• ४ असार २०८२, बुधबार

मुआब्जा विवादले पुल अलपत्र

blog

बरहथवा नगरपालिका १२ मा अलपत्र रहेको नवनिर्मित सोतीखोलाको पुल र छेउमै जीर्ण अवस्थाको साँघुरो पुलबाट सवारी साधन आउजाउ गर्दै । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, असार ४ गते । नयाँरोड–बरहथवा–मधुवनी सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–१२, पुरैनियाँस्थित सोतीखोलामा पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । 

रामध्यान टोल पुलसमेत भनिने सोतीखोलाको यो पुल निर्माण गर्न चार करोड रुपियाँभन्दा बढी बजेट खर्च भएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगको प्रमुख राजमार्गमा निर्माण भएको पुल जग्गाधनीले जग्गाको मुआब्जा माग गरेर अदालतबाट निषेधाज्ञा जारी गराएपछि अलपत्र परेको हो । 

पुल निर्माणको काम पूरा भइसके पनि पहुँच सडक (एप्रोच रोड) बन्न बाँकी छ । पुलको उत्तरतर्फको भागमा पहुँच सडक निर्माण गर्ने क्रममा एक स्थानीयले सडकमा पर्ने आफ्नो १६ धुरभन्दा बढी जग्गाको मुआब्जा माग गरिरहेको हुलाकी सडक आयोजना जनकपुरले जनाएको छ । 

पुल बनेको जग्गा र पुलको दक्षिणतर्फको पहुँच सडक बनेको जग्गा भने ऐलानी हो तर उत्तरतर्फ भने व्यक्तिगत जग्गा परेपछि समस्या उत्पन्न भएको छ । जग्गाधनीले आफ्नो जग्गाको मुआब्जा पाएपछि मात्रै सडक बनाउन दिने अडान छाड्नु भएको छैन । 

हुलाकी सडक आयोजना जनकपुरका इन्जिनियर रञ्जितकुमार रायले दुई वर्षअघि नै पुल तयार भएको तर उत्तरतर्फको भागमा एपरोज रोड बनाउन खोज्दा जग्गाधनीले अवरोध गरेपछि समस्या भइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म जति पनि हुलाकी सडक व्यक्तिकै जग्गामा बनेको तर कहीँकतै मुआब्जा दिइएको छैन । 

सोतीखोला पुलको हकमा भने उच्च अदालत जनकपुरले जग्गाधनीलाई मुआब्जा दिएर मात्रै काम अघि बढाउनू भन्ने आदेश दिएपछि निर्माण व्यवसायी र हुलाकी सडक आयोजना पहुँच सडक बनाउने कामबाट पछि हटेका छन् । जग्गाधनीलाई मुआब्जा प्रदान गरेर मात्रै पुलमा जोडिने पहुँच सडक निर्माण गर्नू भन्ने आदेश प्राप्त भएपछि सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयमा पुनः फाइल उठाएर पठाइएको हुलाकी सडक आयोजनाका इन्जिनियर रायले बताउनुभयो । 

जग्गाधनीलाई मुआब्जा दिने वा नदिने भन्ने निर्णय मन्त्रीपरिषद्को बैठकबाटै गर्नुपर्ने व्यवस्था छ । इन्जिनियर रायले भन्नुभयो, “हुलाकी सडक बनाउँदा घरको बाहेक जग्गाको मुआब्जा दिएको कहीँकतै नजिर छैन । बरहथवामा भने समस्या भएपछि हामीले विभिन्न निकाय र माध्यम प्रयोग गरेर सम्झाउँदा पनि जग्गाधनीले मुआब्जाको अडान नछाडेपछि मन्त्रालयमा फाइल उठाएर पठाएका छौँ ।” 

इन्जिनियर रायका अनुसार जिल्ला प्रशासन कार्यालय र नगरपालिका कार्यालयसँग समन्वय गरेर जग्गाधनीसँग छलफल गर्दा मुआब्जाको अडान छाडेका छैनन् । मुआब्जाको विवादले नवनिर्मित पुल सञ्चालन नहुँदा सवारी साधनहरु अहिले अत्यन्त जीर्ण र साँघुरो पुलबाट आउजाउ गरिरहेका छन् । 

यस्तो पुलले गर्दा बारम्बार सवारी साधन दुर्घटनामा परिरहेका बरहथवा नगरपालिका १२ का वडाध्यक्ष रामजी राय यादवले बताउनुभयो । “फराकिलो पुल हुँदा हुँदै जीर्ण अवस्थाको साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता छ,” वडाध्यक्ष भन्नुभयो, “तत्काल नयाँ पुल चालु नगरे पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम छ ।” 

नयाँरोड–बरहथवा–मधुवनी सडक अन्तर्गत नै बरहथवा बजार नजिक रहेको अत्यन्त साँघुरो रहेको चोरनिया पुलमा पनि अहिले धमाधम नयाँ पुल निर्माण भइरहेको छ ।