• ९ मंसिर २०८१, आइतबार

सुशासनमार्फत समृद्धि

blog

भ्रष्टाचारका सन्दर्भमा निजामती सेवाका एक जना मित्रले भनेका थिए– नेपालमा सदाचारीलाई जेलमा राखेर भ्रष्टाचारीजतिलाई बाहिर राख्ने हो भने नेपालका जेलले पनि धान्छ र सदाचारीलाई दुई छाक खानलाउन कुनै कठिनाइ हुँदैन । किनकि जेलमा रहेकाको खान बस्नको जिम्मा सरकारले लिएको हुन्छ । ठेक्कापट्टा, कमिसन, राजस्वमा लुट मच्चाउन सक्नेहरू बाहिर बसेर मुलुक सञ्चालन गर्ने र तिनको कमाइले सिधासादालाई कैदमा राखेर खान दिने व्यवस्था नै नेपालमा उपयुक्त हो कि जस्तो भइसकेको छ । खासमा ती मित्रले मुलुकमा सुशासन कायम गर्नमा ढिला भइसकेको र भ्रष्टाचारीको बिगबिगी बढेका कारण निकै चिन्तित भएर यस्तो भनेको हुनु पर्छ । 

मान्छेले ब्रह्माण्डमै सबैभन्दा बुद्धिमान र सचेत प्राणी आफूलाई ठान्दछ तर रुसले युक्रेनमाथि र हालै हमासले इजरायलविरुद्ध आक्रमण गरेपछि मान्छेलाई बुद्धि भएको मान्नै नमिल्ने भएको छ । नेपालको सन्दर्भमा हेर्दा कार्यालयमा कोठामा सँगै बसेको साथी भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कठघरामा पुगेको देख्दादेख्दै भोलिपल्टै आफैँ आर्थिक अनियमितता गर्दछ र प्रहरी हिरासतको रात बिताउन बाध्य हुन्छ । अनि मान्छे सचेत प्राणी हो भनेर भन्न मिल्छ र भन्ने प्रश्न उठेको छ ।

मान्छेमा धर्म र अधर्मका बिचको भेद छुट्याउने खुबी हुन्छ भनिन्छ । आफ्नो र छोराछोरीको मात्र नभई पुस्तौँपछिका सन्तानलाई समेत गरिबी, अशिक्षा र भोकमरीमा पार्ने गरी भ्रष्टाचार गर्नेको लर्को देख्दा के मान्छेमा धर्म र अधर्म केलाउने ज्ञान छ र ? भन्ने प्रश्न उठ्ने गरेको छ । देश र जनतालाई सयौँ वर्षसम्म उठ्नै नसक्ने गरी भ्रष्टाचारको दलदलमा फसाउने नेता तथा भ्रष्टाचारीको जमात देख्दा मान्छे विवेकशील र नैतिक प्राणी हो भन्ने भनाइलाई आत्मसात् गर्न मुस्किल पर्न थालेको छ ।

सुशासनको जिम्मा राजनीतिज्ञले लिनुपर्ने हो तर राजनीतिक दलका कतिपय नेता नै कुशासनको बिउका रूपमा देखिएका छन् । शान्ति सुरक्षा कायम गर्नुपर्ने जिम्मेवारी भएकाहरू नै अशान्ति र दुव्र्यवहार मच्चाउने कारकका रूपमा देखिन्छन् । देशमा सुव्यवस्था कायम गर्न हरपल सजग, सक्रिय रहनुपर्ने सरकारी कर्मचारी नै राजस्वमा पौडी खेलेर भ्रष्टाचार गर्न क्रियाशील पाइन्छन् । यस्तै विडम्बना कायम रहिरहे हाम्रा सन्ततिले हामीलाई सराप्नेबाहेक कुनै ठाउँ रहला जस्तो लाग्दैन ।

नेपालमा भ्रष्टाचार गर्न सुअवसर प्राप्त गर्ने स्थानमा पुगेका जोकसैलाई मेरो २१ पुस्तापछिका सन्ततिले के खालान् र के गर्लान् भन्ने चिन्ताले सताउने गरेको छ । मैले भ्रष्टाचार गरेँ भने देश र जनताको अवस्थामा के कस्तो नकारात्मक असर देखा पर्ला भन्ने कसैलाई वास्ता भएजस्तो लाग्दैन । सन्ततिका निमित्त धन सङ्ग्रह गर्ने प्रवृत्ति बढ्दै गएको छ । सानो सूचना चुहिँदा आफ्नो हालत के हुने छ भन्ने कुराको समेत चिन्ता नगरी भ्रष्टाचारमा लिप्त हुनेहरूको सङ्ख्या दिनानुदिन बढेको छ ।

