काठमाडौँ, कात्तिक १५ गते । सुन्दर योञ्जन तामाङको शब्द र विश्व दोङ तामाङको सङ्गीत रहेको ‘ह्याङ्ला ताम्सालिङ’ गीत सार्वजनिक भएको छ । तामाङ भाषामा लेखिएको उक्त गीत पूर्वराजदूत एवं ताम्सालिङ संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डा. गणेश योञ्जन तामाङले लोकार्पण गर्नुभएको हो । नेपाल तामाङ घेदुङ इजरायलले निर्माण गरेको ह्याङ्ला ताम्सालिङ गीतमा चर्चित कलाकार इन्दिरा गोले, रोज मोक्तान, जमुना योञ्जन, सञ्जीव वाइबा, विश्व दोङ, विशाल कल्तान, निर्मला घिसिङ, जितु लोप्चन, फूलकुमार बम्जन, सुमिना लो, जीवन बम्जन, बैरागी मोक्तान, रेश्म बम्जन, खेम मोक्तान, लक्ष्मी स्याङ्तान, प्रदीप लामा, अञ्जु थोकर, सारा लामा र अर्पण थिङको स्वर रहेको छ ।
विश्वदोङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा आदिवासी तामाङ समुदायसँग यसअघि गरिएको सम्झौता, विभिन्न महासन्धि र संविधानमा उल्लेख अधिकार कार्यान्वयनको माग गर्दै एकजुट हुन अपिल गरिएको छ ।