• २० असोज २०८१, आइतबार

नेपालगञ्जमा दशहरा मेला : आज रावण वध गरिँदै

blog

खजुरा (बाँके), कात्तिक ७  गते । नेपालगञ्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलीला महोत्सवअन्तर्गत १०औँ दिन आज विशेष रावण वध गर्न लागिएको छ ।  

रामलिला नाटक प्रदर्शनीमा आज ४५ फिटको रावणको पुत्ला दहन गर्न लागिएको हो । यस वर्ष आयोजना गरिएको १५६औँ रामलीला महा महोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिनेछ । रामलीला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको आजको कार्यक्रम दिउँसोदेखि शुरु भएको छ । 

आज साँझ रावणको वधपछि राति १० बजेदेखि रातभर रामलिला मञ्चन गरिने आयोजक रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताउनुभयो । उहाँका अनुसार भारतको वृन्दावनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गरिरहेको छ । 

भोलि भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलीला सकिनेछ । रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न छिमेकी मुलुक भारतबाट समेत सर्वसाधारण आउने गर्दछन् ।  

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न प्रदर्शनी कक्ष राखिएका छन् । महोत्सवका अवसरमा सडक झिलिमिली पारिएको छ भने शान्ति सुरक्षा सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।  

डेढ सय वर्षभन्दा अघिदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का वध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, बाणासुर लीला, सीता स्वयम्वर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रर्दशन भइसकेको समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो ।  रासस