प्रेम अधिकारी
पशुपतिनगर(इलाम), असार ४ गते । इलामको सूर्योदय नगरपालिकाले तामाङ समुदायको संस्कृति संरक्षणका लागि लोपउन्मुख बाजा टुङ्ना र डम्फु तामाङ समुदायलाई हस्तान्तरण गरेको छ ।
नगरको महिला बालबालिका तथा समाज कल्याण शाखाको २०८१-०८२ को वार्षिक स्वीकृत आदिवासी जनजाती संस्कृति संरक्षण कार्यक्रम अन्र्तगत नेपाल तामाङ घेदुङ सूर्योदय नगर कार्य समितिलाई दुई लाख ५० हजार मुल्य बराबरको टुङ्ना र डम्फु हस्तान्तरण गरेको हो ।
महिला बालबालिका तथा समाज कल्याण प्रमुख तारा शेर्पाका अनुसार जाताजातीको संस्कृति संरक्षण अन्र्तगत चार थान टुङ्ना र २५ थान डम्फु नेपाल तामाङ घेदुङ सङ्घको सांस्कृतिक समुहलाई हस्तान्तरण गरिएको छ ।
सूर्योदय नगरपालिकामा मात्र तामाङ समुदायको जनसङ्ख्या २७ हजार तीन सय ८२ जना रहेको छ । तामाङ समुदायको जनसङ्ख्या इलाम जिल्ला भरमा तेस्रो ठुलो सङ्ख्याको रूपमा रहेको छ ।
सांस्कृतिक सामग्री हस्तान्तरण गर्दै सूर्योदयका नगर प्रमुख रणबहादुर राईले नगरले यसरी वितरण गरिएका सामग्री संस्थागत रूपमा एकीकृत गरी निश्चित स्थानमा राखी संरक्षण गर्नुपर्ने बताउनुभयो । "लोप हुँदै गएका यस्ता सामग्रीको माध्यमबाट तामाङ समुदायको संस्कार ,संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्नु पर्दछ," नगर प्रमुख राईले भन्नुभयो ।
नेपाल तामाङ घेदुङ सूर्योदय नगर अध्यक्ष नितेश तामाङले नगरले हस्तान्तरण गरेका सांस्कृतिक सामग्रीले तामाङ सामुदायको संस्कार, संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
सामग्री हस्तान्तरण कार्यक्रममा नगर उप प्रमुख दुर्गा कुमार बराल, वडाध्यक्षहरू पेमा उगेन लामा, शिवकुमार बस्नेत, लोकबहादुर राई लगायत तामाङ सामुदायका सांस्कृतिक समुहको सहभागिता थियो।