• १ जेठ २०८२, बिहिबार

क्षेत्रीय कारागारमा बालबन्दी

blog

नेपालगन्ज समाचारदाता  

नेपालगन्ज, कात्तिक ४ गते । बाँकेको नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारको चार वटा ब्लकमध्ये एउटा ब्लकमा बाल सुधारगृहका बालबन्दीलाई राख्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको केन्द्रीय बाल न्याय समितिले नौबस्तास्थित क्षेत्रीय कारागारमा सुधारगृह सञ्चालनमा ल्याएको हो । 

क्षेत्रीय कारागारमा पहिलो चरणमा रुपन्देहीको भैरहवाबाट १३, हेटौँडाबाट १८, पर्साबाट १५ जना गरी १८ वर्षमाथिका ४६ जना बालबन्दीलाई विभिन्न बाल सुधारगृहबाट ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यसै गरी बाँकेको डुडुवा गाउँपालिका–६, आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहभित्र रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्तालाई नौबस्तामा राख्न कारागार विभागबाट अनुमति मागिएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बाल सुधारगृहमा रहेका १८ वर्षमाथिका ७२ जनालाई क्षेत्रीय कारागारमा बनाइएको बाल सुधारगृहमा सार्ने तयारी गरिएको बताउनुभयो । उहाँले त्यसका लागि कारागार विभागबाट अनुमति मागिएको बताउनुभयो । 

बाँकेको डुडुवामा रहेको बाल सुधारगृहमा असोज ४ गते राति बालबन्दीका बिचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । चार जना भागेकोमा तीन जना अझै सम्पर्कमा आएका छैनन् । त्यहाँ १८ वर्षमाथिका १६५ जना बालबन्दी रहेका छन् । 

देशभरकै कारागारमा कैदीबन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको रहेको छ ।