पतालले आयोजना गरेको ‘पुनर्योजी चिकित्सा र स्टेम सेल’ अन्तर्राष्ट्रिय सम्मेलनबाट हामी चिकित्सा विज्ञानको क्षेत्रमा कोषबाट उपचार गरिने नवीन प्रविधिका क्षेत्रमा कार्य गर्न उत्सुक छौँ भन्ने स्पष्ट रूपमा देखिन्छ । यस्ता क्षेत्रमा लगानी गर्न ठुलो धनराशि चाहिने भएकोले सरकार र निजी क्षेत्रको समन्वय आवश्यक हुन्छ । आशा गरौँ निकट भविष्यमा हामी हाम्रो अर्थतन्त्रलाई बलियो बनाउँदै विज्ञान र प्रविधि विशेष गरी एक्काइसौँ शताब्दीको आवश्यकता जैविक प्रविधिको उचित र यथेष्ट प्रयोग गर्दै देशलाई आत्मनिर्भर बनाउन अग्रसर हुने छौँ ।  

Author

डा. सुरेश सुवेदी