भ्रष्टाचारका माध्यमबाट धन कमाउने बानी परेका र अरूहरूले कमाएको देखेर आफूले पनि त्यसै गर्ने योजना बुनेका सबैलाई भ्रष्टाचारबाट प्राप्त हुने अन्तिम निष्कर्षका बारेमा जानकारी छ र पनि भ्रष्टाचारमा कमी आउने कुनै लक्षण देखिएको छैन । धन भएकाको मात्रै इज्जत गर्ने प्रवृत्ति नेपाली समाजको भएकाले पनि परिणामको वास्तै नगरी तरबारको धारमाथि टेकेरै भ्रष्टाचार गर्नेहरू बढिरहेको पाइन्छ । 

यसरी कमाएको धनले कमाउने व्यक्तिको त भलो गरेको छैन नै, तिनका छोराछोरीमा समेत राम्रो प्रभाव परेको देखिँदैन । जेल नपुगेकाहरूका सन्तति सित्तैमा आएको पैसाको दुरुपयोग गर्दै दुव्र्यसन आदिमा लागेको देखिएको छ । अर्कातिर यसका कारण देशलाई क्षति पुग्न गई गरिबका रूपमा जीवन बिताउन बाध्य वर्गका सन्ततिहरूले आधारभूत आवश्यकतासमेत पूर्ति गर्न नसकी प्रगतिको बाटोमा व्यावधान उत्पन्न भइरहेको छ । 

अहिलेसम्म देखिएका घटना परिघटनाले भ्रष्टाचारीहरू कि जेल गएको देखिएको छ भने प्रमाण लुकाउन सकेका खुलेआम छाती फुलाएर समाजमा फुर्ती लगाउँदै हिँड्ने गरेको पाइन्छ । भ्रष्टाचार गर्ने क्रममा लुकाइएका सूचनाहरू वर्षौंपछि चुहिएमा पनि त्यसमा संलग्नलाई छानबिनमा तान्ने र कारबाहीको प्रक्रिया बढाउने परिपाटीको पनि सुरुवात हुन थालेको छ । तर पनि भ्रष्टाचारमा कमी आउन नसकेको मुलुक नेपाल बनेको छ । सत्ताको संरक्षणले मात्रै भ्रष्टाचारीलाई जोगाउन सकिँदैन भन्ने पनि कतिपय प्रकरणले पुष्टि गर्दा पनि भ्रष्टाचारी प्रवृत्तिमा नियन्त्रण हुन नसकेको मुलुक नेपालै हो ।

नेपालमा मूलतः भ्रष्टाचार दुई स्वरूपका देखिएका छन् । नीतिगत भ्रष्टाचार र आर्थिक भ्रष्टाचारले निकै तलसम्म जरो गाडेर बसेको छ । जसले नीतिगत भ्रष्टाचार गर्दछ, उसलाई घुमाई फिराई आर्थिक लाभ नै हुने गरेको देखिन्छ । आर्थिक भ्रष्टाचारमा संलग्नको त कुरै गर्न परेन । मौका पाएका बेला जो जुन अवस्थामा वा हैसियतमा छ, त्यही प्रकृतिको भ्रष्टाचार गर्नुमा नै उसको क्षमताको मूल्याङ्कन गर्ने बानी भने जनतालाई परेको छ । जसले धन कमाउन सक्यो उही मात्रै सक्षम र जसले कुनै प्रकारका कलङ्क बोक्न चाहेन ऊ निकम्मा भन्ने कुरा समाजमा पनि विकसित हुँदै गएको छ ।

भ्रष्टाचार गर्नेहरूलाई क्षमतावान् र भ्रष्टाचार गर्न नसकी डेरामा जीवन बिताउनेहरूलाई अक्षम देख्ने बानी नेपाली समाजमा छ भन्दा अत्युक्ति हुँदैन । यसले भ्रष्टाचार गर्नेहरूको उत्साहमा वृद्धि हुँदै गएको छ । भ्रष्टाचारीका कारण मेरो नातिको भविष्य अन्धकारतर्फ धकेलिँदै छ भनेर सर्वसाधारणले सोच्न थाल्ने हो भने भ्रष्टाचार रोक्न केही मेहनत गर्न परे पनि असम्भव हुँदैन । आर्थिक अनियमितता गर्नेहरूका कारण मेरी नातिनीले दुई छाक खाने र एकसरो लगाउनेसम्मको अवसर पनि गुमाउँदै छे भनेर आमजनता गम्भीर हुने हो भने भ्रष्टाचारीको उत्साहमा कमी ल्याउन सकिन्छ । नेपालमा भने तिनै भ्रष्टाचारीलाई बारम्बार भोट हालेर जिताउने, आर्थिक अनियमितता गरेर अकुत सम्पत्ति आर्जन गरेकालाई विशिष्ट दर्जा दिएर समाजमा भेला हुँदा मञ्चमा राख्ने, कार्यक्रममा प्रमुख, विशिष्ट अतिथि आदिको सम्मान दिने प्रचलन बढ्दै गएको छ । यही परम्परा विकसित हुँदै गएमा नेपालबाट भ्रष्टाचार नियन्त्रण हुने होइन कि यसैले मुलुकलाई छपक्कै ढाकेर देश र जनतालाई घुँडा टेकाउने निश्चित छ ।

