• १ जेठ २०८२, बिहिबार

सिद्धबाबा सुरुङ पुनर्निर्माण सुरु

blog

पाल्पा समाचारदाता

पाल्पा, कात्तिक १४ गते ।  तीन महिनादेखि निर्माण अवरुद्ध बनेको सिद्धबाबा सुरुङ मार्गको निर्माण पुनः सुरु भएको छ । सुरुङ मार्गको दुई वटा ढोका पहिरोले बगाएपछि अवरुद्ध बनेको थियो । निर्माणको काम पुनः सुरु गरिएको आयोजना पक्षले जनाएको छ । गत साउन पहिलो साता पहिरोले सुरुङ मार्गको दुवैतर्फको ढोकामा क्षति पु¥याएको थियो । क्षति पुगेको ढोका निर्माणको काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ । 

दसैँपछि सिद्धबाबा सुरुङ मार्ग निर्माणको कामले गति लिएको छ । वर्षाका कारणले रोकिएको काम दसैँपछि सुरु भएको योजना प्रमुख रामपुकार जैसवालले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो गएपछि रोकिएको सुरुङ मार्गको निर्माण पुनः सुचारु भएको छ ।” वर्षाअघि नै टनेलभित्र छिरेर काम गर्ने योजना भए पनि सुरुङ मार्गभित्र पसेर काम गर्ने तयारी असफल भएको उहाँले बताउनुभयो । निर्माणको जिम्मा लिएको कम्पनीले अहिले सुरुङ मार्गको बाहिरपट्टि सरसफाइको काम गरिरहेको छ । सुरुङको दक्षिण र उत्तरतर्फको ढोका माथिबाट खसेको पहिरोलगायत ढुङ्गा हटाउने काम भइरहेको छ । यसअघि बनाएको टनेलको ढोकाको क्षतिको अवस्था हेरेर थप काम गरिने निर्माण कम्पनीले जनाएको छ । 

निर्माण पक्षले हालसम्म त्यस स्थानमा आवश्यक अन्य पूर्वाधार डाइभर्सन, विद्युत् व्यवस्थापन, माटो परीक्षण, साइट अफिस स्थापनालगायत काम गरिसकेको छ । सुरुङ मार्गको काम २०७९ असोज महिनादेखि नै सुरु गर्ने भनिए पनि डिजाइनको स्वीकृत नहुँदा २०७९ चैतदेखि निर्माणको काम सुरु भएको थियो । सुरुङ मार्गको निर्माणमा ढिलाइ भएका बेला ढोकामा पहिरो खसेपछि स्थानीय बासिन्दा भने चिन्तित बनेका छन् । स्थानीय बासिन्दाले सुरुङ मार्ग निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ मार्ग बनाउने गरी चाइना कम्पनीसँग सम्झौता भएको थियो । सुरुङ मार्ग निर्माणका लागि सात अर्ब ३४ करोड २१ लाख लागत लाग्ने अनुमान गरिएको छ ।