• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

गोधूलिको रमणीय कथा लेख्न सक्दैन मान्छे

अन्धकारको दुष्प्रभाव छेक्न सक्दैन मान्छे

झमक्क साँझ पर्दा नपर्दै मुख छोपेर सुत्यो भने

आकाशमा चम्किने तारा पनि देख्न सक्दैन मान्छे ।

            

धेरैको मुखमा चपाउँदै गरेको पानै देख्छु

राजनीतिक सागरमा मिलन र दोभानै देख्छु

देश डुब्यो डुबाए भनेर जत्ति कराए पनि

खै म त जसलाई हेर्यो उसलाई ओभानै देख्छु ।

         

न उसलाई लाज छ, न सरम छ

न आन्तरिक तागत छ, न दम छ

व्यर्थै अरूलाई होच्याएर बोल्छ ऊ

जसको आफ्नै आत्मविश्वास कम छ । 


जनअधिकार माथि डोजर गुडाउने

मित्रता र सहिष्णुताको डोरी चुँडाउने

अब यस्तो हरकत छोड्नु पर्याे हजुर !

नैतिकता र मर्यादाको धज्जी उडाउने ।

          

प्रसाद मानेर अभक्ष वस्तु खाँदै खाइँदैन

कागजको फूलमा अत्तर छरेर लाइँदैन

मन्दिर भित्र जाँदा मनै झुकाउनु पर्छ मित्र

मात्र शिर झुकाउँदैमा वरदान पाइँदैन ।

Author

तीर्थराज अधिकारी