• १३ साउन २०८१, आइतबार

प्रभावकारी बन्दै मेयर बाख्रा पकेट कार्यक्रम

blog

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य । तस्बिर : सन्तोष सुवेदी

सन्तोष सुवेदी

कास्की, कात्तिक १ गते । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

मेयर बाख्रा पकेट कार्यक्रमको प्रभावकारिता कृषकको उत्पादनमा देखिएकाले कृषक प्रोत्साहनका कार्यक्रमलाई थप प्राथमिकता दिइने बताउनुभयो । ‘‘कृषक दाजुभाइ तथा दिदीबहिनीले पाल्नुभएका खसीबोकाहरु ७५/८० केजीसम्म भएको पाएकोमा मलाई विगतमा वितरण गरिएको अनुदानको सम्झना आइरहेको छ, यो बाख्रापालनमा देखिएको सकारात्मक नतिजा हो ।’ 

प्रमुख आचार्यले भन्नुभयो, ‘‘गत वर्षदेखि नै हामीले विभिन्न वडाहरूमा बाख्रा पकेट कार्यक्रम सञ्चालन गरी ४४ लाख बढी अनुदान कृषकहरूलाई वितरण गरिसकेका छौँ ।’ पैसा बाँडेर हुन्छ ? भन्नेहरूका लागि यो एक आश्चर्यको विषय बनेको प्रमुख आचार्यले बताउनुभयो । पोखरा महानगरपालिकाका विभिन्न वडामा बाख्रा पकेट कार्यक्रम सञ्चालित छ । महानगरका वडाहरू वडा १९, २०, २१, २४, २५ र २८ मा यो कार्यक्रम सञ्चालन लागु गरिएको छ । 

यस अन्तर्गत विभिन्न प्रजातिका ७२ हजार बाख्राहरू कृषकको खोरमा रहेका छन् । प्रमुख आचार्यका अनुसार मागको आधारमा उत्पादन निकै कम रहेकाले यसलाई थप व्यावसायिक रूपमा विस्तार गरिनेछ । कृषकलाई दिनुपर्ने सहुलियत तथा पशु सेवासम्बन्धी चिकित्सकीय सेवाका लागि भेटेरिनरी डाक्टरको व्यवस्था गरिएको उहाँले बताउनुभयो । आगामी दुई वर्षमा बाहिरबाट पोखरा आउने खसिबोका र बाख्राको आयातलाई रोक्नेगरी स्थानीय उत्पादन वृद्धिमा उहाँले जोड दिनुभयो ।

महानगरका ८ सय बढी व्यावसायिक कृषकलाई कृषक परिचयपत्र प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार महानगरपालिकामा २५ बढी कृषकहरू सूचीकृत छन् । पोखरा २८ का कृषक दिलु खनाल तेस्रो खसी बोका मेला प्रदर्शनीमा प्रथम हुनुभएको छ । उहाँले पालेको बोका ७७ केजी तौल पुगेको छ । उहाँलाई प्रोत्साहनस्वरूप महानगरपालिकाको तर्फबाट १० हजार रुपियाँ प्रदान गरिएको छ । 

यस्तै, प्रकाश रमण अधिकारी दोस्रो हुँदै ८ हजार, बुद्धि बहादुर तिमिल्सीनाले तेस्रो हुँदै ६ हजार र सान्त्वना हुँदै नारायणप्रसाद तिमिल्सीनाले नगद ४ हजार प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ । प्रदर्शनीमा ५ भन्दा बढी खसी बोका ल्याउने १२ जना कृषकलाई प्रोत्साहनस्वरुप नगद २–२ हजार प्रदान गरिएको छ ।