• २० असोज २०८१, आइतबार

कुम्हाललाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ

blog

माटोको भाँडा बनाउन व्यस्त बाँकेका एक कुम्हाल । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ६ गते । दसैं तिहारजस्ता चाडपर्व चलिरहेका बेला बाँकेका कुम्हाल समुदायमा माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । दसैं तिहार र छठजस्ता ठूला चाडपर्वमा माटाको भाँडाको माग अत्यधिक हुनेगरेकाले कुम्हाल समुदायमा भाँडा बनाउनेहरु माटाको भाँडा बनाउन व्यस्त भएका हुन् । यतिबेला यस समुदायका अधिकांश मानिसहरू कोही माटो मुछ्ने त कोही माटोको भाँडा बनाउने काममा व्यस्त छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका १३ का हजारी कुम्हालले अहिले यो पेशाबाट जीवन धान्न निकै समस्या भए पनि आफुले पुख्र्यौली पेशालाई निरन्तरता दिदैँ माटाका भाँडाकुँडाहरु बनाउनेगरेको बताउनुभयो । 

उहाँले पुर्खाहरुले गरेको कामलाई चटक्कै छोड्न नसकिने जनाउँदै अहिलेको युवापुस्तामध्ये अधिकांशले यो पेशा छाडिसके पनि आफुले आफ्नो पुर्खाको संस्कृतिको रुपमा रहेको यो पेशा जारी राखेको बताउनुभयो । 

हाल आएर सांस्कृतिक पर्व दसैं, तिहार तथा छठ सुरु भइसकेकाले पूजाका लागि चाहिने माटाका भाँडाको माग अत्यधिक भएकाले भाँडा बनाउन रातदिन नभनि अहिले आफु व्यस्त रहेको बताउनुभयो ।  

सोहीप्रकारको प्रतिक्रिया दिंदै नेपालगन्ज ३ का अर्का कुम्हाल दिनेश कुम्हालले आधुनिकता र नयाँ भाँडाबर्तनको चलनले माटाको भाँडाको चलन अब निकै घटिसकेको बताउनुभयो । 

उहाँले पहिलेजस्तो माग नभए पनि अहिले पनि चाडपर्वमा माटाको भाँडा खोज्नेहरु धेरै आउनेगरेको र कतिपयले त खोजेर पनि नपाउँदा निराश भएर अन्य भाँडाबाट काम चलाउनेगरेको बताउनुभयो । 

हाल बजारको मागअनुसार घैंटा, दियो, पाला, भुर्की आफुले बढी बनाउनेगरेको दिनेश कुम्हालको भनाइ छ । उहाँले सबैभन्दा बढी तिहारको बेला दियो विक्री हुनेगरेको र मागअनुसार पुगाउन नसकिने हुँदा अहिलेबाटै बनाउन सुरु गरेको बताउनुभयो । 

प्रतिदियो एक रुपियाँमा बेच्नेगरेको जनाउँदै उहाँले तिहारको बेला आफुले मात्र ३० हजारभन्दा बढी दियो विक्री गर्नेगरेको बताउनुभयो । तिहारको बेलामा नेपालगन्जको सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र आफ्नै घरमा समेत कुम्हार समुदायले दियोलगायत माटोका भाँडा विक्री गर्नेगरेका छन् । सदरलाइन, त्रिवेणी मोड, त्रिभुवन चोक र धम्बोझी चोकमा लाग्ने मेलामा माटाको भाँडाको विक्री बढी हुनेगरेको छ ।