• १३ असोज २०८१, आइतबार

नियात्रा

मुक्तिनाथमा उडेका पाइला

blog

मुक्तिनाथ जाने हो ? जाने भए जाउँ । सिट खाली छन् । तिहारको पूर्वसन्ध्यामा आफन्तले मुक्तिनाथ यात्राको प्रस्ताव लिएर आउँदा उत्साहित हुँदै भनेकी थिएँ– आहा ! त्यत्रो तीर्थ जान पाए किन नजानु । धेरै अघि मुक्तिनाथ जान मन लागेपनि योजना नै बुनेकी त थिइनँ । समयले खटाएपछि योजना आफैँ बन्दो रहेछ ।

एकैछिनमा खुसीसँगै चिन्ता पनि आयो । मन छट्पटिन थाल्यो । जान त भनेँ तर कसरी जाने ?  त्यसै गइँदैन पैसोको जोहो पनि गर्नु पर्याे । मास्टरको घरमा दशैँले भर्खरै बिदा मागेको थियो तिहार ढोकामै टुपुल्किन खोज्दै थियो । यात्रामा  छोरीहरू पनि जाँदैछन् । उनीहरूलाई लिएर हिँड्दा आफू आधुनिक अभिभावक बन्नैपर्छ । पैसोको जोहो गरेपछि हिमाल हेर्न हिमाल झैँ मुस्कुराएँ ।

मुस्ताङ जाने अघिल्लो रात सामानको पोकोपन्तुरो मात्र होइन उत्साह, रोमाञ्चकताका साथै डर र त्रास पनि समेटिँदै थिए । कात्तिकको महिना काठमाडौँलाई नै चिसोले छोपिसकेको छ । अझ मुस्ताङ कस्तो होला घरपरिवारमा बहस चलिरहेथ्यो । लेक लागेर दुर्घटना भएका समाचार सुनाउनेहरूको कमी थिएन । एक मनले हरेस पनि खाइसकेको थियो । यात्रा स्थगित गर्नु पर्छ कि क्या हो भनेर । तर सावधानीका साथ जान उपयुक्त सल्लाह र सुझाव दिनेको पनि कमी थिएन । लसुन र टिम्मुर बोक्यौँ । उचाइमा जाने अनुभव नभएकाहरूको टोली थियो यो ।

बिहानको ७ बजे रातो टीका निधारमा टल्काउँदै काठमाडौँको गुर्जुधाराबाट रातै स्कर्पियो चढ्यौँ । गाडी कुद्न थाल्यो । थानकोट नकट्दै एउटा कारलाई छुस्स हाम्रो गाडीले छोयो तर हल्लाखल्ला भएन । थानकोट भञ्ज्याङ कट्दासम्म कारवालाको दोष दिँदै थियौँ हामी । नागढुङ्गाको नागबेली बाटोमा गाडीहरूको ताँती चलायमान छ । धन्न जाम खुलेको दिन थियो ।

बिहानको खान खान करिब १० बजे मलेखु पुग्यौँ । गाडी होटल अगाडि  रोकिएको मात्र के थियो; थानकोटमा छोइएको कार पछाडि आएर टक्क रोकियो । आँखा रातो पार्दै गाडीबाट फुत्त एउटा केटा बाहिर निस्केर निहुँ पो खोज्न थाल्यो । केही रकम दिएर विवाद मिलायौँ ।  यात्रामा हिँडेका हामीलाई त्यो लफडामा फस्न मन थिएन । त्यसैले हाम्रो ध्यान होटलका मीठो र स्वस्थ्यवर्धक खानातिर मोडियो । निकै स्वादिलो खाना खाएर बाटो लाग्यौँ ।

हाम्रो गाडी त्रिशूली सँगसँगै बगिरह्यो । मुगलिन पुगेपछि त्रिशूलीले मस्र्याङ्दीलाई अँगालो हाल्यो । हामी पनि त्रिशूलीलाई छोडेर  मस्र्याङ्दीको तीरैतीर हुइँकियौँ । आँबु खैरेनी, घाँसे कुवा, सिर्कन भञ्ज्याङ्, डुम्रे, दमौली, दुलेगौंडा हुँदै लेखनाथ नगरपालिकामा अवस्थित बेगनास तालमा एकैचोटि उत्रियौँ ।

