मकवानपुर समाचारदाता
हेटौँडा, कात्तिक १८ गते । मकवानपुरमा शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका करिब ३५ हजार पाँच सय जना बालबालिका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार र शनिबारका लागि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन हेटौँडा उपमहानगरपालिकामा ९२, मनहरी गाउँपालिकामा २१, राक्सिराङ गाउँपालिकामा ३८, कैलाश गाउँपालिकामा ४२, भीमफेदी गाउँपालिकामा ५०, बागमती गाउँपालिकामा ३२, बकैया गाउँपालिकामा ६५, मकवानपुरगढी गाउँपालिकामा ४०, इन्द्रसरोवर गाउँपालिकामा ३७ र थाहा नगरपालिकामा ५४ जना स्वयम्सेविका परिचालन गरिएको छ ।
जुकाको औषधी खाने एक वर्षदेखि पाँच वर्ष उमेरका बालबालिकाको सङ्ख्या ३० हजार ८६२ रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । सरकारले भिटामिन ‘ए’ खुवाउने निर्धारित समय कात्तिक २ र ३ गते तोके पनि यस वर्ष दसैँका कारण भिटामिन ‘ए’ कार्यव्रmम कात्तिक १७ र १८ गतेका लागि तय भएको हो ।
यसैबिच हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हेटौँडा–११ नवलपुरको त्रिभुवन माध्यमिक विद्यालय खोप केन्द्रमा पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनुभएको छ । उपमहानगरपालिका स्वास्थ्य शाखामार्फत सञ्चालित खोप केन्द्रमा शुव्रmबार पुगेर नगर प्रमुख लामाले छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउनुभएको हो ।
उपमहानगर क्षेत्रका ९२ वटा केन्द्रमार्फत शुक्रबार र शनिबार दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको छ । खोप केन्द्रमा नगर क्षेत्रमा महिला स्वयम्सेविका र आमा समूहमा प्रतिनिधि संलग्न भएर कार्यक्रम सञ्चालन गरेको उपमहानगर स्वास्थ्य शाखाका सिनियर अहेव केशव तिमल्सिनाले जानकारी दिनुभयो । उपमहानगरको १९ वडामा रहेका १२ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने छ ।