• १ जेठ २०८१, मङ्गलबार

रमेशको हत्या आरोपमा चारबिरुद्ध किटानी जाहेरी

blog

मृतक रमेश शाही । तस्विरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, कात्तिक ६ गते । कालीकोटको खाँडाचक्र नगरपालिका १० का रमेश शाहीको मृत्यु प्रकरणमा चार जनाबिरुद्ध किटानी जाहेरी दर्ता भएको छ । शुक्रवार राति संगै मदिरा सेवनपछि कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरुविरुद्ध जाहेरी परेको हो । 

२४ वर्षीय शाहीको हत्या खाडाँचक्र नगरपालिका १० का २२ वर्षीय गोविन्द्रवहादुर शाही, वर्ष २७ का खड्क शाही, वडा ९ का वर्ष ३० का नन्द मल्ल र वडा ८ का वर्ष ३५ का भिम चौलागाईले गरेको आफन्तले आरोप लगाएका छन् । 

मृतक परिवारले प्रहरीले किटानी जाहेरी लिन नमानेको अवस्थामा शव नबुझ्ने अडान लिएपछि प्रहरीले किटानी लिएको आफन्तको भनाइ छ । मृतक रमेशका आफन्तले अनुहारमा चोट रहेको र घाँटी थिचिएको आँखा समेत फुटेकाले कुटपिट गरी मारेको दावी परिवारजनको छ । 

आरोपित गोविन्द्र र खड्क शाहीले तीन बर्षअघि रमेशको घर परिवारलाई कुटपिट गरेको स्थानीयको भनाइ छ । सो बिवाद जिल्ला प्रहरी कार्यालय कालीकोटमा मिलापत्र गरेर टुंगो लगाइएको शिक्षक पबित्रा शाहीले बताउनुभयो । 

शुक्रवार राति रमेशको मृत्यु भएको र शनिवार दिउँसो मात्र जानकारी आएको प्रहरीले जनाएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले कर्तब्यवाटै ज्यान गएको बताउनुभयो । आफुले अस्पतालमा शव हेरेको कुटपिटपछि मृत्यु भएको उहाँको भनाइ छ । 

बाँकी विषय पोस्टमार्टम प्रतिवेदनबाट खुल्ने उहाँले बताउनुभयो । निर्दोश नफसोस् भनेर अनुसन्धानलाई फराकिलो बनाएकाबेला आफन्तले शंका गर्नुभएछ, आफुलाई कतैबाट दवाफ नआएको प्रहरी प्रमुख केसीले सुनाउनुभयो । 

रमेशको शव स्थानीय नमराज शाहीको गाईबस्तु वाँध्ने गोठमा शनिवार फेला परेको थियो । घटना निकै शंकास्पद भएकाले स्थानीय नागरिकसँग सोधपुछ चलिरहेको उहाँको भनाइ छ । किटानी जाहेरी लिइएपछि आफन्तले शव बुझेर लगेको र रमेशको अन्तिम दाहसंस्कार पनि गरिएको छ ।