• २० असोज २०८१, आइतबार

मुस्लिम सदस्यहरुले पनि लगाए दसैंको टीका जमरा

blog

मान्यजनबाट दसैंको टीका थाप्दै मुस्लिम अगुवा अब्दुल मन्सुरी । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ७ गते । सदभावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको दिन शुभसाइतमा मङ्गलवार मुस्लिम समुदायका अगुवाहरुले पनि मान्यजनबाट टीका जमरा थापेर दसैं मनाएका छन् । 

मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै मुस्लिम अगुवाहरुले दसैंको टीका र जमरा लगाएर धार्मिक सद्भावलाई निरन्तरता दिएका हुन् । 

यहाँका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले मङ्गलवार हिन्दु समुदायका मान्यजनबाट दसैंको टीका थाप्नुभयो । उहाँले दसैं, तिहार, रक्षाबन्धन, होली, दीपावलीजस्ता चाडपर्वहरु सधैं यसैगरी मिलेर मनाउने गरेको बताउनुभयो । 

मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दु समुदायका मान्यजनलाई बोलाएर उहाँहरुसँग रमाउने गरेको पनि अगुवा मन्सुरीले बताउनुभयो । 

हिन्दु र मुस्लिम समुदायले वर्षौदेखि सँगै मिलेर एकआपसमा दुबै समुदायका चाडपर्व मनाउँदै आएको उहाँको भनाइ छ । 

सोही प्रकारले बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्दिकीले पनि दसैंमा हिन्दु समुदायका आफन्त र मान्यजनबाट टीका थाप्नुभएको छ भने उहाँले पनि आफुभन्दा सानालाई टीका लगाइदिनुभएको छ । 

उहाँले वर्षौदेखि आफूले दुबै समुदायका चाडपर्वमा रमाउनेगरेको जनाउँदै एकअर्कासँग मिलेर सँगै मनाउने गरेको बताउनुभयो । हिन्दुले मुस्लिमको चाडमा सहभागी हुने र मुस्लिमले हिन्दुको चाडपर्वमा सहभागी हुने यहाँको परम्परा बनिसकेको अगुवा सिद्दिकीको भनाइ छ । 

उहाँले यहाँ बर्षौदेखि दुबै समुदाय अति नै राम्रोसँग मिलेर बसेको जनाउँदै दुबै समुदायवीच निकै राम्रो सम्बन्ध र घनिष्टता रहेको बताउनुभयो । सोही प्रकारले अर्का मुस्लिम अगुवा रहमान मियाँले पनि मान्यजनबाट दसैंमा टीका जमरा लगाएर आशीर्वाद लिएको बताउनुभयो । 

उहाँले सबैका चाडपर्वलाई सम्मान गरेर सामेल भई मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो । हिन्दु समुदायका अगुवा कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जमा एकअर्काको चाडपर्वलाई मिलेर मनाउने निकै राम्रो परम्परा रहेको जनाउँदै आफुले पनि मुस्लिमका पर्वहरुमा उनीहरुको घरमै पुगेर मनाउँदैआएको बताउनुभयो । 

उहाँले यहाँ दुबै समुदायवीच अभूतपूर्व एकता र सदभाव रहेको जनाउँदै कहिलेकाहीं बाहिरी हावाले गर्दा केही वातावरण धुमलिने पनि दुबै समुदायले मिलेर फेरि वातावरण सफा गर्दै आएको बताउनुभयो । सोही प्रकारले मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीलाई भेटेर दसैंको शुभकामना दिनुभएको छ । सो अवसरमा सद्भाव र एकताका लागि दुबैले संयुक्त रुपमा सबैसँग आग्रह गर्नुभयो ।