निलो आकाश छातीमा बोकेर बेगनास ताल मुस्कुराइरहेको छ । डुङ्गा चढेर केहीबेर तालको धड्कन सुन्ने कोसिस गर्यौं । डुङ्गा चालक एकजना दिदी हुनुहुन्छ । दिदीलाई हेरेर पक्क पर्दै सोच्न वाध्य भएँ – नारी काँतर र डरपोक हुन्छन् भन्ने कुरा त परिस्थितिले निर्धारण गर्ने रहेछ । निर्भिक र निडर दिदीको हिम्मतले बलिष्ठ भएका हातहरूमा मेरा नजर ठोकिए । दिदीको उज्यालो मुहार देखेर सोच्दैछु– ‘डाडु र पन्यु मात्र चलाउने हात होइनन् नारीका, यी परेका बेला अनन्त पीडा हृदयमा बोकेर पनि हाँस्दै पाखुरी चलाउने वीरङ्गना हो नारी ।’ हेरिरहेकी छु दिदीका अदम्य साहसलाई । बेगनासको भन्दा बढी पानी दिदीको आँखामा अटाएका छन् । कैयौँ बेगानास छातीमा लुकाएर मुस्कुराउँदै बेगनासकै पानीमाथि ओभानो भएर तैरिरहेकी छन् दिदी । सकुशल ढुङ्गा खियाएको देख्दा निकै रमाइलो लाग्यो ।

‘यो बिशाल तालमा जसरी डुङ्गा चलाउँछु त्यसरी नै जीवनमा डुब्नै लागेका कैयौँ सम्बन्धहरूको डुङ्गालाई पनि हाँसीहाँसी तार्न सक्छु’, नीला गिजा देखाएर फिस्स हाँस्दै भन्नु भयो दिदीले । नारी कमजोर छैनन् भन्ने विश्वास अझै मौलायो । लगभग चालीस पुगेकी दिदीका गालामा चाउरी अलि बढी नै देखिन्थे ।

‘आमा मरे भने बच्चामात्र होइनन्, बा पनि टुहुरो भएर आमा खोज्दै हिँड्छन् तर बा मरे आमा नै बा भएर परिवारलाई छहारी दिन्छन् नानी’, दिदीका यी कुरा गर्भेटुहुरी मैले अझ राम्रोसँग बुझ्न सक्थेँ । हृदयबाट दिदीलाई सलाम गर्दै बेगनासको छेउमा बसेर झोला खोतल्न थाल्यौँ । भोकले पेट हुँड्ल्न थालिसकेको थियो । काठमाडौँबाट ल्याएका रोटी, आलुको कवाफ, चटनी, मुरब्बा र पानी  ह्वाहर््वार्ती बाहिर आए ।

मुस्ताङबाट फर्किंदा पोखरा घुम्ने पक्कापक्की गरेर कास्की र बागलुङको त्यो सुन्दर सडकमा सरर गुड्दै छौँ हामी । मनोरम दृश्यावलोकनहरूलाई पछाडि पार्दै एकनासले हाम्रो गाडी बत्तिरहेको छ । पर्वत जाने बाटो हेर्दै अगाडि बढ्दा झमक्क साँझ पर्यो । म्याग्दीको बेनीमा बास खोज्दैछौँ हामी । होटलको चौथो तलाको एउटा ठुलो कोठामा सबै अटायौँ । होटल पुरै भरिभराउ छ । तातो खाना सबैले सोही होटलमा खायौँ ।

भोलिपल्ट बिहान ५ बजे नै बेनीबाट अघि बढ्ने सोच लिएर अँध्यारोमा बाटो पहिल्याउँदै अघि बढ्दैछौँ । गलेश्वर महादेव मन्दिर नगिचै पुगेका मात्र थियौँ । गाडीमा इन्धन भर्नुपर्ने कुरा भयो । नजिकैको पम्प चाँडै नखुल्ने पक्का भएपछि गाडी पुनः बेनीतर्पm फर्काइयो । तर अर्को पेट्रोल पम्प पनि ६ बजे मात्र खुल्ने जानकारी प्राप्त भयो । हामी ६ बजेसम्म प्रतीक्षा गर्न बाध्य भयौँ । तेल भरेपछि मात्र बढ्यो अगाडिको यात्रा । डरलाग्दो बाटो सुरु भयो ।

करिब दुई घण्टापछि तातोपानी पुग्यौँ । यहाँ करिब एक घण्टा तातोपानीमा डुबुल्की लगायौँ । चिसो ठाउँमा प्राकृतिक तातोपानीको उपलब्धताको रहस्य पक्कै रासायनिक हुनुपर्ने ठहरका साथ हामी अघि बढेयौँ । 

