• २० असोज २०८१, आइतबार

आज रावणको पुत्ला दहन गरिँदै

blog

वधका लागि रामलीला मैदानमा ठड्याइएको ४५ फिटको रावण । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ७ गते । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव अन्तर्गत मङ्गलवार १० औ दिन अपरान्ह रावणको वध गरिंदैछ । 

रामलीला नाटक प्रदर्शनीमा मङ्गलवार अपरान्ह ४५ फिटको रावणको पुत्ला दहन गरिने रामलीला सञ्चालक समितिले जनाएको छ । रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले रावण वधको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । 

उहाँले यस वर्ष आयोजना गरिएको १५६ औं रामलीला महोत्सवमा मङ्गलवार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने बताउनुभयो । रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको मङ्गलबारको कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

साँझ रावणको वधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिने आयोजक रामलीला सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार भारतको बृन्द्राबनबाट २५ जना कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गरिरहेको छ । 

समितिका अनुसार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर बुधबार रामलीला सकिनेछ । रामलीला मैदानमा रावण बधका लागि लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकीमुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा सर्वसाधारण आउने गर्दछन् । 

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलहरु राखिएका छन् । महोत्सवका सडकहरु झिलीमिली पारिएको छ भने शान्ति सुरक्षा व्यवस्थाको बाताबरण सुदृढ बनाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।  

डेढसय वर्षदेखि आयोजना हुँदैआएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, बाणासुर लीला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लीला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर बैश्यले बताउनुभयो ।