• २० असोज २०८१, आइतबार

ढुक्कसाथ पर्व मनाउन सद्भाव समितिको अपिल

blog

सुरक्षा समिति तथा सद्भाव समितिका पदाधिकारीहरु । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक २ गते । सद्भाव समिति बाँकेले नजिकिदै गरेका आ–आफ्ना समुदायका चाडपर्वहरु ढुक्क भएर मनाउन अपिल गरेको छ । बिहीवार जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीसहित बसेको सद्भाव समितिको बैठकले बाँकेबासीलाई निश्चिन्त र ढुक्क भएर आ–आफ्नो समुदायको नजिकिदै गरेका सामाजिक–सांस्कृतिक पर्व, उत्सव, जात्रा तथा महोत्सवमा सहभागी भइ भव्यसाथ मनाउन सामुहिक अपिल गरिएको प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

प्रसिद्ध वागेश्वरी मन्दिरका मुल महन्त राजगुरु चन्द्रनाथ योगी, मौलाना अव्दुल जब्बार मन्जरी, मौलाना अब्दुल मंसुर, इशाइ धर्मगुरु डम्बरबहादुर थापा, शिख गुरु राजेन्द्र शिख, सामाजिक सदभाव समितिका संयोजक दिपक लोध (हिन्दुतर्फ) र फिरोज वारसी (मुस्लिमतर्फ), मुस्लिम समाज अभियन्ता हारुन हलुवाइ समेतको उपस्थितिमा बसेको बैठकले सामुहिक अपिल जारी गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । 

बैठक पश्चात् जारी गरिएको अपिलमा ‘बाँके जिल्ला बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त जिल्लामात्र नभइ परम्परादेखि नै बिबिधता बीचका एकता, सद्भाव, ऐक्यवद्धता, सहिष्णुता, सांस्कृतिक प्रवर्धनजस्ता विशिष्ट गुणहरुले ओतप्रोत भएको, आपसी विश्वास, भाइचारा र सद्भावले एकतावद्ध गरेको जिल्ला रहेको जगजाहेर नै छ’ भनिएको छ ।

‘विगतमा नेपालगञ्ज सद्भावको सहरको रुपमा समेत स्थापित भैसकेको छ । हामी सबैको साझा प्रयासले यस जिल्लाको शान्ति, सुव्यवस्था र सद्भाव प्रवर्धन भएको पृष्ठभूमिमा आगामी दिनमा पनि विभिन्न समुदायको सामाजिक–सांस्कृतिक पर्वप्रति हामी सबै समुदाय सम्मान र ऐक्यवद्धता प्रकट गर्दछौं’ अपिलमा उल्लेख गरिएको छ ।

सद्भाव समितिले आसन्न नवरात्री, वडादसैं, दिपावली, छठजस्ता महान राष्ट्रिय पर्वको अवसरमा सम्पूर्ण धर्मावलम्बी समुदायप्रति शुभकामना समेत प्रकट गरेको छ ।