• २० असोज २०८१, आइतबार

कोशी प्रदेशका शक्तिपीठ धाउँदै भक्तजन

blog

सचिन पोख्रेल

इटहरी, कात्तिक १ गते । घटस्थापना सुरुसँगै पूर्वी नेपालका शक्तिपीठ तथा देवी मन्दिरमा भएको रौनकता छाएको छ । नवरात्रको अवधिमा कोशी प्रदेशका विभिन्न स्थानमा रहेका प्रसिद्ध तथा ऐतिहासिक शक्तिपीठमा भक्तजनको विशेष घुइँचो लाग्छ । शक्तिपीठको घटस्थापनाको दिन जमरा राखेर पूजापाठ गर्नुका साथै नवरात्रको अवधिभर बलिसहित पूजाआजा गरिन्छ । 

दन्तकाली मन्दिर

सुनसरीको धरान उपमहानगरपलिका–१४ मा अवस्थित विजयपुर डाँडामा दन्तकाली मन्दिर रहेको छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको दन्त पतन भई प्रसिद्ध शक्तिपीठका रूपमा स्थापित भएको मानिन्छ । मन्दिरमा सतीदेवीका दाँतको प्रतीकस्वरूप एउटा कालो प्रस्तर राखी पूजा गरिँदै आएको छ । प्यागोडा शैलीको मन्दिरमा नवरात्रभर सुनसरी, मोरङ, धनकुटा, झापालगायत नेपालका विभिन्न स्थानका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत हिन्दु भक्तजन आउने गर्छन् । दन्तकाली धार्मिक रूपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महìवपूर्ण छ । दन्तकाली मन्दिरमा पूजाअर्चनाका लागि आउने अधिकांश भक्तजन यसका आसपासमा पर्ने बुढासुब्बा, पिण्डेश्वर र पञ्चकन्या मन्दिर साथै भताभङ्गे राजाको दरबार क्षेत्रको समेत भ्रमण गर्दछन् । 

पाथीभरा मन्दिर

ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थलमध्ये पाथीभरा प्रमुख हो । नवरात्र सुरु भएसँगै पाथीभरामा दर्शनार्थीको भिड लाग्न थालेको छ । यति बेला पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्न थालेको हो । पाथीभरा दर्शन गर्ने बौद्ध, किराँत, युमालगायतका धर्मावलम्बी पनि पुग्ने गर्छन् । किराँती अर्थात् लिम्बू समुदायले ‘मुक्कुमलुङ माङ’ को नाममा दर्शन गर्छन् । मनोभावना र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ बाह्रै महिना तीर्थयात्री त्यहाँ पुग्ने गरे पनि दसैँतिहार तथा रामनवमीमा यहाँ विशेष मेला नै लाग्छ ।  

नवरात्रको पहिलो दिन नै करिब दुई हजार तीर्थयात्रीले पाथीभराको दर्शन गरेको पाथीभरा विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । पाथीभराधाम फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाको सङ्गमस्थलमा पर्दछ । यो समुद्र सतहदेखि तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित  छ ।

सङ्खुवासभाको मनकामना र सिद्धकाली 

मनकामना र सिद्धकाली देवी सङ्खुवासभाका मुख्य तीर्थ स्थल हुन् । सतीदेवीको दाहिने आँखा पतन भएको ठाउँका रूपमा परिचित सिद्धकाली मन्दिर सङ्खुवासभाको चैनपुर नगरपालिकामा पर्छ । हरेक एकादशी, महाशिवरात्रिमा यहाँ मेला लाग्ने गरे पनि  दसैँमा यस क्षेत्रमा भक्तजनको विशेष घुइँचो लाग्ने गर्छ । 

