• ९ मंसिर २०८१, आइतबार

नोबेल विजेताको सान

blog

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षय कोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो ।

सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन थालियो । यी पुरस्कारस्वरूप विजेतालाई स्वर्ण पदक, प्रमाणपत्र र १० लाख डलर प्रदान गरिन्छ । नोबेलले जीवनकालमा ३५५ वटा आविष्कार गर्नुभयो, जसमा सन् १८६७ मा गरेको डायनामाइटको आविष्कार पनि हो । नोबेललाई डायनामाइट तथा यस प्रकारका विज्ञानका विध्वंसक शक्तिहरूका बारेमा पूरै ज्ञान थियो । विज्ञानको दुरुपयोग हुन्छ कि भन्नेमा उहाँ चिन्तित हुनुहुन्थ्यो । मर्ने बेलामा उहाँले विज्ञानकोे दुरुपयोग नहोस् भनी यो पुरस्कार स्थापना गर्नुभयो ।

सन् १८९६ को डिसेम्बर १० मा उहाँको निधन भयो । सन् १८९५ मा उहाँले इच्छापत्र तयार पार्न लगाई आफ्नो सम्पत्तिबाट अक्षय कोष खडा गर्नुभयो । उहाँको इच्छा अनुसार यस अक्षय कोषको ब्याजले प्रत्येक वर्ष मानव जातिको कल्याणको निम्ति कार्य गर्ने व्यक्ति वा संस्थालाई पुरस्कृत गरिन्छ । पहिलो नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडव्रmसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेञ्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसीलाई संयुक्त रूपमा दिइएको थियो ।

नोबेल शान्ति पुरस्कार देशहरूबिच भाइचारा प्रवर्धन गर्न, सैन्य तनाव हटाउन वा घटाउन र द्वन्द्व निवारण गर्ने उद्देश्यले शान्ति भेला गर्ने वा त्यसलाई प्रवर्धन गर्ने व्यक्ति तथा संस्थालाई प्रदान गरिन्छ । विगत १२ महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्ति वा संस्था ती पुरस्कारबाट सम्मानित हुन्छन् । सन् १९०१ देखि हालसम्म ६१५ पटक कुल ९८९ व्यक्ति र संस्थालाई नोबेल पुरस्कार प्रदान गरिएको छ । केहीले एकभन्दा बढी पटक नोबेल पुरस्कार पाएका छन् । त्यस हिसाबमा कुल ९५४ व्यक्ति र २७ संस्थाले नोबेल पुरस्कार पाइसकेका छन् । 

यो पुरस्कार पाउने महिलाको सङ्ख्या ६३ पुगेको छ । फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एक मात्र महिला वैज्ञानिक हुनुहुन्छ । उहाँले सन् १९०३ मा भौतिकशास्त्र र सन् १९११ मा रसायनशास्त्रका लागि यो पुरस्कार पाउनुभयो । नोबेल पुरस्कार पाउने व्यक्ति वा संस्था कतिपयले पाएको पुरस्कार राशि मानवीय सहयोगको क्षेत्रमा खर्च गरेका छन् भने कतिपयले निजी प्रयोजनका लागि पनि खर्च गरेको पाइएको छ । नोबेल विजेता कतिपयले भने पुरस्कार लिन अस्वीकार पनि गरेका छन् । मरी क्युरीले सन् १९०३ मा भौतिकशास्त्रतर्फ पाएको नोबेल पुरस्कार रकम थप वैज्ञानिक अनुसन्धानमा प्रयोग गर्नुभयो । 

सन् २००६ मा भौतिकशास्त्रतर्फको पुरस्कार पाएका जोन माथरले उक्त रकम आफ्नो फाउन्डेसनलाई दान दिनुभयो । सन् १९९३ मा बेलायतका वैज्ञानिक रिचर्ड रोबर्ट्सले चिकित्साशास्त्रमा पाएको रकम ‘व्रmोके लन’ का लागि खर्च गर्नुभयो भने उहाँसँगै पुरस्कार पाएका फिलिप सार्पले सय वर्ष पुरानो घर किन्नु भयो । सन् २००१ मा चिकित्साशास्त्रतर्फ पुरस्कार हात पारेका सर पोल नर्सले आफ्ना लागि एउटा महँगो मोटरसाइकल किन्नु भयो ।

सन् २००६ मा साहित्यतर्फका विजेता ओर्हान पामुकले इस्तानबुलमा एउटा सङ्ग्रहालय स्थापना गर्नुभयो । स्वतन्त्र रुसी पत्रिका नोभया गजेटाका प्रधान सम्पादक दिमित्री मुरातोभले आफ्नो नोबेल शान्ति पुरस्कारको पदकलाई लिलाम गरी त्यसबाट प्राप्त रकम युद्धबाट विस्थापित युव्रmेनी बालबालिकालाई सहयोग गर्नुभयो । नोबेल पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्विडनको स्टकहोममा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ । त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँच सदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृति दिवस पर्छ ।

चर्चित विजेताहरू

सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेञ्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक पैसी (सन् १९०१), अमेरिकी पूर्वराष्ट्रपतिहरू बाराक ओबामा (सन् २००९) र जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र तत्कालीन महासचिव कोफी अन्नान (सन् २००१), मदर टेरेसा (सन् १९७९), मलाला युसुफजाई (सन् २०१४) लाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मलाला यो पुरस्कार पाउँदा १७ वर्षकी हुनुहुन्थ्यो । यस वर्षका नोबेल विजेताहरू यस प्रकार छन् :

चिकित्साशास्त्र

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिक काटालिन कारिको र ड्र‘ भाइस्मानले पाउनुभएको छ । कोभिड महामारी फैलिनुअघि यो प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई लगाउनाले धेरैको ज्यान बच्यो । यो खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ ।

अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ । परम्परागत खोप प्रविधिमा सङ्व्रmमण गराउने कीटाणुका मृत वा निष्व्रिmय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ । कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएका थिए । नोबेल पुरस्कार समितिले भनेको छ, “पुरस्कार विजेताहरूले आधुनिक समयमा मानव स्वास्थ्यले सामना गरेको सबैभन्दा ठुलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिनुभयो ।” वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको युनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने व्रmममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उहाँहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

गत वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्विडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिएको थियो । मानव जातिको विलुप्त तर मानव जातिनिकट पूर्वज प्रजाति नियनडर्थलहरूको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उहाँलाई यो पुरस्कार दिइएको हो ।

भौतिकशास्त्र

सूक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ । वैज्ञानिकहरू पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन लहुलिएले पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रयोगात्मक प्रक्रिया पत्ता लगाउनुभएको हो । ‘क्वान्टम मेकानिक्स’ सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो । गत वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरलाई प्रदान गरिएको थियो । उहाँहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गर्नुभएको थियो ।

रसायनशास्त्र

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम डट्समा खोज र अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ । नोबेल पुरस्कार समितिले वैज्ञानिकहरू मौन्गी जी बावेन्डी, लुइस ब्रुस र अलेक्सी एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार दिने घोषणा गरेको हो । बावेन्डी म्यासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) सँग आवद्ध हुनुहुन्छ भने ब्रुस कोलम्बिया विश्वविद्यालयसँग र एकिमोभ न्यानोव्रिmस्टल टेक्नोलोजी इन्क न्युयोर्कमा आबद्ध हुनुहुन्छ । उहाँहरूले धेरै चम्किलो रङ्गीन प्रकाश उत्सर्जन गर्ने साना कणमा अनुसन्धान गर्नुभएको छ । क्वान्टम 

डट्स टेलिभिजन, एलइडी बत्ती, मेडिकल इमेजिङलगायतमा प्रयोग हुने गरेको छ । गत वर्षको नोबेल पुरस्कार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी सार्पलेसलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गरिएको थियो । 

साहित्य

यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । पुरस्कार समितिका अनुसार ‘व्यक्त गर्न नसकिने कुरालाई उहाँले नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ फोसालाई पुरस्कार दिइने भएको हो । फोसाले आफ्नै शैलीमा उपन्यासहरू लेख्ने गर्नुहुन्छ । उहाँको शैलीलाई ‘फोसा मिनिमलिजम्’ को सङ्ज्ञा दिइएको छ । उहाँका ४० वटा नाटक, कैयौँ उपन्यास, निबन्ध, बालबालिकाका पुस्तक र अनुवादहरू प्रकाशित छन् । गत वर्षको नोबेल साहित्य पुरस्कार फ्रेन्च साहित्यकार एनी एर्नोलाई प्रदान गरिएको थियो । 

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानी मानव अधिकारकर्मी नर्गिस मोहम्मदीलाई दिइने भएको छ । इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध लडेको र मानव अधिकार प्रवर्धनमा लागेको भन्दै उहाँलाई यो पुरस्कार दिने घोषणा गरिएको हो । नर्गिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । पत्रकारितामार्फत महिलामाथि भएका थिचोमिचोविरुद्ध आवाज उठाउँदै आएकी उहाँलाई यसै वर्ष संयुक्त राष्ट्रसङ्घले प्रेस स्वतन्त्रता पुरस्कार पनि दिएको थियो । 

५१ वर्षीया नर्गिसले जेलबाटै महिलाविरुद्ध हुने यौन हिंसाका बारेमा आवाज उठाउँदै आउनुभएको छ । इरानमा मानव अधिकारविरुद्धको लडाइँमा नर्गिस पर्यायवाची बन्नुभएको छ । उहाँलाई १३ पटक पक्राउ गरी ३१ वर्ष जेल सजाय सुनाइएको छ । गत वर्ष बेलारुसका मानव अधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसका दुई संस्थाले नोबेल शान्ति पुरस्कार पाएका थिए । रुस र युक्रेनको मानव अधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई शान्ति तथा प्रजातन्त्रका लागि नागरिक समाजको महत्वलाई प्रदर्शित गरेको भन्दै पुरस्कार प्रदान गरिएको थियो ।

अर्थशास्त्र

यो वर्ष अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी आर्थिक इतिहासकार तथा श्रम अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई श्रमबजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेकामा प्रदान गरिने भएको छ । उहाँले हार्वर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । गोल्डिनले महिलाको कमाइ र सयौँ वर्षदेखि श्रमबजारमा महिलाको सहभागिताबारे अनुसन्धान गर्नुभएको छ । नोबेल पुरस्कार समितिका अनुसार उहाँको अनुसन्धानले परिवर्तनका कारणहरू तथा लैङ्गिक असमानताको मुख्य स्रोत पत्ता लगाएको छ ।

विश्व श्रम बजारमा महिलाको कम प्रतिनिधित्व र थोरै आम्दानीबारे पनि अर्थशास्त्री गोल्डिनले २०० वर्षदेखिको तथ्याङ्क सङ्कलन गर्दै लैङ्गिक अन्तर र रोजगारी दरमा आएको परिवर्तनलाई प्रस्तुत गर्नुभएको छ । गत वर्ष बैङ्क तथा वित्तीय सङ्कटबारे अध्ययन गरेका तीन जना अर्थशास्त्री बेन बेर्नान्के, डग्लस डब्लु डायमन्ड र फिलिप्स एच डिब्भिगलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।

 

Author

रामप्रसाद आचार्य