काठमाडौं, कात्तिक १९ गते । जाजरकोट र रुकुम पश्चिम लगायतका विभिन्न जिल्लामा आएको भूकम्पमा परी ज्यान गुमाएका एक सय ५७ वटा शव आफन्तले बुझेका छन् ।
गृह मन्त्रालयका अनुसार जाजरकोटमा महिला ७२ र पुरुष ३३ जना गरी एक सय पाँच जना र रुकुम पश्चिमका महिला २७ र पुरुष २५ गरी ५२ जनाले भूकम्पमा परी ज्यान गुमाए । घाइते भई भेरी अस्पतालमा उपचाररत जाजरकोटका थप एक जनाको आइतबार निधन भएको छ ।
मन्त्रालयका अनुसार घाइते हुनेमा जाजरकोटका ६८, रुकुम पश्चिमका ७०, जुम्लाका दुई, सल्यानका एक, प्युठानका दुई र बैतडीका दुई गरी जम्मा एक सय ४५ जना महिलाको उपचार भइरहेको छ ।
यसैगरी जाजरकोटको ३८, रुकुम पश्चिमका एक सय ३४, दैलेखको तीन, जुम्लाको तीन, सल्यानको दुई, अर्घाखाँचीको एक, रोल्पाको एक, प्युठानको एक र बैतडीको एक गरी जम्मा उपचाररत पुरुषको सङ्ख्या एक सय ११ रहेको छ ।
यसमध्ये जाजरकोटका ४६, रुकुम पश्चिमको ८९, दैलेखको दुई, जुम्लाको तीन, रोल्पाको एक, प्युठानको दुई र बैतडीका तीन गरी आइतबार अपराह्नसम्म जम्मा एक सय ४६ जना डिस्चार्ज भएका छन् ।