• २० असोज २०८१, आइतबार

नीलकण्ठको दर्शन, टीका र जमरा ग्रहण

blog

मान्यजनबाट जमरा र टीका ग्रहण गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, कात्तिक ७ गते । विजयादशमीको दिन मङ्गलबार एकाबिहानै शुभ मानिने नीलकण्ठ पंक्षीको सर्वसाधारणले दर्शन गरेका छन् । ठूलो मान्यजनबाट जमरा लगाएर टीका ग्रहण गर्नु शुभ मानिन्छ ।  

हिन्दु धर्मालम्बीहरुको महान् पर्व बडादसैंको विजयादशमीका दिन घरमा भएका ठूलो मान्यजनबाट आशिषसाथ जमरा र टीका ग्रहण गर्ने प्रचलन छ । व्यक्तिगत, पेशागत एवं पारिवारिक सुख, शान्ति एवं समृद्धि हुने विश्वासका साथ जमरा र टीका लगाएका हुन् । बिहान नुहाइधुवाई गरी नयाँ वा सफा लुगामा टीका र जमरा लगाएका छन् । आफन्तजनसँगै केहीले मन्दिरमा पनि टीका र जमरा ग्रहण गरेको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महानन्द ठाकुरले बताउनुभयो ।  

जिल्लाको छिन्नमस्ता, कङ्कालिनी, भगवती मन्दिरसहितमा पुरोहितबाट टीका र जमरा थापेका छन् । घटस्थापनाका दिन राखिएको जमरा काटेर मन्दिरका पुजारीहरुले बिहान शुभ साइतमा विधिवत् पूजापाठ गरी सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेको राजविराजस्थित भगवती मन्दिरका पुजारी दुर्गानन्द मिश्रले जानकारी दिनुभयो । पण्डितबाट जमरा र टीका लगाएवापत सर्वसाधारणले आफूखुशी पुजारीलाई दक्षिणा दिएका छन् भने आफन्तले जमरा टीकासाथ दक्षिणा (सगुन) पनि दिएर आशीर्वाद प्रदान गरेको छ । 

नीलकण्ठको दर्शन

मंगलबार एकाबिहानै नीलकण्ठ चराको खोजी गरी दर्शन गरेका छन् । विजयादशमीका दिन एकाबिहानै नीलकण्ठ चराको दर्शन गर्न शुभ मानिन्छ । भगवान शिवको प्रतीकको रुपमा मानेर नीलकण्ठलाई दर्शन गरिन्छ । विजयादशमीका दिन नीलकण्ठ चराको दर्शन गरेमा वर्षभरि शुभ रहनुका साथै सम्पूर्ण मनोरथ पूरा हुने जनविश्वास छ । 

एकाबिहान नीलकण्ठ पंक्षीको दर्शन गर्न रुख, बिजुलीको तार, खेतबारीमा खोज्दै हिंडेका थिए । केहीलाई नीलकण्ठ दर्शन भेटिएको थियो । यसवर्ष धेरैले सामाजिक सञ्जालमै नीलकण्ठको तस्बिर राखेर दर्शन गरेको पाइयो । 

नवरात्रीको दिन आदिशक्तिको उपवासपछि यस चराको दर्शनले भगवान शिवको रूपको प्रतीकात्मक दर्शन हुने बुझाइ छ । धर्म संस्कृतिअनुसार भगवान शङ्करलाई नीलकण्ठ पनि भन्ने गरिन्छ । भगवान श्रीरामले नीलकण्ठको दर्शन गरेर रावणको वध गरिएको पौराणिक कथामा उल्लेख गरिएको छ । 

लङ्का विजयपछि भगवान ब्राह्मण हत्याका पापलाई रामले लक्ष्मणसँगै मिलेर भगवान शिवको पूजा अर्चना गरेर सो पापबाट मुक्ति पाएको भनिएको छ । त्यसपछि भगवान शिव नीलकण्ठ चराको रूपमा पृथ्वीमा आएको र नीलकण्ठ भगवान शिवकै रुप भएको मानिन्छ ।