• १ जेठ २०८२, बिहिबार

तरकारीको वेर्ना अनुदानमा वितरण गर्दै नगरपालिका

blog

रामपुर नगरपालिकाले तरकारीको बेर्ना वितरण गर्दै । तस्विर : इमानसिं राना

इमानसिं राना

रामपुर (पाल्पा), कात्तिक १३ गते । पाल्पाको रामपुर नगरपालिकाले तरकारीका विरुवा उत्पादन गरी कृषकलाई अनुदानमा वितरण गरेको छ । कृषकको प्रोत्साहनका लागि नगरपालिकाले आफ्नै हाइटेक टनेलभित्र विरुवा उत्पादन गरी ५० प्रतिशत अनुदानमा विरुवा प्रदान गरेको हो । 

सहुलियतमा तरकारीको विरुवा पाएपछि कृषकहरु खुशी भएका छन् । बाहिर विरुवा किन्नुपर्दा लागत धेरै लाग्ने भए पनि नगरपालिकाले उत्पादन गरेको विरुवा अनुदानमा पाउँदा कृषकलाई राहत महसुस भएको रामपुर –४ सदावर्तका व्यवसायी कृषक विनोद श्रेष्ठले बताउनुभयो । 

पुलामी कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक महेन्द्रबहादुर पुलामीले ब्रोकाउली, काउली, बन्दागरी २३ सय विरुवा खरिद गरेको बताउँदै अनुदानमा विरुवा पाउँदा थप हौसला मिलेको बताउनुभयो । कृषकलाई अनुदानमा तरकारीका विरुवा वितरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कृषकहरु राहतसंगै व्यावसायिक रुपमा लाग्नका लागि प्रोत्सहान गर्न विरुवा नै वितरण गरिएको बताउनुभयो । 

तरकारी खेतीमा कृषकलाई आकर्षित गरी नगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । नगरपालिकाले अहिले टनेलभित्र उत्पादन गरिएका करिब ४० हजार तरकारीका विरुवा वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । 

प्रचलित बजार मूल्यको ५० प्रतिशत अनुदानमा ब्रोकाउली प्रतिविरुवा ३ रुपियाँ, काउली र बन्दा प्रतिविरुवा २ रुपियाँ ५० पैसामा वितरण गरेको छ । वितरणको तयारीमा रहेको प्याजको बेर्ना १ रुपियाँको १० वटाका दरले वितरण गर्ने जनाएको छ । 

प्याज बाहेक अन्य तरकारीका विरुवा कृषकको मागको आधारमा कात्तिक १८ गतेसम्म वितरण गर्ने र प्याजको विरुवा कात्तिक २० गतेदेखि वितरण सुरु गरिने रामपुर नगरपालिका कृषि शाखाका जेटिए युवराज नेपालीले बताउनुभयो । विरुवा क्षेत्रको आधारमा उपलब्ध गराइएको छ । 

लुम्बिन प्रदेश सरकारको २५ लाख र रामपुर नगरपालिकाको ३१ लाख गरी ५६ लाखको लागतमा साविकको कृषि सेवा केन्द्रको परिसरमा टनेल निर्माण गरिएको थियो । साढे २ रोपनीमा फैलिएको उच्च प्रविधिसहितको टनेलमा नगरपालिकाले तरकारीका विरुवासँगै तरकारी उत्पादन गर्दैआएको छ ।