जुम्ला समाचारदाता
जुम्ला, कात्तिक १५ गते । जुम्लामा खस भाषाको चलचित्र ‘गोठ’ प्रदर्शन भएको छ । स्थानीय हास्यव्यङ्ग्य कलाकार गरिकुडाका जोडीको प्रस्तुतिमा खस भाषाको चलचित्र ‘गोठ’ प्रदर्शन गरिएको हो ।
स्थानीय कलाकार आयुष शाही कथा निर्देशनमा कलाकारहरू खस भाषामा टिकटकमा गरिकुडाबाट चर्चित जोडी बिर्खबहादुर महत, लक्ष्मी खत्री, कलाकार यशोदा देवकोटा, स्वागत शाही, तुल्सी विश्वकर्मा, वसन्त विश्वकर्मा, सरगम शाही, मिमबहादुर शाहीलगायतले चलचित्र गोठमा भाग लिनुभएको छ ।
चलचित्र ‘गोठ’ मा कर्णालीमा कुप्रथाका रूपमा रहेको छुईप्रथाले महिला गोठमा बस्न बाध्य हुने र त्यस कारणले महिला असुरक्षित भइरहने विषयलाई प्राथमिकतामा राखिएको छ । जुम्लामा दुई चलचित्र प्रदर्शनपछि कालीकोटमा देखाउने तयारी भइरहेको कलाकार बिर्खबहादुर महतले जानकारी दिनुभयो । उहाँका अनुसार छाउपडीको अवधिमा गोठमा बस्न बाध्य महिलाको समय समयमा बलात्कार हुने, सर्पले डस्ने, बालविवाह हुने घटना बढिरहेकाले सचेतना दिन ‘गोठ’ चलचित्र आएको हो ।