भ्रष्टाचार गर्ने हैसियत प्राप्त गर्नेहरूमध्ये धेरैका छोराछोरी पक्कै पनि यो मुलुकमा छैनन् । अधिकांशका सन्ततिले अमेरिकाको ग्रिनकार्ड, अस्ट्रेलियाको पिआर, क्यानडाको नागरिकता या बेलायती पासपोर्ट लिइसकेका छन् । त्यसैले पनि नेपालका कुनै पनि संस्था समृद्ध, सुसञ्चालित र व्यवस्थित हुन नसकेका त होइनन् भन्ने चासो पछिल्ला दिनमा बढ्न थालेको पाइन्छ । नीति निर्माण तहमा रहेकाहरूका सन्ततिले यो मुलुकको कुनै पनि संस्थाबाट सेवा लिनै नपर्ने भएकाले नेपाल यसरी अव्यवस्था र अराजकताको भुमरीमा फस्दै गएको हो कि भन्ने प्रश्न उठेको छ । यो अवस्थामा परिवर्तन ल्याउन नसके हाम्रा भावी पुस्ताले नेपालमै बसेर केही न केही गर्ने भन्ने सम्भावना पूर्णरूपेण हराउँछ भन्न कुनै अप्ठेरो मान्नुपर्ने देखिँदैन ।

भावी सन्ततिलाई समृद्ध मुलुक छाडेर जाने सपना देख्नै पर्दछ र त्यतातर्फ हाम्रा क्रियाकलाप उन्मुख हुनै पर्दछ । पृथ्वीनारायण शाह, भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापा आदिलाई आजसम्म हामीले सम्मानका साथ स्मरण गरिरहेका छौँ तर कतिपयलाई धेरै नेपालीले सरापेको पनि हामीले देखिरहेकै छौँ ।

मान्छे भएपछि सकेसम्म कीर्ति राखेर मर्ने योजना बनाउनु पर्दछ । कीर्ति राख्न र यश आर्जन गर्न सकिएन भने पनि नराम्रो केही नगराँै भन्ने सोच राख्नै पर्दछ । अधर्मतिर आफ्नो मनमष्तिष्क कदापि नडोहोरियोस् भन्ने चाहना मान्छेमा हुनुपर्ने हो । ठिक उल्टो भ्रष्टाचारमा कीर्तिमान कायम गर्न उद्दत रहने, हिंसा, आतङ्क, अनियमितता आदिमा नाम कमाउने लक्ष्य राखेकाहरूको जगजगी बढ्दा मान्छेलाई निराश बनाउँदै लगेको छ । यसबाट नेपाल र नेपालीलाई मुक्ति दिलाउनु नै सबैको पहिलो कर्तव्य बनेको छ ।

अब सुशासनलाई पहिलो प्राथमिकता दिन सरकार कस्सिनै पर्ने भएको छ । भ्रष्टाचारीलाई मुलुकको कुनै पनि कुनामा ठाउँ नभएको प्रत्याभूति आमनागरिकलाई दिलाउन ढिलो गर्नै नहुने भएको छ । अपराधी जेलमै रहन्छन् र मुलुक सञ्चालन सदाचारीहरूले गर्ने हो भन्ने सन्देश राजनीतिक दलहरूले दिन सक्नै पर्ने छ । घुस दिन्या र लिन्या दुवै राष्ट्रका शत्रु हुन् भन्ने भनाइले कर्मचारीका मनमा बास गर्न ढिलो भइसकेको छ ।

जवाफदेहिता, राजनीतिक स्थिरता, हिंसारहित समाज, सरकारको प्रभावकारिता, कानुनी राज्य र भ्रष्टाचार नियन्त्रण सुशासनका सूचक हुन् । अहिले भ्रष्टाचार हुने मुलुकको सूची बनाउँदा अग्रपङ्क्तिमा पर्दै आएको नेपाललाई पछिल्लो लहरतर्फ धकेल्दै लैजानुपर्ने प्रथम दायित्व राजनीतिक नेतृत्व, कर्मचारी र आमनागरिकको पनि हुन्छ । सबैले आआफ्नो जिम्मेवारी बोध गरी भावी सन्ततिलाई सुशासनयुक्त मुलुक सुम्पनु पर्ने आजको दायित्व हो ।  

Author

डा. शान्तिकृष्ण अधिकारी