• १३ साउन २०८१, आइतबार

दुधको खपत बढाउन चाडपर्वमा उपभोक्तालाई छुट

blog

दुध उत्पादनमा सक्रिय किसान । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, कात्तिक ७ गते । दुधको खपत बढाउन दसैं, तिहारलगायतका पर्वमा उपभोक्तालाई दुधमा छुट बिक्री गरिएको छ । दुधको खपत बढाउन जिल्लाको बगनासकाली बहुउद्देश्यीय सहकारी लिमिटेडले दसैं, तिहारजस्ता पर्वका बेला दुधको खपत बढाउन प्रतिलिटर १० रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिएको हो ।

पछिल्लो समय दुध उत्पादन बढेपछि जिल्लाभित्र नै दुधको खपत बढाउन उपभोक्तालाई छुट दिएर दुग्धजन्य पदार्थ बिक्री गरिएको सहकारीका अध्यक्ष कृष्ण भुसालले बताउनुभयो । हाल भैँसीको दुधको मूल्य १२० रुपियाँ छ भने गाईको दुधको मूल्य प्रतिलिटर ९० रुपियाँ छ । 

भदौ महिनापछि दुधको उत्पादन बढेका कारण चाडपर्वका बेला दुधको खपत बढाउन छुट दिएर दुध बिक्री गर्ने योजना अघि सारिएको अध्यक्ष भुसालले बताउनुभयो । चाडपर्वका बेला उपभोक्तालाई मासुजन्य पदार्थको उपयोगमा भन्दा दुग्धजन्य पदार्थको उपयोग बढाउन पनि यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । 

दुधमा छुट पाउने भएपछि उपभोक्ता खुसी भएका छन् । उपभोक्ताले दुध, दही, पनिर, घ्यूलगायतका पदार्थ लैजाने क्रम बढेको सहकारीले जनाएको छ । पाल्पा जिल्लामा गत वर्ष ५२ हजार ८७२ मेट्रिक टन दुध उत्पादन भएको थियो । 

त्यसमध्ये जिल्लाभित्र मात्र २२ हजार ५४२ मेट्रिक टन दुधमात्र जिल्लाभित्र खपत भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । जिल्लाभित्र बढी भएको दुध गुल्मी, पोखरा, बुटवल जाने गरेको छ भने केही दुध छुर्पी बनाउन प्रयोग भएको खनालले बताउनुभयो ।