• ९ मंसिर २०८१, आइतबार

सम्झनामा बाँचेको गाउँ

blog

‘उन्नतिका लागि आफूले जन्मेको ठाउँ छोड तर नबिर्स,’ भन्ने भनाइ छ । नभन्दै, पहिला गाउँमै जन्मेर अहिले विभिन्न क्षेत्रमा ख्याति कमाएका अधिकांशले आफू जन्मेको गाउँठाउँ छोडेका छन् तर तिनले आफ्नो जन्मथलो बिर्सेका चाहिँ छैनन् । आफ्ना बाउबाजेको थातथलो, रगतपसिना पोखिएको ठाउँ, आफू जन्मे हुर्केर खेलेको गाउँठाउँ कसलाई प्यारो लाग्दैन र ! सपनामा पनि आइरहन्छ । त्यसैले होला, सहर बस्न पुगेका सहरियाहरूले मात्र होइन; संसारको अर्कै गोलाद्र्धमा पुगेकाहरूले पनि आफू जन्मेको गाउँको बारेमा चासो गरिरहन्छन् । आजको अत्याधुनिक सूचना प्रविधिको जमानामा जानकारी पाउन पनि सजिलो भएको छ । 

सिद्धिचरण श्रेष्ठले आफू जन्मेको ठाउँ बिर्सन नसकेर ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता लेख्नु भयो । त्यो कविताले उहाँलाई त चर्चित बनायो नै, एउटा पहाडी जिल्ला ओखलढुङ्गालाई पनि सर्वत्र चिनायो । युगकवि सिद्धिचरण मात्र होइन कवि शिरोमणि लेखनाथ पौड्याल, राष्ट्रकवि माधव घिमिरेलगायत धेरै कवि/लेखकले समेत आफू जन्मेको ठाउँको बारेमा कतै न कतै बयान गरेकै छन् । 

दुःख परेको बेलामा मित्र आफन्तको सम्झना आउँछ । त्यस्तै, आफ्नो जन्मभूमिको माया जीवनकालको अन्त्यमा अझ बढी नै हुँदो रहेछ क्यारे ! २०७५ सालमा दिवङ्गत प्रसिद्ध डाक्टर उपेन्द्र देवकोटाले आफ्नो अन्तिम अवस्था आएको थाहा पाएपछि आफू जन्मेको गोरखा जिल्ला पालुङटार नपा–४ पण्डितगाउँस्थित सिस्नेधाराको पानी खाने इच्छा व्यक्त गर्नुभएको थियो । हेलिकप्टरद्वारा पु¥याएर भए पनि, उहाँको अन्तिम इच्छा पूरा गरिएको उक्त प्रसङ्ग कति कारुणिक छ ! त्यो कुरा सुन्दा, आ–आफ्नो गाउँलाई सम्झनामा सीमित राख्ने धेरैलाई भावुक बनाएको हुनु पर्छ । 

जीवनको अन्त्यतिर पहाडबाट तराई बसाइँ जानु परेकोमा एक जना आमालाई साह्रै चित्त दुखेको रहेछ । सिकिस्त बिरामी भएर लगभग होस हराएपछि उनले छोरालाई, “बाबु, मलाई मेरो जन्मथलो पहाड गाउँ लगिदे !” भनिछिन् । पहिला त छोराले टार्दै लगेछ तर आमाले रुँदै एकोहोरो ढिपी गर्न नछाडेपछि छोराको पनि चित्त काटिएछ । रोग र बिमारले सिन्का भइसकेकी आमालाई छोराचाहिँले बच्चालाई झैँ बोकेर घरबाट निकालेछ ! बोकेर परपरसम्म पु¥याएछ ! आमा बेलाबेलामा “गाउँ पु¥याइस् ?” भनेर सोध्दी रहिछिन् । छोराचाहिँ, “अब आइपुग्नै आँट्यो आमा !” भन्दो रहेछ ! दिनभरि बोकेको छोराले आमालाई चुरे क्षेत्रको जङ्गलनजिकै पु¥याएको रहेछ । बेलुकीपखको समय । केही चिसो हावा पनि चल्न थालेछ । छोराले त्यत्तिकै पनि, “बल्ल पु¥याएँ 

आमा ! ल हेर्नुहोस् त तपाईं हाम्रो घर ! छाना त लड्नै पो लागेछ त !” भनिदिएछ । आँखा चिम्लिरहेकी आमाले अकस्मात् आँखा खोलेर बाहिर हेरेपछि फुस्सै सास गएछ ! 