कहालीलाग्दो यात्रा महसुस हुन थाल्यो । मनोरम अनि रमणीय भीमकाय भौगोलिक छटाहरू हेर्दा जतिजति रोमान्चित बनाउँदै लैजान्थ्यो, उतिउति जोखिमपूर्ण र खतरनाक बाटोले मुटु हल्लाउँदै लग्यो । म्याग्दी जिल्ला पार नहुन्जेल यस्तै हाल रह्यो हाम्रो । विविधतायुक्त विकराल भूगोल आँखाले हेर्दैछ । पहिरो जान सक्ने भीर छ ठाउँठाउँमा । सडकमाथि पहिरो झर्न सक्ने धेरै अग्ला अग्ला पहाडै पहाडको शृङ्खला छन् । सडक तल ज्यादै गहिरो कालिगण्डकी सुसाइरहेकी छन् ।  खाल्डाखुल्डी भएको उकाली ओराली सहितको साह्रै साँगुरो बाटो भएर, लर्बराउँदै, लर्खराउँदै छौँ । हत्केलामा ज्यान लिएर यात्रा गरेको अनुभूति मिल्दैछ ।

अब हिमाली क्षेत्रमा प्रवेश गर्दै छौँ । अचानक पहिलो पटक आँखा अगाडि सेतो हिमाल ठ्याक्क मुस्कुराउँदा हामी जोडले चिच्याउन पुग्यौँ । खाली हिमालको टुप्पो हेरेर हिमालको बखान गर्दै आएका हामी, आँखै अगाडि ह्वात्तै हिमाल देख्दा कहालिने भइइहाल्यौँ । हिमालमा त हिउँ मात्र होला भन्ठानेकी थिएँ तर काला पत्थरैपत्थर बोकेको विशाल चट्टानको पहाडमा पो हिउँ थपथप बस्दो रहेछ । हिमालका जरा, छाती जम्मै काला थिए । घाँटीदेखि टाउकोसम्म मात्र हिउँ थुप्रो लागेको देख्दैछु । सायद हिमालले भन्न खोज्दै छ – प्रकृतिविरुद्धका मानवीय कार्यहरूको असर – ‘लौ हेर ! हाम्रो शरीरबाट हाम्रा सेता वस्त्र लुछेर हामीलाई नाङ्गो पार्दैछौ  ।’

मेरो मुटु चिसो भयो । ओहो ! साँच्चै हिजोको हिमाल यस्तै थियो त ? प्रकृतिविरुद्धका हाम्रा बलात् कार्यहरूले भोलिका पुस्ताहरूलाई हिमालको सौन्दर्य प्रत्यक्ष देखाउन सकौँला ? डरले हो कि हिमाल देखेर हो मलाई जाडो बढेको अनुभव हुँदै छ । मुटु जाडोले भन्दा भविष्यको डरलाग्दो अवस्था सम्झेर काँप्दै छ सायद ।

हिमाल हेर्दै लेतेमा उभिएका छौँ । उबडखाबड बाटोले हल्लाउँदै ल्याएको पेट खैँजडी भएको छ । रायो सागको बास्ना होटलको द्वारमै सुवासित भयो । स्वादिष्ट शाकाहारी खाना थपीथपी खायौँ ।

के उल्का घरमा खानेभन्दा दोब्बर पो खाइयो बाबै ! होटल परिसरबाट बाहिर नियाल्दा अद्भुत दृष्य हेर्दैछौँ । त्यो डरलाग्दो बाटोमा बिदेशीहरू लामबद्ध भएर साइकल कुदाउँदै छन् । त्यो साइकल जुलुसमा बच्चाहरू पनि सामेल छन् । छक्क परेर हेर्दैछु हिम्मतको अर्को हिमाल । 

हामी म्याग्दीलाई बाईबाई गरी मुस्ताङ प्रवेश गरिसकेका छौँ । बाटोको हिसाबले थोरै राहत महसुस भएपनि घरीघरी बाटोको बेहाल दृष्य अझ आँखामा गोचर हुन छाडेको छैन । तथापि मुस्ताङ हुँदै अघि बढ्दा, हाम्रो खुशी भने क्रमशः बढ्दो छ ।

