• २० असोज २०८१, आइतबार

विगतजस्तो हर्षोल्लास बन्न सकेन दसैँ

blog

मीना कंडेल

कावासोती, कात्तिक १२ गते । नेपालीको महान् चाड दसैँ विगतजस्तो हर्षोल्लास हुन नसकेको स्थानीयको भनाइ छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो । 

खर्चिलो दसैँ बन्नेगरेको विगतको तुलनामा यस वर्ष आर्थिक अभावका कारण गर्जो टर्नेगरी मात्र दसैँ मनाउनुपरेको व्यवसायीहरू बताउँछन् । दसैँमा बजार चलायमान हुने अनुमान गरिएको भए पनि त्यसो हुन नसकेको व्यवसायी दिनेश चापागाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “दसैँमा खासै उत्साह देखिएन, यसको कारण आर्थिक मन्दी र युवा जनशक्तिको पलायन हो, क्रय शक्ति नहुँदा समग्र पर्व प्रभावित बन्यो ।”

दसैँमा व्यापार व्यवसाय मात्र नभई मासुको अधिक प्रयोग हुने दसैँमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा नबिकेको उहाँले बताउनुभयो । हुप्सेकोट गाउँपालिका –४ झ्यालबासमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसीबोका सङ्कलन तथा विक्री केन्द्रमा किनमेलको चहल पहल देखिएको भए पनि सोचेअनुसार व्यापार नभएको लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाको व्यवस्थापक सुशीला परियारले बताउनुभयो । 

दसैँलाई लक्षितगरी घटस्थापनापछि विक्री सुरु गरिएकोमा दसैँ सकिँदासम्म तीन सयमात्र खसीबोका विक्री भएको व्यवस्थापक परियारले बताउनुभयो । असोज २९ गतेदेखि खसीबोका सङ्कलन र विक्री सुरु गरेका थियौँ, उहाँले भन्नुभयो, “यो दसैँमा एक हजार बढी खसीबोका बिक्री हुने अनुमान गरेका थियौँ ।” तर तीन सयमात्र विक्री भयो ।” 

यहाँ हुप्सेकोट गाउँपालिका भित्रका किसानहरूले उत्पादन गरेको खसीबोका सङ्कलन गरी विक्रीका लागि राखिने गरिन्छ । किसानले पालेको खसीबोका सहकारीले सङ्कलन गरी ज्युँदो प्रतिकिलो पाँचसय ६० रुपियाँका दरले बेच्ने गरिएको छ । किसानले ल्याएको खसीबोका सहकारीमार्फत विक्री गर्दा किसानहरू ठगिनु नपरेको स्थानीय शर्मिला विश्वकर्माले बताउनुभयो ।

लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत बाह्रै महिना खसीबोका सङ्कलन र विक्री गरिने भए पनि चाडपर्वलाई लक्षितगरी किसानले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुनेगरेको व्यवस्थापक परियारले बताउनुभयो ।

आर्थिक मन्दीका कारण दसैँ उत्साहजनक बन्न नसकेको अर्का व्यापारी हरि सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक रूपमा कमजोर भएको अवस्थामा बजारको महँगीका कारण बाँच्न मुस्किल छ, कसरी दसैँ उमङ्ग हुन्छ ?” 

व्यावसायिक क्षेत्र धराशायी भएको र महँगी अस्वाभाविक बढेका कारण दसैँ प्रभावित भएको उहाँको बुझाइ छ । उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष वैकुण्ठ अर्यालले विगत तुलनामा ३० प्रतिशत हाराहारी पनि व्यापार नभएको बताउनुभयो । यसको प्रत्यक्ष असर दसैँ पर्वमा परेको उहाँको भनाइ छ ।