• १३ साउन २०८१, आइतबार

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

blog

शशिधर पराजुली

विराटनगर,  कात्तिक १ गते । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १६८(५) अनुसार ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँच दिनभित्रै विश्वासको मत लिन लाग्नुभएको हो । 

मुख्यमन्त्री कार्कीलाई अहिलेसम्म नेकपा एमालेका ३९ र नेपाली काँग्रेसका ८ सांसदको समर्थन छ । मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सोमबार नेकपा माओवादी केन्द्रसँग छलफल गर्नुभएको थियो भने हिजो नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसका नेताहरुसँग छलफल गर्नुभएको थियो । 

नेपाली काँग्रेस पार्टी र केन्द्रीय सत्ता गठबन्धनको निर्णयविपरीत नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीलाई गठबन्धनका दलले पनि विश्वासको मत दिने सम्भावना छ । तर त्यस विषयमा दलहरूले निर्णय गरिसकेका छैनन् । आज बस्ने संसदीय दलहरूको बैठकले विश्वासको मत दिने विषयमा निर्णय गर्नेछन् । नेपाली काँग्रेसको भने संसदीय दलका नेता र उपनेता दुवैले पदबाट राजीनामा दिनुभएका कारण कुन प्रक्रियाबाट निर्णय लिन्छ स्पष्ट भइसकेको छैन । 

प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुनेछ । ठुलो दलको नेतृत्वमा बनेको सरकारलाई अहिलेसम्म प्रदेश सभामा भएका अन्य दलहरूले समर्थन गर्ने वा विश्वासको मत दिने सम्भावना देखिएको छैन । गएको मङ्सिर ४ को निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरी भदौ २२ गतेसम्म साथमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि यस पटक एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिन अनिच्छुक देखिएको छ ।

यस्तो अवस्थामा आज सरकारले विश्वासको मत पाउने सम्भावना न्यून छ  ।