• २० असोज २०८१, आइतबार

तीनसय बढी दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा

blog

तौलिहवामा प्रदर्शनमा राखिएको दुर्गा भगवतीको मुर्ति । तस्विरः नारद कोहार

नारद कोहार

तौलिहवा, कात्तिक ६ गते । कपिलबस्तुमा तीन सय २९ वटा दुर्गा भगवतीको मुर्ति प्रदर्शनमा राखिएको छ । दुर्गा भगवती माताले दानव शुम्भ र निशुम्भलाई मारेको प्रतीकको रुपमा जिल्लाका १० वटै पालिकामा मुर्ति प्रदर्शन गरिएको हो । 

गाँउ र शहरको चोकमा मुर्ति निकालिएका छ । सँस्कृतिबिद् पशुपतिमणि त्रिपाठीका अनुसार जिल्लामा बिजयादशीको अवसरमा दुर्गा भगवतीको मुर्ति बर्षौैदेखि प्रदर्शन गर्ने गरिएको बताउनुभयो । नौरथाको पहिलो अर्थात घटस्थापना र सप्तमीका दिन मुर्तिको बिशेष पूजापाठ गरी प्रदर्शनका लागि निकालिएको हो । 

मुर्ति प्रदर्शन गरिएपछि जिल्लाको गाउँदेखि शहरसम्म दसैँको चलहपहल समेत बढेको छ । 

बिशेषगरी दिउँसोभन्दा रातिको समय जिल्लामा मुर्तिको दर्शन र पूजा गर्ने चलन छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार सबैभन्दा बढी बुद्धभुमि नगरपालिकामा ५९, कृष्णनगर नगरपालिकामा ४५, शिवराज नगरपालिकामा ४३, बिजयनगर गाउँपालिकामा ४१, कपिलवस्तु नगरपालिका र मायादेबी गाउँपालिकामा २६–२६ वटा, शुद्धोधन गाउँपालिकामा २४, यशोधरा गाउँपालिकामा २५, र बाणगंगा नगरपालिकामा २२ वटा मूर्ति प्रदर्शनमा राखिएका छन् ।

दसैँको समय निकालिएको मुर्ति हेर्न भिडभाड हुने र घटना समेत हुन सक्ने भन्दै स्थानीय प्रशासनले कात्तिक ५ देखि ७ गतेसम्म मदिरा बिक्री बितरण र सेवनमा रोक लगाएको छ । 

उता कृष्णनगर नगरपालिकामा बिगतमा मुर्ति बिसर्जनको क्रममा साम्प्रदायिक घटना भएकाले त्यसलाई रोक्न कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहको नेतृत्वमा स्थानीयस्तरमा समेत समिति निर्माण गरिएको छ । 

प्रहरी उपरीक्षक नवरत्न पौडेलका अनुसार चाडबाडमा हुनसक्ने घटनालाई रोक्न एकीकृत सुरक्षा योजनाअनुसार जिल्लाभरी ब्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

चाडबाडभरी नागरिकको सुरक्षा र बिभिन्नखाले घटनालाई रोक्न जिल्लामा बिशेष सुरक्षा योजना सञ्चालन गरिएको प्रजिअ शंकरहरि आचार्यले बताउनुभयो । निकालिएको झाँकी दशमी र एकादशीका दिन बिसर्जन गरिनेछ ।