• २ माघ २०८१, बुधबार

भूकम्प प्रभावितलाई एमालेले एक करोड रुपियाँ सहयोग गर्ने

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । 

जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिम जिल्लामा ठूलोमात्रामा धनजनको क्षति भएपछि पीडितहरुको उद्धार, राहत तथा व्यवस्थापनका लागि सो रकम पार्टीको तर्फबाट सहयोग गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । 

पार्टी पङ्ति भूकम्प प्रभावित क्षेत्रमा उद्धार र व्यवस्थापनका लागि परिचालित भइसकेको र त्यसमा थप सहयोग गर्न एमालेले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिनुभयो । जाजरकोट र रुकुमपश्चिमका संयौं नागरिक पीडित भइरहँदा सिङ्गो मुलुकको सहयोगको खाँचो रहेको बताउँदै उहाँले सबैलाई सक्दो सहयोग गर्न आग्रह गर्नुभयो । 

हिजो राति गएको भूकम्पबाट अहिलेसम्म १५७ जनाको ज्यान गइसकेको छ । १९७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पीडितको उद्धारका लागि एमालेका नेता तथा कार्यकर्ता प्रभावित क्षेत्रमा परिचालित भइसकेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।