• १३ साउन २०८१, आइतबार

सहकारी मार्फत खसीबोका बेच्दै किसान

blog

सरुमारानी गाउँपालिका–३ स्थित हंसपुरमा खसीबोका विक्रीका लागि तौल लिँदै । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक १ गते । सरुमारानी गाउँपालिका–३ की निमा कुमारी रखालले बाख्रापालन व्यवसाय गर्नुहुन्छ । उहाँले पालेको खसीबोका गाउँकै शान्तिकुञ्ज सहकारी मार्फत विगत पाँच वर्षदेखि बेच्दै आउनुभएको छ । 

उहाँले भन्नुभयो, “३०/४० वटा बाख्रा पाल्दै आएको छु । “बर्सेनि १०/१५ वटा सहकारी मार्फत बिक्री हुन्छ ।” सहकारीबाट बेच्दा खसीबोकाको उचित मूल्य पाउने गरेको उहाँ बताउनुहुन्छ । “तौल नगरी बेच्दा घाटा पनि हुन सक्ने र आँखै अगाडी जोखेर बेच्न पाउँदा सजिलो हुने उहाँको भनाइ छ । 

नौ वर्षअघि स्थापना भएको सहकारीले ६ वर्षदेखि खसीबोका खरिदबिक्री गर्दै आएको छ । सहकारीका व्यवस्थापक टेम्पल सारुले यो वर्ष एक सय १८ वटा खसीबोका सहकारी मार्फत बिक्री भइसकेको जानकारी दिनुभयो । 

सरुमारानी गाउँपालिका १ नम्बर वडामा सक्रिय सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले पनि खसीबोका खरिदबिक्री गर्ने गरेको छ । १२ वर्षअघि स्थापना भएको सहकारीले ६ वर्षदेखि खसीबोकाको कारोबार थालेको हो । स्थानीय सरकार, सहकारी र व्यापारीको संयुक्त बैठकबाट खसीबोकाको मूल्य निर्धारण गर्ने गर्दछन् ।

यो वर्ष दुई वर्षपछि खसीबोकाको मूल्य वृद्धि गरी नयाँ मूल्य निर्धारण गरिएको छ । नयाँ निर्धारण गरेको मूल्य अनुसार जिउँदो खसी ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथि प्रति केजी ५३५ रुपियाँ तोकिएको छ । त्यसैगरी जिउँदो बोका ३० केजीसम्म प्रति केजी ४८५ रुपियाँ र ३० केजी भन्दा माथि पाचँसय रुपियाँ तोकिएको सरुमारानी गाउँपालिकाले जनाएको छ ।