आफू अल्लारे उमेरको हुँदा घर छोडेको तर बुढेसकाल लागेपछि जन्मभूमिको मायाले छोराको ढाडमा बुइ बोकिएर आई दुई दिनसम्म आफ्नो जन्मभूमि वरिपरि हेरेर/डुलेर फेरि उसै गरी रुँदै फर्र्र्किएका पितृ बुढालाई त यही पङक्तिकारले देखेको थियो ! ती बुढाले आफ्ना छोरालाई कति कर लाए होलान् जन्मथलो लैजा भनेर ! यस्ता धेरै उदाहरण हुन सक्छन् ।

हुन पनि नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यहाँ सहरहरू पनि छन् तर सहरको सङ्ख्या धेरै कम छ । त्यसैले नेपालको विकास भन्नु नै हाम्रा गाउँहरूको विकास हो । लोकप्रिय नेता बिपी कोइरालाले “सिंहदरबारमा राजाको होइन, गाउँले किसानको तस्बिर टाँस्नू र कुनै पनि योजना बनाउने बेलामा त्यही तस्बिर हेरेर बनाउनू” भन्नुभएको थियो रे । यस भनाइबाट उहाँको सच्चा राष्ट्रियता र गाउँबस्तीप्रतिको पे्रमभाव झल्किन्छ । शायद, बिपीको यही कुराबाट पाठ सिकेर वा त्यसैको सिको गरेर हो कि, राजा महेन्द्रले ‘गाउँ फर्क राष्ट्रिय अभियान’ को अवधारणा र कार्यक्रम नै ल्याएका थिए । त्यसपछिका दिनमा यही नामबाट अभियानै नचलाइए पनि गाउँको विकासलाई प्राथमिकता दिनु पर्छ, त्यहाँ पनि मानिसलाई टिकाइराख्नु पर्छ भन्ने कुरा महसुस गरियो । ‘आफ्नो गाउँ, आफैँ बनाऊँ’, ‘ग्रामीण स्वावलम्बन’ जस्ता नाम लिएर आएका कार्यक्रमले गाउँको विकासलाई नै महत्व दिएका हुन् । यसरी, हरेक पछिल्ला सरकारले गाउँको विकासलाई सकेसम्म महत्व दिँदै आएको छ । अझ अहिले पछिल्लो सङ्घीय गणतन्त्रको समयमा त ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने लोकप्रिय नाराका साथ सर्वाधिकारसम्पन्न स्थानीय सरकार नै बनेको छ ।

देशमा भ्रष्टाचार बढेको छ । व्यापार घाटा छ । प्रतिव्यक्ति ऋण दायित्व बढेको छ । यस्ता कुरा हुँदाहुँदै पनि पहिलाभन्दा गाउँमा विकास पनि धेरै नै भएको छ । त्यहाँ, सञ्चारको सुविधा पहिल्यै पुगेको हो । धेरै ठाउँमा सडक पुगिसके । बिजुली विस्तार भइरहेको छ । एनजिओ आइएनजिओले पनि विकास कार्यमा केही न केही सहयोग गरेका छन् । गरिबीको रेखामुनि रहेका गाउँलेको जीवनस्तर सहज बनाउन तीन तहकै सरकारले विभिन्न कार्यक्रम ल्याएका छन् तर पनि गाउँप्रति मानिसहरूको स्थायी मोहचाहिँ बढ्न सकेको छैन । सहरमा बसाइँ जाने जत्ति पनि छन् तर गाउँतिर बसाइँ जाने कोही पनि छैनन् । 

वास्तवमा गाउँ एक प्रकारले स्वर्ग नै हो । गाउँले जीवनको सौन्दर्य बयान गरिन्छ । गाउँका बारेमा कविता लेखिन्छ । स्वच्छ वातावरण र परिश्रमी गाउँले जीवनको धेरै प्रशंसा गरिन्छ । गाउँका अग्र्यानिक उत्पादन सहरमा आजकल ओखती ठानिन्छन् । गाउँमा उब्जेका कोदो, मकै, फापर, गहुँ, भटमास, मासको सहरमा धेरै माग छ । घिउ, महको खुब चाह गरिन्छ तर बस्तीबाट बजारतिर, दाउराबाट ग्यासतिर, अग्र्यानिकबाट जङ्कफुडतिर रत्तिन थालेको गाउँ बिस्तारै रित्तिन थालेको छ । कति दुःख/खर्च गरेर कसकसको सिप र पसिनाले बनेका ठुला ठुला पुरातात्त्विक महत्वका घरहरूदेखि लिएर पछिल्लो समयमा बनेका भूकम्पे घरसमेत धराशायी बन्दै छन् । त्यहाँ बस्न भनेर फर्किजाने वा बसाइँ जाने कोही पनि पाइँदैनन् । अब त आफ्नो जन्मथलो हेर्नका लागि आफैँ पर्यटक बन्नुपर्ने अवस्था आएको छ । 

एउटी चरी उड्दै उड्दै जतिसुकै सुन्दर ठाउँमा पुगी भने पनि उसलाई प्यारो त आफैँले बनाएको गुँड नै हुन्छ त्यही भएर ऊ आफ्नै गुुँडमा फर्कन्छे तर हामीलाई फर्कन गाह्रो भएको छ । यसरी हाम्रो प्यारो गाउँ अब सम्झनामा मात्र बाँच्न थालेको छ । 

  

Author

इन्द्रकुमार श्रेष्ठ