सत्य युगमा महादेवले सतीदेवीको मृत्युपछि भावविह्वल भई शव बोकेर डुल्ने क्रममा यस क्षेत्रमा दाहिने आँखा पतन भएको मानिन्छ । तराई क्षेत्र र तुम्लिङटार विमानस्थलबाट यस मन्दिरसम्म पुग्ने सडक कालोपत्रे गरिएसँगै पछिल्लो समय प्रत्येक दिनजसो दर्शनार्थीको भिड लाग्न थालेको छ । खाँदबारी नगरपालिका–९ स्थित अरुण नदी किनारमा रहेको मनकामनाधाम  पनि यस क्षेत्रको प्रमुख शक्तिपीठ मानिन्छ । भोजपुर र सङ्खुवासभाको सीमामा रहेको यस धाममा दर्शन गर्न छिमेकी जिल्लाबाट मात्र नभई तराई र भारतको सिक्किम, दार्जिलिङलगायतबाट समेत आउने गरेका छन् ।

गजुरमुखी देवी

इलामका चार प्रमुख नदीमध्ये देउमाई नदीको पश्चिम किनारमा ओढार जस्तो ठाउँमा रहेका विभिन्न आकारका प्रस्तरको देवी मूर्तिलाई गजुरमुखी देवी भनिन्छ । यहाँ लिम्बू जातिको पुजारी हुन्छन् । गजुरमुखी देवीको पूजाअर्चना गर्नाले बोल्न नसक्नेमा  बोली आउने, श्रवणशक्ति नभएकाले पनि  सुन्न सक्ने हुन्छन् भन्ने जनविश्वास छ । कार्तिक पूर्णिमाका दिन यहाँ मेला लाग्दछ । ओढार आकारको थलोलाई जनसहयोगबाट मन्दिरको रूप दिएको पाइन्छ । यहाँ शिव मन्दिर र धर्मशाला आदि पनि बनाइएको छ । गजुरमुखी मन्दिर मात्र नभई इलामको कुटीडाँडामा अवस्थित पाथीभरादेवी तथा इलाम बजारमा रहेको माईस्थान र सेतीदेवी मन्दिरमा पनि नवरात्रभर घुइँचो लाग्छ । 

निसान भगवती

धनकुटामा रहेको निसान भगवती मन्दिरमा पनि  घुइँचो बढेको हो । नेपाली सेनाले निसान भगवती मन्दिरमा जमरा राखेर विधि अनुसार दैनिक पूजाआजा गर्ने गर्छन् । निसानमा स्थानीयले समेत जमरा राख्ने गरेका छन् ।  सप्तमीमा यहीँबाट फूलपाती निकाल्ने गरिएको छ । त्यस्तै छिन्ताङदेबी मन्दिर र विश्रान्ति मन्दिरमा पनि जमरा राख्नेसँगै दैनिक रूपमा भक्तजनको भिड लाग्न थालेको छ । 


सुम्हात्लुङ मन्दिर

पाँचथरको फिदिम नगरपालिक–४, गडीमा अवस्थित सुम्हात्लुङ मन्दिर पाँचथरका शक्तिपीठमध्ये मुख्य हो । विशेष गरी किराँत धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा स्थापित यो मन्दिरमा दैनिक पूजापाठ हुन्छ । किराँत धर्मावलम्बीले आम्बेपजमा नामले पुकार्ने यो मन्दिरमा दसैँका बेला विशेष भिड लाग्छ । तीन वटा आँपका बोट ओदान जस्तै आकारमा रहेका कारण लिम्बू भाषामा यसलाई आम्पेजमा भनेका हुन् ।

फूलपातीका दिन यो मन्दिरबाट बढाइँसहित दसैँघरमा फूलपाती लगिन्छ । किराँतकालमा यस क्षेत्रमा राज्य गरेका किराँती राजाहरूले सुम्हात्लुङ मन्दिर रहेकै स्थानबाट वर्षौंसम्म दुस्मनसँग लडेका थिए भन्ने इतिहास छ । अहिले पनि लिम्बू समुदायका बासिन्दा नयाँ काम थाल्नुपूर्व सुम्हात्लुङ मन्दिरमा पुगे प्रतीज्ञा गर्छन् । सदरमुकाम फिदिमनजिकै रहेको यो मन्दिरसम्म यातायात सुविधा रहेको छ ।  

(सहकर्मीहरू चन्द्र पन्दाक, राधा लुइटेल, ध्यान कुलुङ र कविराज घिमिरेको सहयोगमा)