काली गण्डकी ठाउँठाउँमा हाम्रै धरातल भएर बगेकी छन् । गाडीको पङ्ग्राले नदीलाई स्पर्श गर्दा बढो आनन्द आइरहेको छ । यसरी मिश्रित अनुभूतिका साथ अद्भूत प्रकृतिलाई साक्षात्कार गर्दै जसै अघि बढ्दै गयौँ, कता कता हामीले गोचर गरेको दृश्य स्वर्गमा रुपान्तरण भएझैँ महसुस हुन थाल्यो । हिमाल हाँसेको सुनेकी थिएँ; आज देख्दै छु । भीषण खैरो रङको अद्भूत मरुभूमि बोकेर पहाडले बेग्लै सौन्दर्य फैल्याएको छ । प्रकृतिको जादू हेर्दै छु । हिमालको काखमा मरुभूमिको कलाकृति बेजोडको छ । सुक्खा जमिनभित्र गुलियो, रसिलो स्याउको खजाना छ । लटरम्म राता, हरिया स्याउ बोकेका बोटहरूले हामीलाई मुस्कुराउँदै स्वागत गदै छन् । जोमसोम, कागबेनी भएर मुक्तिनाथ पुग्ने आधार स्थल पुग्दा दिउँसोको ४ बजिसकेको छ । तसर्थ भोलि बिहान मात्र मन्दिर जाने निर्णय हुँदैछ र पुनः कागबेनी फर्किएका छौँ । कागबेनीमा धर्मशाला पनि रहेछ बस्न र खानलाई तर केटाकेटीको रहर अन्तै बस्ने  बुझिँदै छ ।  त्यसैले नजिकैको होटलमा खाना खान र बास बस्न पुगेका छौँ । 

अर्को दिन ६ बजे बिहानै निस्कियौँ कागबेनीबाट मुक्तिनाथतर्फ । हाम्रो समूहका तीन जनालाई लेक लागेरै छोड्यो । हिँड्न सकेनन् । लल्याकलुलुक भए । मन खिन्न भयो । कागबेनीबाट मास्तिर लाग्दा ओहो ! बडो काइदाको सडकले मोहनी लगायो । गाडीबाट झरेर निकैबेर रमायौँ । अब हामी मुक्तिनाथ मन्दिरको गोडामा उभिएका छौँ । ३० मिनेटको उकालो हिंडेपछि मन्दिर पुगिने रहेछ । घोडा चढेर जान उत्पुलक भयौँ । हिरोहरूको नामधारी घोडाहरू हामीलाई बोकेर हिँड्न थाले लमकलमक । १५ मिनेट पछि त, घोडा चढेकाले पनि ओर्लेर १५ मिनेट हिंड्नै पर्ने पो रहेछ मेरा बा ! 

मुक्तिनाथ मन्दिर आँखै अगाडि छ । अब मन त्यसैत्यसै फुर्किएको छ । चिसो मज्जाको छ तर पनि मन तातेको छ । पालैपालो सबै धाराको धेरै नै चिसो पानीले मुख धुँदै, टाउकोमा छ्याप्दैछौँ । अचानक मेरा खुट्टा हिउँमा चिप्लिए । म त सुरुली खेलेको झैँ सुलुलु चिप्लिएँ । धन्न चोट लागेन । चिसो पानीको कुण्डमा मुक्त हुन अरू भक्तजनहरू डुबुल्की मार्दै गरेको दृष्य गजबको छ । मुक्तिनाथ बाबाको दर्शन आनन्दले गरेपछि निकैबेर हृदय आल्हादित भयो । चिसोले थरथर काँपेको देखेर होला मुक्तिनाथ बाबाले सुटुक्क भन्नु भयो, ‘आशीर्वाद छ अनु ! जाऊ बा, जाऊ ! जाने मान्छेले अबेर गर्नु हुँदैन, किन चिसोमा सेक्किनु जाऊ अब ।’ झसङ्ग भएँ हतारहतार मुक्तिनाथ बाबालाई हृदयमा बोकेर ओरालो लाग्दैछौँ । बाटोको देब्रेतर्फ  दृष्टिगोचर भयो बुद्धको ठूलो शालिक । मनमोहक, चित्त आकर्षक बुद्धको त्यो शालिक हेरिरहुँजस्तो छ । त्यो रहर पनि पूरा गर्न पछि परेनौँ । मुक्तिनाथको त्यो अलौकिक वातावरण छोड्न पटक्कै मन थिएन तर जीवन गुजाराले जेलिएपछि एकै ठाउँमा मात्र त कहाँ अडिन्थ्यो र जीन्दगीको रथ । मन, मटु र मस्तिष्कभरि तस्बिर साँच्दै मुक्तिनाथको थुम्कोबाट फर्किएँ । 

Author

अनिता कोइराला