तिलाचन पाण्डे
तम्घास, कात्तिक १४ गते । गत जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । वर्षायाममा कालीगण्डकी नदीको सतह बढेका कारण बन्द रहेको स्टिमर सेवा सुचारु भएको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटर दुरीमा स्टिमर चलाइने छ । नदीमा पानीको सतह घटेपछि यस भेगका यात्रुलाई मध्यनजर गर्दै स्टिमर सञ्चालनमा ल्याइएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिले जनाएको छ ।
गुल्मी खण्डको कालीगण्डकी कोरिडोर र पर्वत खण्डको कालीगण्डकी लोकमार्ग खुलेपछि अहिले मेलापर्व, आन्तरिक पर्यटक र शिला शालिग्राम दर्शन गर्नेहरूका लागि सेवा सुचारु गरिएको प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिनुभयो ।कहिलेकाहीँ अवलोकन गर्न आउनेले स्टिमर रिजर्व गरेर सेतीबेनी शिला शालिग्रामको दर्शन गर्न आउने जानेका लागि सेवा सुरु गरिएको उहाँले बताउनुभयो तर पहिलेको तुलनामा स्टिमर सञ्चालनमा भने समस्या रहेको सञ्चालकले बताएका छन् ।
पहिले यात्रुको चाप बढी भएर खचाखच भरिने स्टिमर अहिले भने यात्रुको चाप कम भएको भट्टराईले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट २०६२ सालमा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिस्टारमा दर्ता भई सञ्चालनमा आएको थियो । साना ठुला गरी १२ वटा स्टिमर रहे पनि हाल चार वटाले मात्रै सेवा दिइरहेका छन् ।