दसैँ मिठो खाने, राम्रो लगाउने चाडका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैँ मासुसँग जोडिएको चाड पनि हो । वर्षभरिको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैँँ तिहार र छठले ओगट्छ भन्ने अनुमान गरिएको छ । पाँच वर्षपहिलेको तथ्याङ्कमा कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत भन्नाले १२ खर्ब रुपियाँ जस्मा नगदविहीन २५ प्रतिशत अर्थात् तीन खर्ब हाराहारी यिनै चाडपर्वमा खर्च हुने अनुमान गरिन्छ ।
असोज–कात्तिक महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले उत्तिकै महत्वको रहेको छ । अर्काेतिर स्वास्थ्यको दृष्टिले झन् महत्वपूर्ण मानिन्छ । नेपालीहरूको सबैभन्दा ठुलो चाड वडादसैँंको आफ्नो सांस्कृतिक महìव भए पनि सबै घर परिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रूपमा स्थापित भएकोले सबैलाई एक सूत्रमा बाध्ने पर्वका रूपमा पनि यसलाई लिइन्छ । चाडपर्व भन्ने बित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्दछ । त्यसमा दसैँ र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । दसैँ मासुको विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, के महिला, के गरिब, के बिरामी सबैले आ–आफ्नै किसिमले रमाउँछन् ।
मासुमा सचेतना
नेपाली मासु बजारमा प्रोटिनको मात्रा ज्यादै कम भएका र सङ्क्रमित बुढा, थारा, रोगी चौपायाको मासु पाइने गरेको छ । नेपाली उपभोक्ताका लागि यो निकै संवेदनशील कुरा हो । हुन सबै मासु त्यस्तो पाइन्छ भन्ने होइन, निरोगी पशुको मासु पनि पाइन्छ होला तर मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा वध गर्ने, सडक– पेटी, नालीमा मासु खुला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको कुरा प्रति हामी अझै सचेत हुन सकिरहेका छैनौँ । त्यसैमा झन् मासु बिक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुला रूपमा एक ठाउँबाट अर्को ठाउँसम्म पु¥याउनाले झन् सङ्क्रमित हुने गरेको देखिन्छ । त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्चरक्तचाप, मिर्गौला, मुटुका रोग, आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस भनेर पशुहरूलाई सङ्गिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइदा, पशुहरूमा जथाभावी जबरजस्ती औषधीको प्रयोगले मानिसमा सुपरबग उत्पन्न हुन सक्छ ।
खाद्यपदार्थलाई भरिसक्य तातो पानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दा भिन्दै भाँडाकुँडा, प्रेसर कुकरमा नभए अन्य भाँडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा दुई घण्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सबैले साबुनपानीले हात धुनु पर्दछ । मासु सँगै सागपात, फलफूल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेसा वा फाइब्ररले कोलेस्टेरोल घटाउँछ र पाचन प्रणाली राम्रो बनाउँछ ।
बढी चिल्लो, मसालेदार र सही ढङ्गले नपकाइएका खानाले कोलेस्टेरोल, ब्लड प्रेसर, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ भने लागिसकेकालाई त झनै खतरा हुन्छ । मासुसँगै बोसो र छालासहित भए ट्राइग्लेसेराइड, खराब कोलेस्टेरोल बढ्नेलगायत विभिन्न आपत्कालीन तथा दीर्घकालीन समस्या ल्याउँछ । सेकुवा र पोलिएको मासुले श्वासप्रश्वास र फोक्सोमा एलर्जी, पाचन प्रणालीमा क्यान्सर निम्त्याउन सक्छ । चिल्लो बढी र पानी कम हुँदा माइग्रेन बल्झन सक्छ ।
नपाकेको मासु खाँदा नाम्ले जुका वा किरा, फित्ते जुका, ब्रुसेलोसिस, टिबी जस्ता रोग लाग्न सक्छ । फ्रिजले साल्मोनेलालगायत जीवाणुलाई कल्चर गर्ने माध्यम बनी फ्रिजका खाद्यपदार्थहरू नतताई त्यत्तिकै खाँदा टाइफाइडलगायत रोग, रुघाखोकी, ब्रोन्काइटिस हुन सक्छ । बोसोयुक्त मासु यसै हानिकारक हुन्छ, त्यसमा हालिने प्राणी तथा सूर्यमुखी तेलले मुटु, मसलाले कलेजो र नुनले मिर्गाैलालाई प्रत्यक्ष असर गर्छ ।
रातोभन्दा सेतो मासु
स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बङ्गुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किनभने कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ । त्यस्तै रातो मासु खानेलाई मुटुरोग हुने जोखिम ३० प्रतिशत बढी हुने हावर्ड स्कुल अफ हेल्थको अध्ययनले देखाएको छ । खोजले रातो मासुको सट्टा माछा खाँदा मुटुरोगको खतरा २४ प्रतिशत तथा कुखुराको मासु खाँदा १९ प्रतिशत कम खतरा हुने उजागर गरेको छ ।
त्यस्तै पाँच लाख अमेरिकी वयस्कमा १० वर्षको अवधिसम्म गरिएको अध्ययनमा रातो मासु खानेलाई घाँटी र पेटका अनेकौँ किसिमका क्यान्सरले च्याप्ने गरेको पाइएको छ । रातो मासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटुरोग निम्त्याउँछ ।
कलेजो, मस्तिष्क, फोक्सो, मिर्गौला आदिमा रातो मासुको तुलनामा पाँच गुणा बढी कोलेस्टेरोल हुन्छ । रगत जमाएर भुटेर खाँदा नुनको मात्रा बढी हुन्छ र रक्तचाप बढाउँछ । काचो वा उचित तापक्रममा नपकाएर खाँदा विभिन्न रोग जस्तै सुँगुर, बङ्गुरबाट फित्ते किरा तथा अन्यबाट आधा जनसङ्ख्यामा मौका छोपी आक्रमण गर्ने टोक्सोप्लाज्मागोन्डिलले आक्रमण गर्न सक्छ ।
काँचो मासुले विभिन्न किसिमका जुका, नाम्ले किरा तथा रोगका जिवाणुहरू सार्ने सम्भावना हुन्छ । बङ्गुरको मासु खाँदा नाम्ले किरा र मस्तिष्कमा पुगे छारे रोग हुन्छ । भुटुवा, पकुवा, कवाव र झोल हालेको मासु पकाइ खाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रक्ति, कान, हेकुलाको भरुवा खानु स्वास्थ्यका लागि त्यति राम्रो होइन ।
रोगी नबनौँ
खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ । जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिङ्गटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप हुने गर्छ । त्यसै गरी मुटु, मिर्गौला, कलेजोसम्बन्धी रोग तथा मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । मासु अस्वस्थ भइदिनाले १६० प्रकारका रोगले आक्रमण गर्न सक्छन् ।
अन्तमा, डेगी महामारीबिच दसैँ मनाउँदैछौँ । रोकथामका लागि सचेतना जरुरी छ । दसैँ तिहार जस्ता चाडबाड मनाउनु पर्छ तर स्वास्थ्यको ख्याल गर्न जरुरी छ । चाडबाड आइरहने घटना हुन तर स्वास्थ्य बिग्रियो भने सधैँका लागि समस्या हुन सक्छ । त्यसतर्फ सचेत बन्दै आहारबिहार गर्न उपर्युक्त हुन्छ ।