• २० असोज २०८१, आइतबार

राष्ट्रपति पौडेलद्वारा नवदुर्गाको आज विशेष पूजा

blog

राष्ट्रपति रामचन्द्र पौडेल नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गर्नुहुँदै । तस्विर : रासस

भक्तपुर, कात्तिक ११ गते । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो ।

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गर्नुभयो । उहाँले  नवदुर्गा नाचसमेत अवलोकन गर्नुभयो । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराउनुभएको थियो । त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गर्नुभयो । 

विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो । राष्ट्रपति पौडेललेलाई बागमती प्रदेशका पशुपंक्षीमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेशसभा सदस्यद्वय किरण थापा र सुरेश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वलीले स्वागत गर्नुभयो । 

मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बीचमा यो परम्परा टुटेको थियो । विसं २०४५ को भूकम्पपछि दैवीप्रकोपबाट देश र जनतालाई जोगाउने विश्वासमा तत्कालीन राष्ट्रप्रमुखले यो पूजालाई निरन्तरता दिएको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद बनमालाले जानकारी दिनुभयो । रासस